गजलकार शीतल कादम्बिनीको हिजोको कुरा : शिक्षकहरूले पुरस्कार लिन झोला बोकेर आउ भन्नुहुन्थ्यो
शीतल कादम्बिनी गुरुङ कवि, गीतकार तथा गजलकार हुन्। पाँच दशकअघि चितवनमा जन्मिएकी शीतल कादम्बिनी गुरुङ नेपालगञ्जमा हुर्किइन्। उतैको विद्यालय पढिन्। विद्यालय तहदेखि नै गीत र गजल लेख्न थालेकी उनका थुप्रै कृतिहरू लेखिसकेकी छन्।
‘सुगन्ध यात्रा’ गजल संग्रह, संयुक्त गजल संग्रह, कादम्बिनी, शीतल, नर्झरी लगायतका थुप्रै सांगीतिक एल्बमहरू प्रकाशित भइसकेका छन्। उनको पछिल्लो समय उपन्यास ‘सिन्का पाउरु’ प्रकाशित भएको छ, जुन यतिबेला चर्चामा छ।
शीतलले पञ्चायतकालका धेरै अनुभवहरू छन्। आफ्नै भिनाजु स्कुलका शिक्षक थिए। भिनाजुले सरकारबाट जनताको अधिकार खोसिएको कुरामा कविता तथा गीतहरू लेख्थेँ/गाउँथे। त्यसबाट प्रभावित भएर उनले लेख्न थालिन्।
शीतलले स्कुलमा रेडियोबाट सुनेको भरमा गीत गुनगुनाउँथिन् पनि। उनको प्रतिभा देखेर स्कुलका शिक्षकले उनलाई पुरस्कारसमेत दिन्थे। गुरुङ समुदायमा हुर्किएकी शीतलले आफ्नो परिवारमा साहित्यमा लागेको मन नपराउने बताउँछिन्।
उनै शीतल कादम्बिनीले आफ्ना विगका भोगाइहरू उकेराको नियमित स्तम्भ हिजोका कुरामा यसरी सम्झिएकी छन्।
पञ्चायतमा साहित्यको क्रान्ति
मैले थाहा पाउँदा देशमा पञ्चायत व्यवस्था थियो। म चितवनमा जन्मिए पनि सानैमा आमाले नेपालगञ्ज लैजानुभयो। हुर्कँदै जाँदा किताबमा लेखिएका कविताहरू खुब पढ्न मन लाग्थ्यो। त्यसकै आधारमा मलाई साहित्यप्रति रुचि बढ्दै गयो।
३५ सालअघि नेपालगञ्जमा साहित्यले यतिको फड्को मारेको थिएन। थोरै मात्रामा साहित्यकारहरू थिए। पुरुषको तुलनामा महिला साहित्यकारहरू त शून्य नै! अरूले कविता वा गजल भनेको वा लेखेको सुन्दा मैले पनि लेख्न थालेको थिएँ।
कतिपयका पत्रपत्रिकाहरूमा कविता, गीत, गजल छापिएर आउँदा मलाई पनि छाप्न रहर लाग्थ्यो। तर, त्यसबेला हामी भएको ठाउँमा कहिलेकाहिँ मात्र पत्रिका आइपुग्थेँ। साहित्यका कार्यक्रमहरू भएका समाचारहरू आउँदा म चाख दिएर पढ्थेँ। यसरी पढ्दा पत्रिकामा साहित्यकारहरूको जस्तै मेरा रचना पनि छापिए हुन्थ्यो जस्तै लाग्थ्यो।
देशमा पञ्चायत व्यवस्था भएकाले शिक्षित मान्छेहरू त्यस व्यवस्थाको विरोधमा कविता तथा आफ्ना सिर्जनाहरू सुनाउँथेँ। मेरो भिनाजु पनि साहित्यप्रति रुचि राख्नुहुन्थ्यो। गीत, कविताहरू लेख्नुहुन्थ्यो। देशमा पञ्चायत व्यवस्था रहेको र जनताको अधिकार सरकारले लिएको भनेर क्रान्तिकारी कविताहरू लेखेर वाचन गर्नुहुन्थ्यो।
