बत्तीसपुतलीमा समसाँझै छुरा प्रहार गरी २४ वर्षीय युवकको हत्या, चार जना पक्राउ

बत्तीसपुतलीमा समसाँझै छुरा प्रहार गरी २४ वर्षीय युवकको हत्या, चार जना पक्राउ

काठमाडौं : काठमाडौंको बत्तीसपुतलीस्थित सडकमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ। घटनामा मोरङ घर भइ हाल गौशाला बस्दै आएका २४ वर्षीय शम्भु धिमालको ज्यान गएको प्रहरीले जनाएको छ। 

शनिबार साँझ करिब ७:५० बजे बत्तीसपुतलीको बीच सडकमै धिमालमाथि तीन/चार जनाको समूहले धारिलो हतियार प्रहार गरेको थियो। घटनामा घाइते भएका धिमाललाई प्रहरीले तत्कालै उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल पुर्याएको थियो। 

छाती र ढाडमा गहिरो चोट लागेका धिमालको उपचारको क्रममा बेलुकी ८:४० बजे अस्पतालमै निधन भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए। 

‘घटनामा संलग्न भएको आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ एसएसपी मैनालीले भने, ‘अहिले हत्यामा उनीहरुको संलग्नताको विषय पुष्टि भइसकेको छैन। नाम खुलाउन मिल्दैन।’ 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वैशाख ३०, २०८१ आइतबार ०७:४८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।