'जता प्रचण्ड त्यतै रवि लामिछाने, दुई जनाको के माया पिरती छ कुन्नि?'

'जता प्रचण्ड त्यतै रवि लामिछाने, दुई जनाको के माया पिरती छ कुन्नि?'

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जेल हाल्न सुझाव दिएका छन्। शनिबार गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा मुख्य फरार आरोपी जीवी राईलाई अघिल्लो सरकारले भगायो भन्ने अभिव्यक्ति दिएका थिए। त्यसबेला प्रधानमन्त्री प्रचण्ड रहेको स्मरण गराउँदै प्रवक्ता शाहीले प्रचण्डलाई जेल हाल्नुपर्ने बताए।

शनिबार आयोजित साक्षात्कार कार्यक्रममा शाहीले त्यतिखेरको सरकारले अपराधी भगाएको हो भने प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने जिकिर गरे। 

उनले गृहमन्त्री लामिछाने काम नगरेर हल्ला मात्रै गरेर हिँडेको भन्दै निर्मला हत्या प्रकरण ७२ घण्टाभित्र पत्ता लगाउँछु भनेर ७२ दिन बित्नै लाग्दा पनि कुनै चासो नदेखाएको बताए। 

'गृहमन्त्रीज्यूलाई म आग्रह गर्न चाहन्छु–कलम तपाईँको हातमा छ, प्रहरी प्रशासन तपाईँको हातमा छ। ठुला–ठुला फाइल ड्यामड्याम खोलौँ । झ्यापझ्याप पक्राउ गरेर जेल हालिहालौँ। गृहमन्त्रीको साथमा हामी हुन्छौँ। हल्ला मात्रै गर्ने र काम नगर्ने हो भने हामी साथ दिन सक्दैनौँ,' उनले भने। 

रास्वपालाई सत्ता छाडेर र संसद्मा एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ।  

रविले प्रचण्ड छाड्ने नसकेको भन्दै उनले व्यंगसमेत गरे।  

'उहाँको के हो कुन्नि? प्रचण्डजीलाई छोड्नै सक्नुहुन्न। के माया पिरती छ कुन्नि? जता प्रचण्ड त्यतै रवि लामिछाने, उनले भने। 

शाहीले कांग्रेस महामन्त्री गगन थापा र रास्वपा सभापति समेत रहेका रवि दुवैले राजनीति छाड्दा राम्रो हुने सुझाव दिए।  

वैशाख २९, २०८१ शनिबार २०:०९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।