नेतृ चिनीहिराको प्रसव पीडा र खुसी : आठ दिन व्यथा लागेपछि पहिलो सन्तान जन्माएँ, १४ वर्ष माइती छिर्ने आँटै आएन
![नेतृ चिनीहिराको प्रसव पीडा र खुसी : आठ दिन व्यथा लागेपछि पहिलो सन्तान जन्माएँ, १४ वर्ष माइती छिर्ने आँटै आएन](https://ukeraa.prixacdn.net/media/albums/Prasab-Pida_v6eftCeAdf.png )
नेपाली कांग्रेसकी नेतृ चिनीहिरा शाक्य रञ्जित पछिल्लो समय राजनीतिमा सक्रिय छैनन्। बुढ्यौलीसँगै बढेको शारीरिक अशक्तताका कारण उनी घरमै दिनभर आराम गरेर बस्छिन्।
जीवनको ३४ वर्ष शिक्षण पेशामा समर्पित गरेकी उनी नेपाल विद्यार्थी संघको संस्थापक सदस्य समेत हुन्। राजनीतिमा महिलाको सहभागिता निकै कम भएको समयमानै उनी नेपाल विद्यार्थी संघमा सक्रिय भइन्।
काठमाडौंको नेवार परिवारमा हुर्किएकी उनलाई पढाइमा कुनै समस्या भएन। आइएससी(+१२) मा पढाई गरेकी उनी लगायत उनको साथीहरुले त्यसबेला एसएलसीमा धेरै जना फेल हुने गरेको थाहा पाइन्।
कारण बुझ्दै जाँदा उनीहरूले विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न नदिनको लागि परीक्षामा कडा गर्ने गरेको निष्कर्ष निकाले र तीनै विद्यार्थीहरू एकजुट गराएर संघ खोले। जसमा उनीसँगै मिरा आचार्य र दुर्गा आचार्य गरी जम्मा तीन जना महिलाको मात्र सहभागिता थियो।
पुरुषहरूमा शेर बहादुर देउवा, अर्जुन नरसिंह केसी, रामचन्द्र पौडेल लगायतका उनका सहकर्मीहरू थिए। पञ्चायतकालमा राजाविरोधी काम गर्न पाइँदैनथ्यो। त्यै भएर उनीहरूले विभिन्न ठाउँमा विद्यार्थीहरू भेला गरेर, विधायकहरू बनाएर गोप्य रूपमा अति विश्वासको पात्र माझ नेविसंघको स्थापना गरे।
कृष्ण प्रसाद भटराईको उपस्थितिमा त्यसको उद्घाटन समेत भयो। उद्घाटनकै समयमा धेरै विद्यार्थीहरू पक्राउ परे। तर ‘महिला राजनीतिमा हुन नसक्ने’ भन्दै संलग्न भएका उनीहरू भने पक्राउ पर्नबाट बचे।
नेविसंघकै कार्यकर्ता हुँदा उनको आफ्नो सहकर्मीसँग प्रेम बस्यो। नेवार भित्रकै अन्तर्जातीय विवाह गर्दा पनि आफूले चुकाउनुपर्ने मूल्यबारे उनी अनभिज्ञ थिइनन्।
आईएससीको पढाइ सकिएलगत्तै उनीहरू विवाह गरेर मकवानपुर गए। माइती पक्षसँग उनको १४ वर्षसम्म बोलचाल भएन। पछि भाइको बिहे हुँदा उनलाई बोलाइयो। उनी पहिलोपटक माइत आइन्। त्यसबेलासम्म उनको चार सन्तान भइसकेको थियो। चिनीहिराले आफ्नो प्रसव पीडा र त्यसपछि अनुभव उकेरासँग यसरी साटेकी छन्।
०००
