संसदीय छानबिन समितिको अडानबाट तलमाथि नहुने कांग्रेसको निष्कर्ष

संसदीय छानबिन समितिको अडानबाट तलमाथि नहुने कांग्रेसको निष्कर्ष

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारीको रकम अपचलनको सन्दर्भमा संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो अडानबाट तलमाथि नहुने बताएका छन्।

शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवासका बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीमाझ बोल्दै महामन्त्री थापाले संसदीय छानिबन समिति नबनेसम्म संसद चल्न नसक्ने बताएका हुन्।

‘संसदीय छानबिन समिति नबनेसम्म संसद्मा नीति तथा कार्यक्रम मात्र हैन, सरकारका कुनै पनि काम तथा कारबाहीहरू अगाडि बढ्न सक्दैन भन्नेकुरा नेपाली कांग्रेसको अडान हो,’ उनले भने, ‘हाम्रो आफ्नो अडान तलमाथि हुने कुरै भएन।’

महामन्त्री थापाले आफूहरू गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेमाथि केन्द्रीत नभएर समस्या केन्द्रीत भएको दाबीसमेत गरे।

उनले थपे, ‘सरकारले बनाउने संसदीय छानबिन समितिले सहकारीको रकम अपचलन भएर ठगीमा परेकाहरूको बचत सावा र ब्याजसहित फिर्ता गराउन कानूनी व्यवस्था मिलाउनुपर्छ भन्ने संसदीय समितिको पहिलो बुँदा होस्।’

नेपाल प्रहरीले गरेको अनुसन्धान, अभियोजन भएको प्रतिवेदन, पोखरा महानगरले गरेको अध्ययन र छानिबन नै तथ्य र प्रमाण भएकाले यिनैको आधारमा संसदीय छानबिन बनाउनुपर्छ भन्ने आफूहरूको माग रहेको उनको भनाइ छ।

जनार्दन शर्मा, भरतमोहन अधिकारी, रामशरण महतले जसरी छानबिन समिति बनाउन मान्दा रवि लामछिानेले किन मान्न नहुने भन्दै उनले प्रश्नसमेत गरे।

वैशाख २९, २०८१ शनिबार १२:५२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।