रबिन, मछिन्द्रनाथ जात्रामा रथ हाँक्छन्, बाँकी समय बैंकको गाडी !
ललितपुरको पुल्चोकमा रातो मछिन्द्रनाथको जात्राको तयारी धूमधामका साथ चलिरहेको छ। अनि त्यति नै व्यस्त देखिन्छन्, रबिन महर्जन।
जात्राको लागि हरेक वर्ष झैँ यसपालि पनि उनी र उनको गुठियारहरूको जिम्मामा रथ तयार गर्नु र त्यसको संरक्षण गर्ने जिम्मेवारी छ। त्यै भएर चर्को घाममा पनि उनीहरू रथ बनाउन निकै सक्रिय छन्।
यहीँका स्थानीय रबिन पेशाले सवारी चालक हुन्। सिद्धार्थ बैङ्कमा उनी २० वर्षदेखि सवारी चालकको काम गरिराखेका छन्।
वर्षभरि जति दत्तचित्त भएर उनी गाडी चलाउँछन्, त्यति नै खुसी भएर रथ र जात्राको तयारीमा खटिन्छन्। उनी यंवाः गुठीका सदस्य हुन्। जात्राको तयारीमा गुठीका १२ जना आउनु पर्छ। गुठीमा अगाडि जो संलग्न भए उनी नै ’सिनियर’ हुने व्यवस्था छ।
आफ्नो पुर्खाले सिकाए अनुसार उनले पनि रथ निर्माण गर्न जानेका छन्। रथमा वेध बेर्ने र १६ वटा काठ राख्नुपर्छ। यी सब राखेसँगै रथमा चक्र राख्ने काम समेत उनैले गर्छन्। अनि जात्रा अवधिभर रथ डुलाउँदा त्यसलाई लड्न नदिने, रथमा चढाउने सामानहरू राखिदिने जिम्मेवारी पनि उनकै हो।
‘पहिला बाजेहरूले जसरी बनाए त्यसरी नै बनाउन पर्छ,’ उनले सुनाए, ’रथमा वेधको काम हामी गर्छौँ। १६ वटा काठ बाहेक अर्को काठ चैँ बाडे(सिकर्मी)ले गर्छन्। एउटा जात्रा भए पनि सबैजना मिलेर काम गर्ने हो। हरेक गुठीको काम भाग लगाएको हुन्छ। बाडेले काठको काम गरे जस्तै चित्र बनाउने चैँ चित्रकारले गर्छन्। त्यही भएर यो जात्रा आफैमा विविधताले भरिपूर्ण छ।’
हरेक वर्ष देवताले स्नान गरेपछि लगनखेलदेखि अक्षता छर्दै पुल्चोकमा गुठियारहरूले रथ बनाउन सुरु गर्छन्। १५ दिन सम्ममा तयार हुनुपर्ने रथको समयावधिसँगै जात्रा समापन नभएसम्म उनीहरू भने सुद्ध-चोखो भएर बस्नुपर्ने हुन्छ।
रबिनले जात्रा अवधिभर आफूलाई चोखो बनाउन हरेक दिन मछिन्द्रनाथको जल छर्किन्छन्। लसुन, प्याज, माछा मासुबाट आफूलाई टाढै राखिरहेका छन्।
रथ बनाउने अनि भत्काउने
‘यो १५ दिन त रथ निर्माण भइनै हाल्यो। रथ डुलाउने बेलामा पनि नढल्कियोस् र नढलोस् भनेर हामी चनाखो भएर बस्नुपर्छ। भोटो देखाई सकेपछि पनि फेरी रथ बिगारेर सबै सामान गुठी संस्थानलाई नदिएसम्म यो सबको जिम्मा लिनुपर्छ,’ उनले भने।
उनका अनुसार ३२ हातको लम्बाई र ३२ हातको चौडाइ भएको रथ डुलाउँदा त्यसको टुप्पो भुईँमा नछोई ढल्कियो भने त्यत्तिकै उठाएर डुलाउन मिल्छ। तर त्यो रथको टुप्पोले अलिकति पनि भुईँमा छोयो भने तत्काल सोही ठाउँमा त्यसलाई बिगारेर, क्षमा पूजा गरेर त्यहीँ बनाउनु पर्छ। अनि जात्रा पनि त्यहीँबाट सुरु गर्नुपर्ने हुन्छ। जसको कारण स्वतः जात्राको अवधि लम्बिन्छ।
२०४८ सालदेखि प्रत्यक्ष रूपमा संलग्न भएर रथ बनाउने काम गरिरहेका उनले पटक-पटक रथ ढलेको देखेका छन्।
'मैले सुरु गर्दा नै भैसेपाटीमा ढल्यो,’ उनले सम्झिँदै भने,’ त्यसपछि नःटोल, सुन्धारा र सघाःमा पनि ढल्यो। भुईँ नै छुने गरेर ढलेपछि त धेरै नै अशुभ मानिन्छ। त्यही भएर त्यस्तो दुर्घटनाको समयमा सरकार नै क्षमा पूजा गर्न आउनु पर्ने हुन्छ।’
