मासु व्यवसायबाट उदाएका कृष्णले थाले आलुका परिकार उत्पादन, फर्साटिकरमा डेढ अर्ब लगानीमा उद्योग

मासु व्यवसायबाट उदाएका कृष्णले थाले आलुका परिकार उत्पादन, फर्साटिकरमा डेढ अर्ब लगानीमा उद्योग

बुटवल : मासु व्यवसायमा छुट्टै पहिचान बनाएका बुटवलका कृष्ण पौडेलले डेढ अर्बको लगानीमा ‘फस्ट च्वाईस फूड्स प्रालि’ सञ्चालनमा ल्याउने भएका छन्।

रुपन्देहीको शुद्धाधोन स्थित फर्साटिकरमा मासुलाई ब्राण्डिङसहित अन्तर्राष्ट्रिय स्तरमा बिक्री गर्दै आएका पौडेलले नयाँ अर्को ‘विजनेश’को रुपमा ‘फस्ट च्वाईस फूड्स’ सञ्चालनमा ल्याउन लागेका हुन्।

आलुका परिकार उत्पादन गर्ने लक्ष्यसहित सञ्चालनमा आएको उक्त उद्योग नेपालकै पहिलो ठूलो उद्योग हो। मासु व्यवसायमा ‘सुपर क्वालिटी मिट प्रोसेसिङ इन्डस्ट्रिज’ प्रालिबाट कृष्णले एक तहसम्मको सफलता चुमिसकेका छन्। पौडेलका अनुसार ‘फस्ट च्वाईस फूड्स’मा एक अर्ब ५२ करोड रुपैयाँ लगानी भइसकेको छ। 

आलुको मात्र परिकार उत्पादन हुने भएकोले उद्योग आफैले कृषकहरूलाई आलु उत्पादनमा जोडेको छ। पौडेलले उद्योगलाई आवश्यक पर्ने आलु खरिदका लागि किसानहरूसँग सहमति गरिसकेको बताए। बर्दिया देखि झापा सम्मका ३ हजार ५ सय कृषकहरूले उत्पादन गरेको आलु उद्योगमा आउनेछ। पौडेलका अनुसार आगामी बर्ष किसानको संख्या ५ हजार पुग्नेछ।

आलुको वीउ, प्राविधिक सहयोग, मल, किटनासक विषादी सबै उद्योगले नै कृषकहरूलाई प्रदान गरेको छ। 

‘नेपालका होटल तथा रेष्टुरेण्टमा पाइने स्वादिष्ठ आलुका परिकार नेपालका होइनन्, विदेशका हुन्। विदेशबाट आउने आलुका परिकार यो उद्योग सञ्चालन भएसँगै कम आयात हुनेमा हामी ढुक्क छौं,’ उनले भने।

उनले नेपालका साना–ठूला होटल तथा रेष्टुरेण्टमा विदेशी आलुले ओगटेको बजारलाई विश्लेषण गरेरै यो उद्योग सञ्चालनमा ल्याएको बताए। उनका अनुसार नेपालमा विदेशबाट ७ अर्ब रुपैयाँ भन्दा बढिको फ्रेन्च फ्राई आउने गरेको छ। नेपाली बजारमा केही समयअघि सम्म आलुका परिकार कमै मात्रामा बिक्री हुने गरेपनि पछिल्लो समय आलुबाट बन्ने परिकारहरूमा उपभोक्ताको आकर्षण बढेको छ। 

कृष्णले मासुका अलावा फ्रेन्च फ्राई पनि सँगै बजारमा बिक्री गर्ने गर्थे। तर बजारमा फ्रेन्च फ्राईको माग उच्च देखेपछि कृष्ण उद्योग सञ्चालनको मनस्थितिमा पुगेका थिए।

‘हामीले बिक्री गर्दा यसको माग दैनिक जसो बढ्न थाल्यो। अनि यति ठूलो बजारमा हामीले उद्योग सञ्चालन गरे पनि फ्रेन्च फ्राईसँगै आलुबाट बन्ने अन्य परिकार बिक्री गर्न सक्छौ भन्ने लागेर यो आँत गरेका हौँ,’ उनले भने। फस्ट च्वाईस फूड्समा फ्रेन्च फ्राईका अलावा टिक्की, बर्गर, नगेट्स, चिप्स, समोसा, पकौडा लगायत आलुकै करिब दर्जन परिकार उत्पादन हुने उनले बताए।

उद्योगले अहिले परीक्षणको रुपमा आफ्नो उत्पादन सुरू गरिसकेको छ। कृष्णले यो बर्ष बजारको माग र आवश्यकताको आकंलन गरेर मात्र आगामी बर्षमा यसको उत्पादन बढाउँदै लैजाने बताए। परीक्षण सफल भइसकेको र पूर्वाधार पनि सफल भइसकेकाले जेठ मसान्त वा असार दोस्रो सातासम्म उद्योग पूर्ण रुपमा सञ्चालनमा आउने उनको भनाइ छ। 

उद्योगमा प्रत्यक्ष २ सय र अप्रत्यक्ष किसान समेत गरेर ७ हजार बढीले रोजगारी पाउने बताइएको छ। सञ्चालक पौडेलले उद्योगको प्रति घण्टा २ हजार केजी फ्रेन्च फ्राई गर्न सक्ने क्षमता भएपनि सुरुवातमा पूर्ण क्षमतामा भने सञ्चालनमा नल्याउने बताए। सञ्चालनको सुरुवातमा प्रति घण्टा १ हजार देखि १ हजार ५ सय केजी मात्र उत्पादन गर्ने र विस्तारै उद्योगलाई पूर्ण क्षमतामा चलाउने उनको योजना छ।

