संसदको गतिरोध हटाउन प्रधानमन्त्री आफैं सक्रिय, कांग्रेसलाई बोलाए छलफलमा

संसदको गतिरोध हटाउन प्रधानमन्त्री आफैं सक्रिय, कांग्रेसलाई बोलाए छलफलमा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदको गतिरोध अन्त्य गर्न सक्रिय देखिएका छन्। यही क्रममा आइतबार उनले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन्।

कांग्रेसले निरन्तर गर्दै आइरहेको संसद अवरुद्धका जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नसकिने जस्तो देखिएपछि छलफलका लागि प्रधानमन्त्रीले आज ९ बजे छलफलमा बोलाएका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सदनमा देखिएको अवरोध, कांग्रेसका माग, सरकारको नीति तथा कार्यक्रम पेस गर्ने लगायतका विषयमा कुराकानी गर्न कांग्रेस नेताहरूलाई बोलाइएको हो।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि आरोप लगाउँदै संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ। उसले हिउँदे अधिवेशनदेखि पटकपटक यही माग राख्दै संसद अवरुद्ध गरिरहेको भएपनि सत्तापक्षले त्यसमा तदारुकता देखाएका छैनन्। 

शुक्रबारदेखि सुरु भएको बजेट अधिवेशनमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नो माग दोहोर्याउँदै संसदमा नाराबाजी गर्दै वेलासमेत घेरेको थियो।

त्यसपछि पनि शीर्ष नेताहरूबीच  पटकपटक अनौपचारिक छलफल भएपनि संसदको गतिरोध अन्त्य गर्न सहमति हुन सकेको छैन। 

वैशाख ३०, २०८१ आइतबार ०९:०६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।