भारी बोकेर धरान आउजाउ गर्ने भोजपुरबासीले जब गाउँमा धुलो उडाउँदै गाडी आएको देख्छन्
काठमाडौं : निर्देशक नविन सुब्बाले आफ्नै कथामा आधारित फिल्म ‘गाउँ आएको बाटो’ निर्माण गरेको बताएका छन्। सोमबार फिल्मको टिजर रिलिज कार्यक्रममा उनले आफू र बुबाबीचको कथालाई फिल्ममार्फत प्रस्तुत गरिएको बताए।
आगामी जेठ २५ गते अलनेपाल रिलिज मिति तोकिएको यो फिल्मको कथामा भोजपुरको एउटा गाउँका बाबुछोराबीचको कथा समावेश गरिएको छ। फिल्ममा एक दशकअघि भोजपुरबाट उदयपुर हुँदै धरानसम्म आफूले बाँसका चोयाबाट बुनेका सामाग्री बेच्ने र त्यति नै समय लगाएर धरानबाट नुन लगायत घरायसी सामान लिएर फर्कनेको कथालाई आधार बनाइएको छ।
सधैँ भारी बोकेर धरान आउजाउ गर्नुपर्ने बाध्यतामा परेका भोजपुरबासी धुलो उडाउँदै गाउँमा गाडी आएपछिको खुसियालीमा गाउँलेहरू फूलमाला लिएर बसेको दृश्य टिजरमा देख्न सकिन्छ।
मेन्छ्यायेम पिक्चर्स र बाँसुरी फिल्म्सको ब्यानरमा निर्मित फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बा, केशव राई र राज थापाल गायतको मुख्य भूमिका छ ।
निर्देशक सुब्बा र महेश राईले लेखेको फिल्मका निर्माता अमोद राई हुन्।
निर्माता राईले भने, ‘फिल्म राई समुदायकै कथामा आधारित छ। त्यसैले यो समुदायको अपनत्व होस् भनेर हामीले संसारभर छरिएर रहेका राई समुदायबाट पनि सहयोग लिएका छौँ। यो राई समुदायको संयुक्त लगानीमा बनेको फिल्म हो।’
महोत्सवमा समावेश भएको फिल्महरू नेपालमा जटिल हुने खाल्को भनिने गरेकोमा निर्देशक सुब्बाले यो फिल्म सजिलै बुझ्न सकिने, सरल रहेको बताए।
उनले पत्रकारलाई अर्थ्याउँदै भने, ‘महोत्सव भन्नेबित्तिकै जटिल फिल्म भन्ने सोचिन्छ तर महोत्सवमा जाने सबै चलचित्र त्यस्तो कठिन हुँदैनन्।'
यसअघि उनले फिल्म ‘नुमानफुङ’ निर्देशन गरेका थिए। जुन सन् २००२ को निकै चर्चित फिल्म थियो।
टिजर कार्यक्रममा उपस्थित भएका गायक राजेशपायल राईले पनि आफ्नो बाल्यकालको याद आएको बताए। उनले गाउँमा गाडी आउँदाको क्षण धुलो उडाउँदै गुडिरहेको गाडीको पछिपछि दौडेको याद आएको सुनाए।
अरूका गीतको संगीतमा ५/१० मिनेटमा सकाउने गरेको बताउँदै यो फिल्मको गीत गाउन आफूलाई ६ घण्टाभन्दा लामो समय लागेको राजेशको दाबी छ। फिल्ममा राई भाषाको गीत गाएका उनले ताइवानकी हाइडी लीले भरेको संगीत लामो समय लगाएर बुझ्न कोसिस गरेको सुनाए।
उनले गीत रेकर्ड गर्दाको अनुभव सुनाउँदै भने,’फिल्मको गीतमा संगीत गर्ने भनिएकाले म भेट्न गएँ। राई लिम्बूजस्तै अनुहार आकार भएकी महिलाले मलाई पर्खिरहेको देखेँ। फिल्मको गीत हो, खासै समय लाग्दैन भन्ने थियो। गीत लय सुनेपछि टारेर हिँडौँजस्तो लाग्ने अप्ठेरो थियो। मेरो जीवनकै सबैभन्दा लामो समय ६ घण्टा लगाएर गीत रेकर्ड गरेको थिएँ।’
वैशाख २४, २०८१ सोमबार १८:१७:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।