बुटवलको मुख्य बजार क्षेत्र अमरपथ डुबानमा (फोटो फिचर)

बुटवलको मुख्य बजार क्षेत्र अमरपथ डुबानमा (फोटो फिचर)
तस्बिर : विकाश पराजुली/उकेरा

बुटवल : बुटवलको मुख्य बजार अमरपथ क्षेत्र डुबानमा परेको छ। शनिबार रातीदेखि परेको पानीका कारण अमरपथमा रहेका ८० भन्दा बढि पसल डुबानमा परेका छन्। वर्षाका कारण बुटवल उपमहानगरपालिका पछाडिका ४ वटा घर पनि डुबानमा परेका छन्। अहिले बुटवलको अमरपथमा डोजर सडकको हिलो फाल्ने काम गरिरहेको छ।

 

एक्कासि आएको पानीले नाली थुनिएपछि बजार क्षेत्रभित्र ढल पसेको थियो। ढल राती नै बजार क्षेत्रभित्र पसेका कारण पसलका सामानहरू सबै डुबानमा परेका हुन्। साँघुरो नाली त्यसमा पनि बजारको फोहोर सिधा मिसिँदा नाली जाम हुने गर्दछ। हरेक बर्ष अमरपथमा पानीले डुबान हुने गरेको भएपनि त्यसको प्रभावकारी निकास  हुन सकेको छैन।

त्यस्तै, बुटवलकै पश्चिम नेपाल बस व्यवसायी प्रालि, रुपन्देही उद्योग संघ, राष्ट्रिय समाचार समिति (रासस)को कार्यालय पनि डुबानमा परेको छ। रासस लुम्बिनी प्रदेशका प्रमुख भरत केसीले रातीदेखि नै ढल कार्यालय परिसरमा पसेकाले विस्थापित भएको बताए। बुटवल ११ मा रहेको न्यू होराईजन स्कुलमा पनि ढल पसेको छ। विद्यालयले आज सार्वजनिक विदा नै दिएको छ। स्कुलमा रहेका तल्लो तलाका सबै कक्षाकोठाहरू डुबानमा परेको र मैदान समेत लेदोले भरिएपछि विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ।

बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले डुबान क्षेत्रमा अहिले सफाइ चलिरहेको बताए। रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले कार्यालयको तल्लो तलामा पूरै लेदोले भरिएर पस्न नमिल्ने रहेको बताए। 

३० बैशाख, २०८१, १३:२४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।