प्रियंका चोपडाका पति निकलाई खतरनाक भाइरसको संक्रमण

प्रियंका चोपडाका पति निकलाई खतरनाक भाइरसको संक्रमण

एजेन्सी : अभिनेत्री प्रियंका चोपडाका गायक पति निक जोनस यतिबेला चर्चामा छन्। निक आफ्नो म्यूजिकल कन्सर्टका कारण चर्चामा आउँछन्। तर उनले स्वास्थ्य समस्याका कारण केही कन्सर्ट सारेका छन्।

अमेरिकी गायक निकले आफ्ना फ्यानसमक्ष भिडियो सन्देशमार्फत माफी मागेका छन्। उनले आफूलाई खतरनाक भाइरसको संक्रमण भएको खुलाएका छन्।

उनले आफ्नो इन्स्टाग्राममा एक भिडियो राखेका छन्। जहाँ उनले फ्यानलाई कन्सर्ट सार्नु पर्दा माफी मागेका छन्। भिडियोमा जोनस ब्रदर्सको कन्सर्ट टुर सार्नुपर्ने कारण पनि खुलाएका छन्। उनले आफूलाई इन्फ्लुएन्जा ए भाइरसले समातेको बताएका छन्।

‘मसँग तपाईंहरुलाई सुनाउनुपर्ने एउटा खबर छ, जुन खबर राम्रो छैन। तर बताउन आवश्यक छ। केही दिन अघि मलाई केही अनौठो अनुभव भयो। जब म बिउँझिएँ, मेरो स्वर निस्किएन। त्यो राती म कन्सर्टको लागि अभ्यास गरिरहेको थिएँ। पछिल्लो दुई दिन यता मेरो अवस्था विस्तारै विस्तारै खराब हुँदै गएको छ। म हिजो दिनभरी ओछ्यानै रहें। ज्वरो, शरीरमा दुखाई, गलामा खराबी र धेरै खोकी छ’, भिडियो सन्देशमा निकले भनेका छन्।

निकले अगाडि भनेका छन्, ‘मलाई ठीक हुन आवश्यक छ। मलाई तपाईंहरुलाई निराश बनाउँदा दुःख लागेको छ। तपाईं हामीलाई साथ दिनका लागि धेरै गर्नुहुन्छ। तपाईंहरुमध्ये धेरै शोमा सहभागी हुन यात्रा गरिसक्नुभएको होला। म यो कुरा भन्न चाहन्छु कि म यो कुराबाट दुःखी छु। म चाँडै ठीक हुने कोशिस गर्दैछु।’

उनले आफूलाई इन्फ्लूएन्जा–ए नामक खतरनाक भाइरसले भेटेको उल्लेख गरेका छन्। 

‘हेल्लो साथीहरू, मलाई एन्फ्लूएन्जा–ए को खतरनाक स्ट्रेन भएको छ। जुन चारैतिर फैलिएको छ। म यो समय कुनै पनि कन्सर्टमा गाउन सक्दिनँ। मैले यसका लागि मेक्सिको कन्सर्टको मिति सारेको छु। अब यो शो अगष्टमा हुनेछ,’ भिडियोको क्याप्सनमा निकले भनेका छन्। 

मेक्सिकोको कन्सर्ट पछि जोनस ब्रदर्सको आगामी शो आयरल्याण्डमा हुनेछ। त्यसपछि सेप्टेम्बरमा यूके, अष्ट्रिया, जर्मनी, स्पेन, इटली र स्विट्जरल्याण्डमा निक आफ्ना भाई केविन र जोका साथ प्रस्तुति दिनेछन्।

२३ बैशाख, २०८१, ०९:४६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।