बच्चाहरूलाई धेरै दु:ख गरेर हुर्काएँ पनि सासुआमा हुनुभएको कारण सहज महसुस गरेँ। आफैँ पनि शिक्षक भएको कारण पढाइको मामिलामा मैले सबै सन्तानलाई राम्रोसँग पढाउन सकेँ। आमा शिक्षित भए सन्तान पनि शिक्षित हुन्छन् भन्नेमा कुनै शंका छैन। मैले पनि मेरो चारैजना सन्तानलाई पढाउन धेरै मिहिनेत गरिराख्न परेन।
सानैदेखि राजनीतिक माहोलले मलाई पछिसम्म छोडेन। नेवारसँगै बिहे गरेको भए पनि अन्तर्जातीय विवाह गर्दा मैले र म सँग जोडिने सबैले के-के भोग्नुपर्छ भन्ने मलाई पहिले नै थाहा थियो। त्यो समयम कति गाह्रो भयो भन्नेबारे म अहिले वर्णन पनि गर्न सक्दिनँ।
त्यहि भएर एक हिसाबले भइपरिआउने हरेक कुराप्रति एक हिसाबले सचेत थिएँ। बिहेपछि म र श्रीमान मकवानपुर गयौं। मेरो प्रेम विवाह राम बनवास गएको जत्ति नै १४ वर्ष लामो भयो।
मकवानपुरमा भएसम्म राजनीतिमा सक्रिय पनि हुन पाइनँ। त्यहाँ शिक्षकको खाँचो रहेछ, मैले तुरुन्तै एउटा विद्यालयमा पढाउने काम पाइहालेँ। बिहे गरेको अर्को वर्ष त मैले पहिलो सन्तानलाई जन्म पनि दिएँ। पहिलो सन्तान भनेपछि अर्कै खालको अनुभूति हुने रहेछ। सबै थोक नयाँ। आफैँलाई पनि के होला, कसो होला भनेर जिज्ञासा हुने रहेछ। मैले त्यसबेला धेरै गाह्रो महसुस गरेँ।
आठ दिन त मलाई प्रसव व्यथा नै लाग्यो। गाउँमा भए पनि नजिकै हेल्थ पोस्टहरू भएको कारण गर्भवतीको समयमा चाहिँ अफ्ठ्यारो भएन। हेल्थ पोस्टको सिस्टरहरू आइरहनुहुन्थ्यो, म पनि भ्याएको बेला गइरहन्थेँ। त्यसबेला खै के भएर हो, हातदेखि लिएर अनुहार सम्म सुन्निन थाल्यो। औषधिको असर हो कि जस्तो लाग्छ।
त्यस बाहेक पछि गर्भवती हुँदा त्यस्तो भएन। मैले पहिलो सन्तान अस्पतालमै जन्माएँ। दोश्रो र तेश्रो चाहिँ घरमै जन्मियो। अनि चौथोको समयमा त काठमाडौं आइसकेको भएर अस्पतालमै भयो।
अस्पतालमा जन्माउने भनेपछि ढुक्क भएको थिएँ। त्यहाँ डाक्टर, नर्स सबै हुने भएकाले राम्रो हुन्छ भनेर मनोबल बढेको थियो। तर घरमा जन्माउने बेलामा चाहिँ त्यो मनोबल नै जुटाउन गाह्रो भयो। राम्रो होला कि नहोला भन्ठानेर। केहि भइहाल्यो भने के गर्ने भन्ने खालको डर थियो। तर घरमा पनि राम्रैसँग भयो।
पहिलो सन्तानलाई जन्म दिने बेलामा आठ दिन व्यथा लाग्दा पनि कसरी सहेर बसेँ होला भनेर सोच्दा अहिले आफैँलाई अचम्म लाग्छ। त्यो आठ दिनसम्म मैले केहि पनि खाइनँ। स्लाइनपानी दिइरहेको थियो। छिन-छिनमा दुख्ने, फेरि गाह्रो भएको जस्तो हुने हुन्थ्यो। त्यस्तो बेलामा त बेकार यति धेरै दु:ख पाउनुपर्यो भन्ने सोच पनि आएको थियो।
