रवि लामिछानेलाई प्रश्न : जीवी राईलाई कसले भगायो?

रवि लामिछानेलाई प्रश्न : जीवी राईलाई कसले भगायो?

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य फरार आरोपी रहेका गितेन्द्र बाबु राई (जीवी) लाई नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताएका छन्।

शनिबार भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै उनले फरार राईलाई पक्राउ गर्न प्रक्रियागत काम भइरहेको बताए।

उनले भने, ‘राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको छ।’

आफैं पनि सहकारी ठगीको आरोप झेलिरहेका लामिछानेले जीवीलाई अघिल्लो सरकारले भगाएको आरोपसमेत लगाए।

सञ्चारकर्मीले उनलाई 'जीवी राई किन पक्राउ पर्न सकेनन्?' भनेर सोधेका थिए। जवाफमा उनले भने, 'भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकाले हर कोसिस भइरहेको छ।'

'त्यसो भए कसले भगायो?' सञ्चारकर्मीको प्रश्नमा उनले भने, 'भाग्दाखेरी सरकारमा को थियो?'

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी र पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरी राई फरार भएका छन्। उनी विरुद्ध रेड नोटिस समेत जारी भएको छ। फरार राई मलेशियामा रहेको बताइएको छ। 

गृहमन्त्री लामिछानेले उक्त देशसँग प्रत्यर्पण सन्धि नभएकाले केही समस्या भएको बताउँदै उहाँले त्यसलाई समाधान गरेर निजलाई चाँडै पक्राउ गरिने प्रतिबद्धता व्यक्त गरे। 

केही दिनअघि उनले मलेशियाका गृहमन्त्री सँग जीवीलाई  नेपाल फर्काउनेबारे टेलिफोन संवाद गरेका थिए। 

वैशाख २९, २०८१ शनिबार १४:२१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।