चार महिनामा ५००० बढी स्थानमा डढेलो र आगलागी, पानी परेपछि केही मत्थर
काठमाडौं : काठमाडौं उपत्यकासहित देशभरका बन, जंगल र निजी घरमा आगलागीका घटनाले करोडौंको धनजनको क्षति भइरहेको छ। आइतबार मात्रै देशको पाँचवटा जिल्लामा आगलागीका कारण करोडौंको धनमाल जलेर नष्ट भएको तथ्यांक सार्वजनिक भएको छ।
नेपालमा हरेक तीन–चार वर्षको अन्तरालमा डढेलो र आगलागीले उच्च बिन्दु नाघ्ने गरेको छ। पछिल्ला चार महिनामा पाँच हजार बढी स्थानमा डढेलो र आगलागी घटनामा ७६ जना बढीले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको थियो। त्यस्तै, १२ सय ९७ घर जलेको समाचार बाहिरिएको थियो।
नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार आइतबार दिउँसो सल्यान, शारदा नगरपालिका–१० मदनास्थित जुकेनाखोला खरबारीमा लागेको आगो फैलिएर सिद्ध प्राथमिक विद्यालय मदना स्कुलमा समेत आगलागी हुँदा स्कुलभित्र रहेका बेन्च, डेस्क र पुस्तक समेत जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
यसैगरी सल्यान जिल्लाकै कुमाख गाउँपालिका–५ झ्यामबारी गाउँस्थित काफलगेडी सामुदायिक वनमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही स्थानका १ घर र ४ वटा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ। क्षतिको विवरण हाल खुलेको छैन।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–८ सुख्खानगर मिलिगिरी पथस्थित ब्याडमिन्टन हलमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा हलभित्र रहेको पर्दा, लाइट र टिन पूर्ण रूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
त्यस्तै, तेह्रथुमको फेदाप गाउँपालिका–२ गम्बु चोक बस्ने ४२ वर्षीय बिशाल भण्डारीको कच्ची गोठमा आइतबार राति लागेको आगो फैलिएर गोठ नजिकै रहेको घरमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ४३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
सिन्धुलीको कमलामाई नगरपालिका–६ गैरी बजार बस्ने प्रमिला देवी साहको घरमा रहेको भोला फेन्सी स्टोरमा करेन्ट सर्ट भई गएराति आगलागी हुँदा स्टोर पूर्णरूपमा जलेर करिब एक करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
यसैगरी सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिल्स प्रालिको कम्पाउन्डभित्र राखिएको उखुको शिटी (भुषमा) आइतबार राति आगलागी हुँदा करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
त्यस्तै, सोमबार बिहान दाङको राप्ती गाउँपालिका–१ पखापानीस्थित गंज बहादुर बिष्टको जिआर फर्निचरमा आगलागी हुँदा काठ चिर्ने मेसिन लगायतका सामान जलेर करिब ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
यद्यपि, लामो समयपछिको वर्षाका कारण गण्डकी, बागमती र कोशी प्रदेश क्षेत्रको केही ठाउँको डढेलो नियन्त्रणमा आएको छ। नासाको मोडिज भूउपग्रहको तथ्यांक हेर्दा पूर्वी र मध्य नेपालसँगै पश्चिममा गण्डकी क्षेत्रको डढेलो थोरै घटेको छ। तर, पश्चिममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको डढेलो भने कायमै छ।
वैशाख २४, २०८१ सोमबार १४:५३:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।