सरकारलाई गगनको चुनौती : 'गृहमन्त्रीले एक अर्ब अपचलन गरेको प्रमाणहरू पेश गरौं ?'

सरकारलाई गगनको चुनौती : 'गृहमन्त्रीले एक अर्ब अपचलन गरेको प्रमाणहरू पेश गरौं ?'

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको थुप्रै प्रमाण आफूहरूसँग रहेको बताएका छन्। 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा थापाले सहकारी ठगि प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनेसम्म संसदका कामकारबाही अघि बढ्न नसक्ने भन्दै त्यसको प्रमाणहरू आफूसँग भएको जिकिर गरे। 

प्रतिनिधिसभा बैठक सुरू भएपछि राष्ट्रपति कार्यालयबाट आएको पत्र सभामुख देवराज घिमिरेले पढ्न खोज्दैगर्दा कांग्रेसले उठेर अवरोध गरेपछि सभामुखले थापालाई बोल्न समय दिएका थिए।

त्यसपछि थापाले भने, ‘सहकारीको ठगीको सन्दर्भमा यो संसदले छानबिन समिति बनाओस्, समितिमा त सबै दल बस्ने होला। समिति बनाएर छानबिन गर्न किन डराएको?’ कहिले प्रधानमन्त्रीलाई बोल्न लगाएको छ, कहिले प्रहरीलाई बोल्न लगाएको छ, हुँदा हुँदा महान्यायाधिवक्ता कार्यालयलाई दुरुपयोग गर्ने?

उनले गृहमन्त्री लामिछानेले सहकारीको अर्बौँ रकम ठगी गरेको प्रमाणहरू बोकेर संसद भवन पसेको जिकिर गरे। 

‘गृहमन्त्रीमाथि कहीँ अभियोजन भएको छैन, अनुसन्धान भएको छैन भनेर झुठ बोल्ने? रुपन्देही प्रहरी कार्यालयले गरेको अनुसन्धान, त्यहाँको अदालतमा भएका प्रमाणहरू पेश गरौं? सहकारीमा आफैंले लिखित गरेर माग फारम भरेर ऋण लिएको प्रमाण पेश गरौं? एक अर्ब रुपैयाँ अपचलन गरेका प्रमाणहरू पेश गरौं। मैले पेश गरेका प्रमाणहरू गलत सावित गर्दिनुस् न, हामीले यही भनिरहेको होइन? थापाले भने, ‘संसदीय छानबिन समिति नबनेसम्म सदनका कुनै कामकारबाही अगाडि बढ्न सक्दैन। यसको जिम्मेवार हामी होइन सरकार हो। अब हामीलाई भन्न पाइँदैन।’ 

संसदको अवरोधको जिम्मा पनि कांग्रेसले नलिने उल्लेख गर्दै उनले यसको जिम्मा सरकारले लिनुपर्ने बताए।  

२८ बैशाख, २०८१, १७:१९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।