आईपीएल : राजस्थानलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेन्नई
काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ।
आइतबार भएको पहिलो खेलमा राजस्थानलाई पाँच विकेटले पराजित गर्दै अंकतालिको तेस्रो स्थानमा उक्लिएको हो।
चेन्नई १३ खेलमा १४ अंकसहित तेस्रो स्थानमा उक्लिँदा राजस्थान १२ खेलमा १६ अंकसहित दोस्रो स्थानमा छ।
चेन्नईमा टस जितेर पहिला ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर मात्र १४१ रन बनाउन सक्यो।
उसका लागि रियान परागले अविजित रहँदै सर्वाधिक ४७ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्। ध्रुव जुरेल २८, यशस्वी जयसवाल २४, जोस बटलर २१, सन्जु सामसन १५ रन जोडे।
चेन्नईका सिमरनजित सिंहले तीन तथा तुसार देशपाण्डे दुई विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टायो।
उसका लागि कप्तान ऋतुराज गायकवाडले अविजित ४२ रन बनाउँदा रचिन रविन्द्र २७, ड्यारी मिचेल २२ रन बनाए।
शिवम् दुवे १८, मोइन अली १० रन जोडे। समीर रीज्वीले १५ रनको अविजित पारी खेले।
राजस्थानका रविचन्द्रन अश्विनले दुई, नान्द्रे बर्गर र युजविन्द्र चहलले समान एक–एक विकेट लिए।
आईपीएलमा अहिले रोयल च्यालेन्जर्स बैंग्लुरु र दिल्ली क्यापिटल्सबीच बैंग्लुरुमा खेल भइरहेको छ।
वैशाख ३०, २०८१ आइतबार २०:०८:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।