पञ्चायत व्यवस्थाले जनताहरूले पाउनुपर्ने हक अधिकारबाट बञ्चित छौं। हामीलाई दबाइएको छ, हामी पिडित छौं भन्ने कुराहरू चेत देखिन्थ्यो शिक्षित वर्गमा। भिनाजु शिक्षक भएकाले पनि होला, क्रान्तिकारी भावका कविता तथा गीतहरू लेखेर सुनाउनुहुन्थ्यो।
उहाँले लेखेका गीतहरू हामी स्कुलमा गाउँथ्यौं पनि। म आफैँ पनि लेख्ने गर्थें। अझ भिनाजुले लेखेका गीतका भावहरूले मलाई छुन्थेँ। त्यसैको प्रेरणाले होला मलाई पनि राम्रा गीतका सिर्जनाहरू लेख्न जानेको। गद्यमा मलाई लेख्न आउँदैन थियो, तर पद्यमा भने मजाले लेख्थेँ।
कविता, गीत र गजल लेख्दा कुरा काट्थे
मैले गीत, कविता तथा गजल लेख्दै जाँदा म पुरष्कृत हुन्थेँ। म प्रशंसित हुँदै गएँ, ममा हौसला बढ्दै गयो। त्यहि भएर होला ममा लेख्नका लागि थप ऊर्जा मिलेको।
गाउँकै सेरोफेरोमा भएर बस्दा मान्छेहरूले खुब कुरा काट्ने गर्थे। हेर त, आइमाई भएर पनि के कविता लेखेको होला। ए पोइला जाने जात, अर्काको घर जाने जात, यिनीहरूलाई पढाएर के हुन्छ? भन्ने खाल्का कुराहरू हुन्थ्यो।
तर चेतना भएका मानिसहरूले भने त्यसो भन्दैनथे। छोरीलाई पढाउनुपर्छ, लेखाउनुपर्छ भन्ने सोच भएका मानिसहरू पनि थिए। त्यहि चेतनशील सेरोफेरोमा बसेर होला, मलाई मेरी आमाले पढाउनुभयो। स्कुलमा हुने हरेक कार्यक्रममा सहभागी हुन्थेँ म। त्यसबेला स्कुलमा केटाकेटी भनेर पढाइमा भेदभाव थिएन।
पुरस्कार लिज झोला
स्कुलले जीवनमा म गीत पनि गाउथेँ। तीजको समयमा आफैँले गीत लेखेर आउने गर्थेँ। म मात्रै होइन, स्कुलका अरू विद्यार्थीहरू पनि गीत गाउने गर्थे। म बसेको एरियामा गाउँलाई ग्रेडअनुसार छुट्याइएको थियो ए, बी र सी भनेर। सरकारले त्यसबेला नै नम्बरी गरेको भन्थेँ।
हामी चाहिँ सी गाउँ नजिकै बस्थ्यौं। त्यस समयमा पढ्ने विद्यार्थीहरू निकै नै हुन्थेँ। राम्रो पढ्ने लेख्ने र विभिन्न क्रियाकलापमा सहभागी हुने विद्यार्थीलाई पुरस्कृत गर्ने चलन थियो। म पनि स्कुलका विभिन्न क्रियाकलापमा भाग लिन्थेँ। मैले त ५ कक्षाबाट एसएलसीसम्म नै टन्नै पुरस्कार पाएँ।
नेपाली, अंग्रेजी लगायत विषयमा म ट्यालेन्ट थिए भने गणितमा अलि कमजोर। पढाइमा चाख राख्ने र राम्रो पढ्ने हुनाले वर्षेनी स्कुलले मलाई पुरस्कार दिन्थ्यो। अनि मेरा साथीहरू के भन्थे भने, ‘तेरो जुठो खायो भने तैँले पढे जतिकै मलाई पनि पढ्न, लेख्न अनि गाउन आउँछ होला है भनेर आँप खान्थे।’