बच्चा जन्माएपछि त एकदम हल्का भयो। ती दुखाइहरू सबै बाबुलाई काखमा लिँदा त बिर्सिगए। त्यहि बेला उसलाई स्तनपान पनि गराएँ।
छोरा जन्मियो भनेपछि मान्छेहरूले हामीलाई धेरै बधाई दिए। सासुससुरा पनि असाध्यै खुसी हुनुभएको थियो। मिठाइ किनेर अनि घरमा नै बनाएको तरकारी स्वास्थ्य चौकीभरि बाँडिएको थियो।
त्यसबेला लोकल घ्यू हालेर बनाएको मिठाइ पछिसम्म पनि धेरैले तारिफ गरिराखे। पहिलो देखि चौथो सन्तान जन्माउँदा सम्म सुत्केरी स्याहारका लागि माइती आइनँ। सबै सासुले नै स्याहार गर्नुभो। माइती आउन मन लागे पनि बाआमा जातीयतालाई लिएर कति कट्टर हुनुहुन्थ्यो भन्ने सोचेर म आइनँ।
पहिलो सन्तान भएको तीन वर्षपछि हाम्रो दोस्रो सन्तान भयो। अनि साढे दुई वर्षपछि र फेरी तीन वर्षपछि गरेर लगालग चार सन्तान हुन पुग्यो। ठूलो र कान्छो छोरालाई जन्म दिएँ, अनि बीचमा दुईटी छोरी जन्माएँ। पहिलोमा जति गाह्रो र अप्ठ्यारो दोस्रो, तेस्रो र चौथोमा भएन।
छोरीको समयमा त धेरै समय व्यथा पनि लागेन। अगाडि आठ दिनसम्म व्यथा लागेको बिर्सन सकेको थिइनँ। त्यहिमाथि त्यसबेला उसलाई त घरमै जन्म दिएको हुँ। त्यसबेला डर लागिरहेको भए पनि गाउँमा त प्रायले घाँस, दाउराको भारि बोक्न जाँदा बच्चा समेत जन्माएर पोको पारेर ल्याएको पनि देखेको हो। ती आमाहरूको हेरेर त मलाई त सहज नै भयो नि! नानीहरू जन्मिँदा पनि गाउँलेहरूलाई भोज दिइएको थियो।
कान्छोको समयमा अघिल्लो दिन पाहुना आएको हुँदा उहाँहरूलाई खाना बनाएर, खुवाएर सुतेको थिएँ। राति पेट दुखेको जस्तो भयो । सासुले पनि ‘धेरै दुख्यो क्या हो। महिना त पुगिसक्यो तिम्रो' भन्नुभयो। त्यस पछि झन् धेरै दुख्यो। अनि गाडी मगाएर पाटन अस्पताल गयौँ।
पुल्चोकमा पुग्दै बच्चा निस्किएला जस्तो भएको थियो। अनि सिट समातेर अस्पताल पुगे। लगत्तै जन्मि त हाल्यो। मभन्दा अगाडि सुत्केरी हुन आएका महिलाहरू मैले तुरुन्तै बच्चा जन्माएको देखेर ‘हाम्रो चैँ किन नभएको’ भन्दै रोइरहनु भएको थियो।
सन्तान जन्माउनु र अभिभावक बन्नु भनेको एकदम गजबको अनुभव रहेछ। चारै जना सन्तान राम्रोसँग नर्मल नै भयो। गाउँमा विद्यालयको कार्यक्रमको समयमा पनि मैले प्रसव व्यथा महसुस गरेँ। चारै जनाको समयमा फरक-फरक अनुभूति भए पनि पहिलो सन्तान पाउँदा जति अप्ठ्यारो अरुमा भएन। सामान्यतया वान्ता हुने, खाना मन नलाग्ने त सबैमा भयो। तर, पछि मेरो हातखुट्टाहरु सुन्निएन। जान्नेसुन्ने सासु अनि सुत्केरी स्याहारदिने केही दिदिहरू भएपछि मैले चिन्ता गरिराख्नै परेन।
