राष्ट्रपतिका सल्लाहकार नेपालसँग किन झोक्किए ओली?

राष्ट्रपतिका सल्लाहकार नेपालसँग किन झोक्किए ओली?

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका सल्लाहकारले राष्ट्रहित विपरीत बोलेको भन्दै उनीसँग झोक्किएका छन्।

पार्टी निकट बुद्धिजीवी परिषद्को शनिबार भएको भेलालाई सम्बोधन गर्दै उनले अध्यक्ष ओलीले नेपाली जनताले तिरेको करबाट राष्ट्रपतिको विज्ञ सल्लाहकार भएको मान्छेले नेपालको राष्ट्रियता विपरीत बोल्नुजस्तो निन्दनीय कार्य अरु नहुने टिप्पणी गरे। 

राष्ट्रपतिका सल्लाहकार चिरञ्जिीवी नेपालले सय रुपैयाँको नोटमा नेपालको नयाँ चुच्चे नक्सा छाप्ने भनेर गरेको निर्णयको आलोचना गरेका थिए। भारतीय विदेशमन्त्री एस जयशंकरको प्रतिक्रिया आएपछि उनको प्रतिक्रिया आएको थियो। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर नेपाल हाल राष्ट्रपतिका आर्थिक सल्लाहकार छन्। 

सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णयका विरुद्ध राष्ट्रपतिका विज्ञ सल्लाहकारले नै विरोध गर्नु निन्दनीय भएको टिप्पणी गरेका छन्। 

ओलीले भने, ‘नेपालले आफ्नो मुद्रामा देशको नक्सा किन राख्यो भन्दै अर्को देश सोध्न आउँछ। यहाँ राष्ट्रपतिको एउटा सल्लाहकारले नोटमा नक्सा राख्न पाइन्छ र भनेर बोलीमा बोलि मिलाएर दाबेदारी गर्छ। किन यस्तो भयो? अन्तवार्ता दिँदै हिँडेको छ। कत्रो हिम्मत नेपाललाई हेप्ने कुरामा? नेपाली जनताले तिरेको करबाट सुविधा लिएर नेपालको विज्ञ सल्लाहकार भएको व्यक्तिले नेपालको राष्ट्रियता विपरीत बोल्छ। योभन्दा निन्दनीय कुरा हुन अरु हुनै सक्दैन।’

राष्ट्रपतिकै सल्लाहकारले भारतको पक्ष लिँदा दलालहरू राज्यका कस्ता ठाउँमा पुगेका छन् भन्ने कुराको पुष्टि भएको उल्लेख गर्दै ओलीले यस्ता तत्वलाई समयमै निर्मूल नपारे देशको अस्तित्व समाप्त हुने भन्दै चिन्ता व्यक्त गरे। 

अध्यक्ष ओलीले नेपाली समाज र जनतालाई सुखी र समृद्ध बनाउने सन्दर्भमा सहि चिन्तन र दृष्टिकोण अपनाएको बताए। 

वैशाख २९, २०८१ शनिबार १५:४१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।