माओवादी संसदीय दल बैठक : बजेटले उत्पीडित र गरिब वर्गलाई ध्यानमा राख्नुपर्ने प्रचण्डको जोड

माओवादी संसदीय दल बैठक : बजेटले उत्पीडित र गरिब वर्गलाई ध्यानमा राख्नुपर्ने प्रचण्डको जोड

काठमाडौं : माओवादी केन्द्रको संसदीय दलको १० औं पूर्ण बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट निर्माणका विषयमा छलफल गरेको छ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकमा आगामी बजेट केन्द्रित छलफल भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए। 

बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको अनुभवसमेत लिएर आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र नीति तथा कार्यक्रमलाई टेकेर कसरी बजेट निर्माण गर्ने भन्ने विषयमा बैठकमा छलफल भयो। बैठकमा दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कसरी अगाडि बढ्छ भन्ने विषयमा चासो राख्दै दलका मन्त्रीहरूलाई निर्देशन दिनुभयो।’

प्रधानमन्त्री दाहालले अर्थमन्त्री वर्षमान पुनसँग छलफल गरी सबै दल र मन्त्रीहरूका सुझावका आधारमा बजेट निर्माणमा केन्द्रित हुन दलका सदस्यहरूलाई निर्देशन दिएको सचेतक पाण्डेले बताए। 

उनले भने, ‘प्रधानमन्त्रीज्यूले बैठकमा अर्थमन्त्रीलगायत सबै मन्त्रीहरूसँग बसेर हाम्रो दलका तर्फबाट प्रतिनिधित्व गर्नु हुने माननीय मन्त्रीज्यूहरू  र हाम्रो दलका सबै सदस्यसँग मिलेर सुझाव लिन निर्देशन गर्नुभयो। विगतका नीति तथा कार्यक्रम र बजेटबाट पाठ सिकेर नयाँ आर्थिक वर्षको बजेटमाथि कसरी काम गर्ने भन्ने विषयमा नै मुख्य गरि प्रधानमन्त्रीको जोड थियो।’

बजेटमा विशेषगरी उत्पीडित र गरिब वर्गलाई ध्यानमा राख्दै सुशासन, समृद्धि र सामाजिक न्यायका आधारमा बजेट निर्माणमा प्रधानमन्त्री दाहालले जोड दिएको उनको भनाइ छ।  

२२ बैशाख, २०८१, २०:१३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।