स्कुलमा सबैभन्दा धेरै पुरस्कार पाउने विद्यार्थीमा पर्थें म अनि मलाई सरमिसले ‘स्कुलमा यस्तो कार्यक्रम हुँदैछ। स्कुल आउँदा ठूलो झोला लिएर आउँ है, तिम्रो पुरस्कार नै धेरै छ’ भन्नुहुन्थ्यो। त्यसबेलाको पुरस्कार भनेको साबुन, डायरी, पेन, लगायत थुप्रै हुन्थ्यो। म घर फर्कँदा एक झोला पुरस्कार बोकेर जान्थेँ। खेलकुद बाहेक सबैमा भाग लिन्थेँ म।
महिला पुरुष साहित्यकारहरूमा विभेद
महिला र पुरुष साहित्यकारहरूमा भेदभाव थियो। छोरा मान्छेहरूले आफ्नो वर्चश्व देखाउँथे। हामीहरूलाई अलिक ब्याक नै राख्थेँ। अगाडि बढ्नै दिँदैनथे। महिला गजलकार, महिला कवि, महिला लेखक भनेर क्याटगोराइज गर्थे।
त्यसैको कारणले होला, अगाडि बढ्न दिँदैनथे। कतिपय महिला साहित्यकारहरू आफ्नै बलबुताले साहित्यमा लाग्नुहुन्थ्यो। म पनि त्यसरी नै अगाडि आएको हो। पुरुष साहित्यकारहरूको भिडको दौडमा दौडिँदा छेक्नै नसक्ने गरि दौडिएर अगाडि निस्किएको हो म। कसैको माया दया र कसैले हात थामिदिएर आएको होइन।
कसै-कसैले यसको लेखन राम्रो छ, अगाडि बढाउनुपर्छ भनेर सपोर्ट गर्थे भने कसैले चाहिँ सकभर अँध्यारोमै राख्न खोज्थे। आफूभन्दा ठूला कविहरूले, गीतकारहरूले कार्यक्रममा परिचित गराउँदा, ‘यसलाई चिनेको छ, शीतल कादम्बिनी हो, राम्रो गजल गाउँछिन्’ भनेर चिनाउँथे। तर राम्रो लेख्छ भन्दैनथे। लेख्छे भन्ने कुरामा उनीहरू कच्ज्युस्याइँ गर्थे।
आफूभन्दा सिनियरहरूले लेख्छे नभन्दा चित्त दुख्थ्यो। त्यतिबेला लेख्छे भन्दिँदा के बिग्रन्थ्यो त! किनभने म गायिका होइन, लेखक पो हो त! दाइहरूले यति भन्दिँदा मान्छेमा बेग्लै छाप पर्छ नि! अहिले पनि खासै परिवर्तन भएको छैन। तर, पहिलाको तुलनामा केहि हदसम्म कम भने भएको छ।
उनीहरूले यसो भन्दा मलाई कहिलै पनि साहित्य क्षेत्रमा नलागुम भन्ने भएन। मलाई स्कुलका शिक्षकको हौसला र पुरस्कारले नै अगाडि बढ्न मद्दत गरिसकेको थियो। अहिले पनि म निरन्तर लेखिरहेको हुन्छु। मलाई कविता, गजल लेख्नमा कुनै समय चाहिँदैन। जुनसुकै बेला पनि कोर्न सक्छु। कहिलेकाहिँ भने मलाई एक दुई दिन लाग्न सक्छ। नत्र एकछिनमा सक्छु।
पत्रिकामा मेरो सिर्जना छापिएको कुरा गर्ने हो भने म निकै ठुलो भएपछि नै छापिएको हो। पोखराबाट प्रकाशित हुने आदर्श समाज भन्ने पत्रिकामा थियो। त्यो बेला मैले लेखेको पहिलो पटक पत्रिकामा छापिएको थियो।