छोराछोरीलाई सँगै विद्यालय पनि लान्थे। धेरै समय त विद्यार्थीहरूले बोकेर नै समय जान्थ्यो। शिक्षकको कमी हुँदा सुत्केरी अवस्थामै पनि पढाउँन गएँ। काठमाडौं आएपछि पनि दरबार हाइ स्कुलमा पढाउँन पाएँ। यहाँ मैले साइन्स, इकोनोमिक्स र नेपाल भाषा २४ वर्ष पढाएपछि अवकाश पाएँ। चार जना सन्तान अनि आफ्नै कामले गर्दा म ४६ सालको आन्दोलन बाहेक अरु समय राजनीतिमा त्यति धेरै सक्रिय हुन सकिनँ। बरु श्रीमानलाई सपोर्ट गरिराखेँ।
बच्चाहरू जन्माउनु भन्दा हुर्काउनु गाह्रो रहेछ। चार जनालाई सँगै हेर्दा त दिन गएको पनि पत्तो हुँदैनथ्यो। त्यतिखेर बीच-बीचमा श्रीमान जेल परिरहनुहुन्थ्यो। उहाँलाई पनि हेर्नपर्यो। उहाँ कुनै पनि बेला जेल पर्नुहुन्छ भन्ने मलाई थाहा थियो नै! त्यै भएर चारै जना बच्चाहरू समक्ष यो कुरा लुकाइनँ।
उनीहरूलाई मैले अगाडि नै यस्तो यस्तो हुनसक्छ भनेर थाहा दिएको थिएँ। घरमा मैले नयाँ मान्छे आयो भने ढोका नखोल्नु है भन्थे। केटाकेटी न हो हत्तनपत्त झन् उनीहरू ढोका खोल्ने पुग्थे। मैले आफूसँगै मेरा सबै सन्तानलाई मानसिक रूपमा दह्रो बनाएँ।
बच्चाहरू जति हुर्कँदै गयो, त्यति गाह्रो पनि भयो। त्यहि भएर दुई/चार वर्ष त ठूलो छोरा र छोरीलाई होस्टेलमा पनि राखेँ। तर, आमा भएको जस्तो उनीहरूलाई कहाँ हुनु। उनीहरू त बेस्सरी दुब्लाए। आमाको मन न हो। त्यो हेर्न सकिनँ अनि फेरि मैले घर नै ल्याएँ।
अहिले त सबैजना आफ्नो क्षेत्रमा जमिसके। ठूलो छोरोले केएमसीमा पढाउँछन्। छोरी स्ट्याण्डर्ड चार्टर बैंकमा बैंक म्यानेजर छिन्। अर्को प्राइभेट कम्पनीमा काम गर्छिन्। कान्छो पनि अमेरकामा डाक्टर भएर बसिरहेको छ।
छोराछोरी भनेको रुखको हाँगा जस्तै रहेछ। ठूलो हुँदै जाँदा हुर्किँदै जाने। हाँगा फैलिए जसरी उनीहरू फैलिए। तर, पनि सबैको बारेमा त्यति नै चिन्ता भइरहन्छ। आमाको माया सधैँभरी हुन्छ भन्छन् नि!, त्यै भएर भनेको होला। मलाई अझै पनि उनीहरू सानो लाग्छ।
ठूलो छोराले अझै बिहे गरेको छैन। उसको अलि बढी चिता लाग्छ। अरु त नातिनातिना पनि भइसक्यो। मातृत्व भनेको एउटा ठूलो कर्तव्य रहेछ। उनीहरूलाई जन्माएपछि हुर्काउनु र आफ्नो जीवनमा चल्न सिकाउनु रहेछ। उनीहरू खुसी भएको देख्दा आफू एकदम सन्तुष्ट हुन्छु।
वैशाख २४, २०८१ सोमबार १०:१३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।