पेमेन्ट गेटवे खरिद प्रकरण : सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख बढी बिगो जरिवाना

पेमेन्ट गेटवे खरिद प्रकरण : सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख बढी बिगो जरिवाना

काठमाडौं : नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाइएको छ।

नेशनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पौडेललाई मंगलबार विशेष अदालतले ९ वर्ष कैद हुने सजाय गरेको हो। विशेष अदालतले उनलाई ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो जरिवानाको असुलीको सजाय तोकेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सजाय निर्धारण गरेको हो। अदालतबाट गत वैशाख ७ गतेनै भ्रष्टाचार मुद्दामा  सुनिल दोषी ठहर  भइसके पनि सजाय आज निर्धारण गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध उनी सार्वजनिक पदमा बहाल रहँदाको आयव्ययको तालमेल नदेखिएको ठहरसहित २३ करोड ७५ लाखभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो।

पौडेलले आफू कार्यकारी प्रमुख भएका निकायहरूमा सामग्री आपूर्ति गर्ने स्वदेशी तथा विदेशी कम्पनीसँग मोलमोलाई गरी कमिसन लिई विदेशी बैंकमा रकम जम्मा गरेको र स्वदेश तथा विदेशमा आफन्तका नाममा लगानी गरेको अख्तियारले जनाएको छ।

सुनिलमाथि वैशाख ९ गते दायर भएको अकुत सम्पत्ति मुद्दा पनि विचाराधीन छ। 

२५ बैशाख, २०८१, १९:२१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।