मैले सानैबाट कविताहरू लेखे पनि प्रकाशित गर्नका लागि ममा पत्रिकाहरू भएको ठाउँमा पहुँच पुग्दैन थियो। साहित्य कार्यक्रममा भेला हुँदाको समयमा चिनजान हुँदा पत्रकारहरूले छापिदिनुहुन्थ्यो अनि चितवनबाट सुगन्ध भन्ने पत्रिकामा छापिएको मलाई याद छ।
गुरुङ समुदायमा साहित्यको प्रभाव
हाम्रो गुरुङ समुदायमा साहित्यमा कलम चलाउनेहरू कमै छन्। शिक्षित बन्दै गएसँगै गुरुङ समुदायबाट साहित्यमा आउने मानिसहरूको संख्या पनि विस्तारै बढ्दो छ।
मैले थाहा पाउँदा भनौँ न, कसैले पनि कविता, गीत, उपन्यास लेख्दैनन् थिए। लेखे पनि न्यून। किनभने उनीहरूले कविता, गजल मन नै पराउँदैनथे। नेपालगञ्जमा रहँदा धेरै किसिमका समुदायहरूसँग घुलमिल भएकाले नै मैले साहित्यमा फड्को मारेँ जस्तो लाग्छ।
अर्को रहस्य के छ भने मेरो नाम शीतल कादम्बिनी हो। मैले थर पहिलाबाट नै लेखेको भए सबैले थाहा पाउँथे होला। मैले कादम्बिनी लेखेको हुनाले के हो भन्नेबारे पत्तै पाएनन्। अहिले आएर लाग्छ, सुरुमै गुरुङ थर राखेको भए हुने रैछ भन्ने।
मैले यहि ‘सिन्का पाउरु’ भन्ने उपन्यास गुरुङ संस्कृतिमा आधारित लेखेको हो। यो लेखेपछि बल्ल मलाई गुरुङहरूले माया गर्न थाल्नुभएको छ। हाम्रो चेली रैछ भनेर।
पहिरनमा स्कट र जामा
हामी केटी मान्छेहरूलाई स्कुलको समयमा स्कर्ट र सर्ट थियो। त्यहि लुगा लगाएर बजार र मावली जानुपर्थ्यो। त्यस बेला केटीहरूले स्कुल जाँदा होस् या घरमा बस्दा, जतिबेलै स्कर्ट लगाउँथे।
यो बाहेक जामा लगाउने पनि चलन हुन्थ्यो। माथिदेखि घुँडामुनिसम्म पूरा हुन्थ्यो। फरर्र परेको जामा अनि मुजा-मुजा परेको लगाउँथ्यौं। अझ प्रष्ट्याएर भन्दा त्यो समयमा जे भेटिन्थ्यो, लगाउँथ्यौं। अहिले त अब धेरै परिवर्तन भइसकेको छ।
कहिलेकाँही म ती बाल्यकालको रमाइला पलहरू म सम्झन्छु। जाडो महिनामा त तराईमा अत्यधिक जाडो हुने, तुसारो पर्ने। मान्छेहरू रोडको छेउछाउमा आगो बालेर तापिरहेका हुन्थेँ। त्यतिबेला हामी जाडो नमानी स्कुल जाने आउने गर्थ्यौं।
त्यस्तै लुगामा पनि जाडो नै लाग्दैनथ्यो त्योबेला। स्कर्ट र सर्ट लाएर स्कुल जाँदा पनि जाडो लाग्दैनथ्यो। मलाई लाग्छ त्यो सबै खान्कीका करामत हो। अहिलेको खान्कीले मान्छेलाई राम्रो गरे जस्तो लाग्दैन।
त्यतिबेला विषाधि भन्ने सुनिँदैनथ्यो, अहिले नहाली उब्जाउ हुँदैन।
वैशाख २७, २०८१ बिहीबार १३:४२:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।