उपेन्द्र यादवले पार्टी कब्जा गर्न खोजेपछि विकल्प खोज्यौँ : अशोक राई

उपेन्द्र यादवले पार्टी कब्जा गर्न खोजेपछि विकल्प खोज्यौँ : अशोक राई

काठमाडौं : प्रस्तावित जनता समाजवादी पार्टी (जसपा)का संघीय अध्यक्ष अशोक कुमार राईले जनता समाजवादी पार्टी नेपालले महाधिवेशन नै अनियमित ढङ्गले गर्न खोजेकोले पार्टी विभाजन गर्नु परेको बताएका छन्। 

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी कब्जा गरेर आफ्नो मुठ्ठीभित्र राख्ने प्रयास गरेका बताए। उपेन्द्र अमेरिका गएको बेला खुसुक्क किन पार्टी फुटाएको भन्ने प्रश्नमा उनले अमेरिका जानुअघि नै सबै पार्टीका नेताहरूसँग छलफल नगरी परिपत्र गरेर विदेश उडेको र वातावरण नै त्यस्तै सृजना गरिदिएको बताए। 

उनले भने, ‘महाधिवेशन नै अनियमित ढङ्गले कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्ने प्रयत्न भयो। उहाँ अमेरिका उड्न भन्दा अगाडि परिपत्र जारी गर्नुभएको थियो। त्यो परिपत्र त्यसको नमुना र प्रमाण हो। नेताहरूसँग छलफल नै नगरी बैठक बोलाउनुभयो। एक्कासि आठ जना कार्यकारिणीको उपस्थिति भयो, दश जना आएनन्। त्यस्तै निर्णय गर्दै र सोही अनुसारको परिपत्र गरेर हिँड्नुभयो। अमेरिका गएको बेला खुसुक्क किन गरेको भन्नुहुन्छ भने उहाँले वातावरण नै त्यस्तो बनाइदिनुभयो।’

उनले सदस्यताको रेकर्डपनि प्रमाणित गर्न नपाइने र महाधिवेशनका प्रतिनिधिहरू छान्ने र छानिने कुरामा पनि सन्तुलित ढङ्गले नगरी पार्टी कब्जा गर्न खोजेको आरोप लगाए। जसपाले विधान विपरीत गएर पार्टी चलाइरहेको उनको जिकिर छ। 

उनले महाधिवेशन अनियमित ढङ्गले अघि बढाएको, सदस्यताको रेकर्डपनि प्रमाणित गर्न नपाएको, लाखौं मानिसका नाम सदस्यमा राख्ने, संगठित सदस्यता र पार्टी सदस्यता दुई व्यवस्था भएपनि त्यसमा गम्भीर नबनेको बताए। महाधिवेशनका प्रतिनिधिहरू छान्ने अनुपात पनि कुनै सन्तुलित ढङ्गले नगरेको र पार्टी कब्जा गर्ने नियतका साथ अघि बढेको राईको आरोप छ। 

आजसम्म जसपा नेपाललाई जसरी नेतृत्व प्रदान गरियो सोही अनुसारको  उन्नती भने गर्न नसकेको उनको भनाई छ। उनले घट्दो जनताको आकर्षणलाई पुनः स्थापित गर्न सकिन्छ भन्ने अठोटकासाथ आफूहरू अगाडि आएको बताए। 

अदालतको प्रसंग कोट्याउँदै अध्यक्ष राईले पार्टी अनियमित, गैर संवैधानिक, गैरकानुनी ढङ्गले दर्ताको प्रक्रिया भएको भए निर्वाचन आयोग जस्तो संवैधानिक अंग कानुनविद्को बहस समेत गराएर सहमति दिने र दर्ता गराएको भन्दै उनले दर्ता प्रक्रियाको बचाउ गरे।  

२७ बैशाख, २०८१, १६:४४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।