रथ तान्ने विषयमा झगडा हुने देखिएपछि ज्यापु समाजले हरेक समूहको लागि अलगअलग कामको जिम्मा दिएका छन् अहिले। त्यही भएर अहिले रथ तान्ने समयमा झडप हुन्न।
जात्रामा संलग्नले चाहेमा डोरी समाउन पाउँछन्। महिलाहरूको लागि भनेर एक दिन नै छुट्टाएको छ।
गुठियारको १२ जना अनिवार्य भए पनि जात्रा अवधिभर कमसेकम ५० देखि ६० जना व्यक्ति रथको लागि तयार रहन्छन्।
हरेक वर्ष यो जात्रा भए पनि १२ वर्षमा एकचोटी भने अलि फरक र विशेष हुने गर्छ। हरेक १२ वर्षमा चैँ जात्राको अन्तिम दिन भोटो जावलाखेलमा नभएर बुङ्गम्तीमै पनि देखाउने गर्छन्।
रथ बनाउने समयमा आफ्नो कामबाट समय मिलाएर उनी यसमा संलग्न भए पनि जात्रा अवधिभर भने उनले बिदा लिन्छन्।
जात्रा सक्किएको चार दिनपछि गणेश मन्दिरमा गएर अगाडिदेखि बारेको लसुन, प्याज, मासु लगायतको खानेकुरा फुकाउँदै सानो भोज पनि हुन्छ। जसमा सहभागी मध्ये जेठोलाई कुखुराको टाउको र पखेटा दिनुपर्छ।
पुर्ख्यौली पेशाको कामको पुस्तान्तरण
जात्राको रौनक हेर्दै हुर्किएका रबिनले बा मात्र नभएर हजुरबाले रथ बनाउने काम गरेको देखे। बाजेको समयदेखि उनीहरूले रथ बनाउने र त्यसको सुरक्षा गरेबापत गुठी संस्थानबाट दुई मुरी धान पाउने गर्छन्।
तर पछिल्लो समय भने मुरी धानको लागत बराबर पैसा लिने गरेका छन्।
'मुरीको हिसाबले अहिले १५/१६ सय जति हुन्छ। तर हामीले पैसाको हिसाबले काम गरेको होइन। पुर्खाले छोडेर गएको काम हो। त्यत्तिकै श्रद्धा र आस्थाका साथ गरिराखेका छौँ’ उनले भने।
जात्रामा संलग्न हुनेहरू भोकै हुन नपर्ने उनीहरूको आस्था छ।
'भगवान् छ, छैन थाहा छैन। तर यहाँ जोडिएको कोही पनि भोकै हुन परेको छैन। काम गर्दागर्दै कसैलाई चोट लाग्यो, घाउ भयो भने आफै ठिक हुन्छ,'उनी भन्छन्,'मान्छेहरू खर्च गरेर जात्रा हेर्न आउँछन्। तर हामी त जन्मिदा नै यसमा जोडिएका हौ। भगवानको सेवा गर्न पाउँदा त खुसी हुनुपर्छ।’
सानैदेखि जात्रामा रमाएका उनले पढाइमा ध्यान दिन भने सकेनन्। उनले ह्याण्डीक्राफ्ट सम्बन्धी काम गरे। केही समय राम्रै मूर्ति बनाउन थालेका थिए, तर तेजाबले हात बिग्रिँदै गएपछि उनी डराए। पछि साथीहरूसँग मिलेर गाडी सिक्न गए। त्यस दिन देखि उनी चालक भएर गाडी हाँकिरहेका छन्। हरेक जात्रामा रथ हाँक्ने त छँदै छ।
ललितपुर महानगरपालिकाले पनि रातो मछिन्द्रनाथको जात्रालाई प्राथमिकतामा राखेपछि उनी झनै खुसी छन्। जात्राभर सहयोग गर्न महानगर अग्रसर हुन्छ।
उनीहरूको लागि बिमा गरिदिएको छ। पहिला जस्तो धेरै बल प्रयोग गरेर रथमा मिहेनत गर्नै पर्दैन। तर जति नै सजिलो भए पनि रथ र जात्रामा भने उनीहरूले परम्परालाई हट्न दिएका छैनन्।
महाभूकम्प आओस् कि कोरोना कहर, क्षमा पूजा गर्दै जात्रालाई निरन्तरता दिइरहेका छन्।
अब त आफ्नो दुवै छोरा समेत जात्रामा खुसी भएर संलग्न भएको देख्दा उनी झन् दङ्ग परेका छन्। आफू नभए पनि छोराहरूले निरन्तरता दिनेमा ढुक्क हुँदै उनले भने, 'म मात्र होइन, यहाँ भएका सबै जनाले व्रतबन्ध गरेपछि छोराहरूलाई जात्रामा संलग्न गराउँछन्। फेरी सधैँ पनि त होइन, वर्षमा एक पटक समय मिलाएर सहभागी हुने न हो ।बच्चाहरू पनि खुसी हुँदै सहभागी हुन्छन्।’
वैशाख २४, २०८१ सोमबार २२:४१:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।