विदेशीसँग विवाह गरेका नेपाली नागरिकका श्रीमान्-श्रीमती र सन्तानलाई आवासीय अनुमति दिन माग

विदेशीसँग विवाह गरेका नेपाली नागरिकका श्रीमान्-श्रीमती र सन्तानलाई आवासीय अनुमति दिन माग

काठमाडौं : नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएका विदेशी नागरिक उनीहरूका बालबालिकाको लागि कार्यरत संस्था फ्यामिली राइट्स नेपालले विदेशी नागरिकसँग विवाहित नेपाली नागरिकका श्रीमान्, श्रीमती र छोराछोरीका लागि आवासीय अनुमतिको प्रणाली लागू गर्न माग गरेको छ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गर्दै संस्थाले न्यायको सामान्य सिद्धान्त अनुसार आफ्ना नागरिकका परिवारलाई नैसर्गिक हकअधिकारबाट वञ्चित राख्न नहुने बताएको हो।

‘हामी नेपाली नागरिकले विदेशीसँग विवाह गर्ने नहुने जस्तो गरी कानुनी अस्पष्टता छ,’ संस्थाका सचिव कर्मा तामाङले बताए, ‘यसरी पारिवारिक मिलन, विवाहपश्चात सँगै बस्न पाउने अधिकार, रोजगारी, शिक्षा लगायतका विषयमा हाम्रा परिवार वञ्चित छन्।’

संस्थाका अध्यक्ष डा. मनिष ओलीले सामान्य मानवीयताको पनि सवालमा पनि सरकार मौन र अस्पष्ट हुनुले हजारौं नेपाली नागरिक र उनीहरूका परिवार र बालबालिका प्रभावित भएको बताए।

हाल विवादित रहेको दोहोरो नागरिकताको मुद्दामा संस्थाले स्पष्ट पार्दै आफूहरूको माग दोहोरो नागरिकता नभएको उल्लेख गरेको छ। यद्यपि हाल उनीहरूलाई बसोबास अनुमति दिने कुनै स्थायी वा अस्थायी प्रावधान नरहेको र नेपालभित्र भ्रमण गर्दा पनि परिवारका सदस्य जस्तो नभई पर्यटकजस्तै शुल्क तिर्नुपर्ने अवस्था छ।

नेपालमा श्रम स्वीकृति लिन कठिन रहेको बताउँदै वैवाहिक सम्बन्ध भिषा वार्षिक रूपमा स:शुल्क नवीकरण गर्नुपर्ने अवस्थाका कारण धेरै नेपाली नागरिकका परिवार मर्कामा परेको संस्थाले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ।

‘यस्तो अवस्थाका कारण कतिपय अवस्थामा हाम्रा बालबालिकाले निर्वाध रूपमा शैक्षिक संस्थामा शिक्षा लिन कठिन हुने अवस्था छ’,  संस्थाका उपाध्यक्ष भगवती विष्टले बताइन्।

संस्थाले सम्बन्धित निकायहरूसमक्ष तत्काल गर्न सकिने र दीर्घकालमा गर्न सकिने गरी दुईप्रकारका माग प्रस्तुत गरेको छ।

तत्कालका हकमा वैवाहिक सम्बन्ध भएका विदेशीलाई नेपालमा बसोबासमा सहजता, काम गर्न पाउने व्यवस्था, आवागमन, पारिवारिक पुनर्मिलन आदिमा सहजताका लागि कानुनी स्पष्टता हुनुपर्ने माग राखेको छ। त्यस्तै दीर्घकालीन रूपमा स्थायी आवसीय अनुमतिलगायतका माग राखेको छ।

नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएका भारतबाहेक अन्य देशका नागरिक र उनीहरूका बालबालिकाको संख्या एकीन छैन। विवाह भिसामा १ हजार ४१६ जना र रिलेसनशिप भिसामा ६ हजार जना अहिले नेपालमा बसोबास गरेको आँकाडा देखिन्छ।

२८ बैशाख, २०८१, १२:५९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।