उद्योगलाई आवश्यक पर्ने आलु किसानबाटै खरिद
नेपालमा आलुको खेती देशका अधिकांश स्थानमा भएपनि पर्याप्त उत्पादन भने छैन। त्यसैले ‘फस्ट च्वाईस फूड्स’ले किसान आफैंलाई उद्योगसँग जोडेको छ। कृष्णका अनुसार हरेक बर्ष उद्योगका लागि आवश्यक पर्ने ४० हजार मेट्रिक टन आलु किसानबाट सिधै खरिद गर्ने गरी प्रक्रिया अघि बढेको छ।

‘हामीसँग अहिले कैलाली देखि गण्डकी प्रदेश सम्मका ३ हजार पाँच सय साथीहरू जोडिएका छन्। आगामी बर्ष यो संख्या ५ हजार पुग्नेछ। सबै आलु कृषकहरूकै उद्योगमा आउनेछ,’ उनले भने।

त्यस्तै, उनले किसानबाट खरिद गरेको आलु भण्डारका लागि भनेर शीत भण्डार समेत निर्माण गरेका छन्। ६ हजार मेट्रिक टन क्षमताको शीत भण्डार फ्रेन्ज फ्राईका लागि र ४ हजार मेट्रिक टन क्षमताको शीत भण्डार आलुको स्टोरका लागि तयार भएको उनको भनाई छ।

मासुबाट उद्योग क्षेत्रमा उदाएका कृष्ण
रुपन्देहीमा मासु र कृष्ण पौडेल ‘पर्याबाची’ जस्तै बनिसकेका छन्। ५१ वर्षीय कृष्ण वि.सं. २०४५ मा एसएलसी दिएर रोजगारीका लागि भारत पसे। सामान्य परिवारमा जन्मिएका पौडेल उच्च शिक्षा पढ्न सकेनन्। भारतमै उनले करिब १० वर्ष मासु क्षेत्रमै काम गरे।

 १० वर्षसम्म भारतमै काम गरेका उनले २०५७ सालमा नेपाल फर्केर केही गर्ने योजना बनाए। १ लाख रुपैयाँ लिएर बुटवल आएका कृष्णले २०५८ चैत १ गतेदेखि सुख्खानगरमा फ्रेस हाउस खोले।

‘गाउँबाट १ लाख लिएर आए पनि कति खर्च भयो, सम्झना छैन’, उनले भने, ‘सटर भाडामा लिएर दुइवटा खसी र १० वटा कुखुरा राखेर फ्रेस हाउस खोलेको थिएँ।’

त्यसपछि उनले २०६२ सालसम्म फ्रेस हाउस चलाए। फ्रेस हाउसबाटै व्यवसायमा हौसिएका कृष्णले नेपालमै पहिलो पटक फुड ट्रक (ट्रकमा नास्ता राख्ने) भित्र्याए।

व्यापार बढ्दै गयो। त्यसपछि उनले २०६६ देखि बुटवलको नयाँगाउँमा सुपर क्वालिटी मिट प्रोसेसिङ इण्डष्ट्रिज प्रालि सञ्चालनमा ल्याए। ९० लाख रुपैयाँको लगानीमा उक्त व्यवसाय स्थापना गरेका पौडेलको लगानी अहिले २५ करोड रूपैयाँभन्दा बढी पुगिसकेको छ। उद्योगमा अहिले १ सय ५० भन्दा बढीले रोजगारी पनि पाइरहेका छन्।

क्वालिटीले दैनिक दुई टन मासुका विभिन्न परिकारहरू बनाउँदै आएको छ। २०७० सालसम्म बुटवलमै मासुजन्य परिकार खपत गरेको क्वालिटीले २०७१ सालपछि राष्ट्रिय रूपमा आफ्नो मार्केट विस्तार गरेको हो। अहिले नेपालका परिचित सुपर मार्केटमा क्वालिटीको प्रोडक्ट बिक्री भइरहेको कृष्णको दाबी छ। 

इण्डष्ट्रिजलाई आवश्यक पर्ने कुखुरा दाङ, चितवन र रूपन्देहीबाटै खरिद गरिँदै आइएको छ। सुपर क्वालिटीजस्तै उनले गर्ने हरेक कार्य सुपर छन्। नयाँगाउँमा १२ कट्ठामा उद्योग र सुख्खानगरमा एउटा घर छ, यो सबै व्यवसायबाटै जोडेको उनको भनाइ छ।

‘उद्योगबाट उत्पादित मासुजन्य परिकारहरूको गुणस्तर कायम राख्न पशु चिकित्सकसमेत हामीले राखेका छौं। कुखुरा, खसी पशु चिकित्सकबाट परीक्षण गरेर मात्र बध गर्ने गर्छौँ,’ उनले भने।

यस कारणले पनि अन्यको तुलनामा सुपर क्वालिटीको उत्पादन उत्कृष्ट बनेको र सबैको रोजाइमा परेको उनको भनाइ छ। 

२३ बैशाख, २०८१, १०:५२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।