सात हारपछि लगातार पाँच जित निकाल्दै बैंग्लुरु, प्लेअफको सम्भावना कायमै
काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लुरु लगातार पाँच खेल विजयी भएको छ।
आइतबार राति भएको खेलमा बैंग्लुरुले दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गर्दै प्लेअफ होडमा आफूलाई कायमै राखेको हो।
सिजनमा सुरुवातमा लगातार छ खेल हारेको बैंग्लुरुले पछिल्लो समय लगातार पाँच खेलमा जित निकाल्दै बेंग्लुरु प्लेअफ होडको सम्भावनालाई जीवितै राखेको हो।
१३ खेलमा दिल्लीको यो सातौं हार हो। यो हारसँगै दिल्लीको लागि प्लेअफको आशालाई ठूलो धक्का लागेको छ। तर, टोली अझै शीर्ष ४ को दौडबाट भने बाहिरिएको छैन।
टस हारेर पहिला ब्याटिङमा तानिएको बैंग्लुरुले २० ओभरमा ९ विकेट गुमाएर १८७ रन बनाएको थियो। जवाफमा दिल्ली १९.१ ओभरमा १४० रनमा समेटियो।
बैंग्लुरुका लागि रजत पाटिदार ५२, विल ज्याक ४१, विराट कोहली २७, महिपाल लोमरोर १३ रन बनाएर आउट हुँदा क्यामरन ग्रिनले ३२ रनमा अविजित रहे।
दिनेश कार्तिक र स्वप्निल सिंहले खाता नै खोल्न सकेनन्। कर्ण शर्माले ६ रनको योगदान दिए भने मोहम्मद सिराजले खाता पनि खोल्न सकेनन्।
दिल्ली क्यापिटल्सका खलिल अहमद र रसिक सलाम दारले समान २–२ विकेट लिए।
लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सलाई पहिलो ओभरमा नै झट्का लाग्यो। डेभिड वार्नर १ रन बनाएर आउट भए। तेस्रो ओभरमा अभिषेक पोरेल पनि २ रन बनाएर पभेलियन फर्किए।
जेक फ्रेजर-म्याकगर्क सोही ओभरमा रनआउट भए र उनको ८ बलमा २१ रनको इनिङ्सको दुर्भाग्यपूर्ण अन्त्य भयो। विकेटको क्रम यसरी जारी रह्यो र दिल्लीको स्कोर ११ ओभरमा ९०/६ बन्यो। यस क्रममा साई होपले २९ रन बनाएर केही होप जगाए।
कप्तान अक्षर पटेल र रसिक सलामले स्कोर १०० भन्दा माथि पुर्याए। दुवैले ३७ रन जोडे तर १५ औं ओभरमा १० रन बनाएर रसिख आउट भए। योसँगै अक्षरले उत्कृष्ट अर्धशतक बनाए। तर, उनले आफ्नो इनिङलाई खासै ठूलो बनाउन सकेनन् र ३९ बलमा ५७ रन बनाएर बाहिरिए।
अन्तिम ब्याट्सम्यानले खासै योगदान गर्न सकेनन् र दिल्लीको इनिङ्स पाँच बल बाँकी रहँदै समाप्त भयो। रोयल च्यालेन्जर्स बैंगलोरका लागि यश दयालले सर्वाधिक ३ विकेट लिए।
वैशाख ३१, २०८१ सोमबार ०७:५१:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।