चिकित्सक डा. शारदाको उपचार अनुभव : पैसाको अभावले क्यान्सरको उपचार नै नगरी महिला अस्पतालबाट भागेपछि...

चिकित्सक डा. शारदाको उपचार अनुभव : पैसाको अभावले क्यान्सरको उपचार नै नगरी महिला अस्पतालबाट भागेपछि...

काठमाडौं : डा. शारदा खड्का ‘स्तन तथा गलग्रन्थी (ब्रेष्ट एण्ड इन्डोक्राइन)’ शल्य चिकित्सक हुन्। उनले ‘ब्रेष्ट एण्ड इन्डोक्राइन’सँग सम्बन्धित सर्जरी गर्ने विषयमा विशिष्टिकृत तहको ‘एमसीएच’ अध्ययन गरेकी छिन्। विशेषगरी महिलाको स्तन क्यान्सरसँग सम्बन्धित विषयमा नै केन्द्रित भएर उनी काम गर्छिन्। 

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. शारदा महिलाको स्तन क्यान्सरसँग सम्बन्धित समस्या बिरामीको औषधि उपचारमा नै केन्द्रित हुन्छिन्। उनले विशेषगरी स्तनको क्यान्सर भएका महिलाको दुःख र पिडा नजिकबाट नियालेकी छन्। उनै डा. खड्काले उकेरासँग चिकित्सकीय पेशाका शिलशिलामा देखे भोगेका अनुभव साटेकी छिन् : 

000

बिरामी आमैकी बुहारीले राम्रो उपचार नगरेको भन्दै सिनियरलाई पोल सुनाएपछि...
राम्रोसँग औषधि उपचार नगरेको भन्दै बिरामीका आफन्तले सिनियर चिकित्सकलाई पोल लगाइदिएको प्रसंग डा. शारदा कहिल्यै भुल्दिनन्। 

प्रसंग करिब नौ वर्षअघिको हो। त्यो बेला डा. शारदा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको जनरल सर्जरी (मास्टर्स इन् सर्जरी/एमएस) विषयमा अध्ययन गरिरहेकी थिइन्। 

करिब ६५ वर्ष नाघेकी आमैको खुट्टामा घाउ भएको रहेछ। घाउ पाकेको  थियो।

ती आमैलाई मधुमेह (डाइबेटिज)को समस्या भएकाले खुट्टामा लागेको घाउ निको हुन मुस्किल परिरहेको थियो। डा. शारदाले ती बिरामी आमैको खुट्टाको घाउको ड्रेसिङ गरिदिएकी थिइन्। 

अध्ययनरत (रेजिडेन्ट) चिकित्सकलाई कामको चाप भइनै हाल्छ। त्यसैले धेरै बिरामीको औषधि उपचार गर्नुपर्दा बिरामी तथा बिरामीका आफन्तसँग पर्याप्त कुराकानी नहुने जोखिम हुन्छ नै। सायद उनको पनि त्यस्तै भएछ क्यारे! ती बिरामी आमैको उपचारमा धेरैबेर कुराकानी गर्न समय मिलेनछ। 
 
ती बिरामी आमैकी आफन्तलाई केही कुरामा चित्त बुझेनछ। त्यसैले ती बिरामीकी बुहारीले त उनका सिनियर चिकित्सकलाई डा. शारदाले राम्रो औषधि उपचार नगरेको भन्दै गुनासो  सहित पोल लगाइदिएछन्। बिरामीका आफन्तले पोल सुनाइदिएपछि डा. शारदाका सिनियरले उनलाई बोलाएर गाली नै गरेछन्। 

सिनियरले गाली गर्दै डा. शारदालाई भनेछन्, ‘तिमीले हिजो राम्ररी बिरामी हेरेनछौ, ती बिरामीलाई अब तिमीले नै रोग निको पारेर घर पठाउनु।’

बिरामीका आफन्तले त्यसरी सिनियर चिकित्सकलाई पोल सुनाउँदा उनको मन दुख्यो। तर, उनले चिकित्सकीय धर्म निभाउनु छँदैथियो। त्यसैले आफूले अघिल्लो दिन घाउको ड्रेसिङ गरिएका बिरामीलाई उनी हेर्न पुगिन्। सिनियरले भनेपछि अब ती बिरामीको आफैंले औषधि उपचार गर्नुपर्ने जिम्मेवारी भयो। त्यसैले डा. शारदाले दैनिक रुपमा विशेष प्राथमिकता दिएर ती बिरामी आमैको औषधि उपचार गरिन्। 

ती बिरामीको समस्या ठिक हुँदै गयो। सासुको समस्या ठिक हुँदा ती बुहारी खुसी भइन् नै। 

करिब दश दिनको औषधि उपचारपछि ती बिरामी आमै अस्पतालबाट  डिस्चार्ज भइन्। ती आमैकी बुहारीलाई पनि गल्तीको महसुस भएछ। अस्पतालबाट डिस्चार्ज हुनेक्रममा ती बुहारीले डा. शारदालाई कृतज्ञहुँदै भनिछन्, ‘डाक्टरसाप माफ गर्नु होला है। मैले त्यस्तो भन्नु हुँदैनथ्यो। गल्ती भयो। तपाईँ यस्तो असल हुनुहुँदो रहेछ।’ 

ती आमै पछिसम्म पनि फलोअपमा डा. शारदाकहाँ पुग्थिन्। तर, केही समय अघि ती आमैका आफन्तलाई डा. शारदाले भेटेकी थिइन्। आफन्तलाई आमैको हालखबर सोध्दा आमै बितिसकेको बताएको जानकारी दिएको उनले सुनाइन्। त्यसरी विशेष प्राथमिकता दिएर आफूले औषधि उपचार गरिएकी बिरामी आमैको मृत्यु भएको खबर सुन्दा डा. शारदाको मन खिन्न भयो। 

पैसाको अभावले क्यान्सरको उपचार नै नगरी ती महिला अस्पतालबाट भागेपछि...
त्यसो त कतिपय महिलाको भने आर्थिक अवस्था कमजोर भएकै कारण समेत क्यान्सर भएर पनि रोग पालेर बस्नुपर्ने बाध्यता रहेको डा. शारदाले अनुभव गरेकी छिन्। उनले यस्तै एउटा घटना सुनाइन्। 

गत पुसमा एक जना करिब ५० वर्षकी महिला स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकी थिइन्। डा. शारदाले ती महिलाको स्वास्थ्य परीक्षण गरिन्। महिलाको स्तनमा क्यान्सरको  क्षण देखिएको थियो। तर, ती महिलाको आर्थिक अवस्था अत्यन्तै कमजोर देखिएको थियो। उनले आर्थिक अभावकै कारण अस्पतालमा धाएर औषधि उपचार गर्न नसक्ने देखेपछि डा. शारदाले ती महिलालाई अस्पताल भर्ना गरेर औषधि उपचार गर्ने योजना बनाइन्। 

भर्ना गरेर औषधि उपचार गर्ने योजना अनुरुप ती महिलालाई उपचारका लागि अस्पतालमा भर्नाको प्रक्रिया अगाडि बढाइदिइन्। तर, ती महिला त अस्पतालमा भर्ना गरेर औषधि उपचार गर्नुको सट्टा घरतिर पो गइछन्।

त्यसबीचमा ती महिलालाई क्यान्सरको समस्याले च्याप्दै गएछ। त्यसैले ती महिला पुन गत चैतको अन्तिममा अस्पताल पुगिन्। उनको दायाँतर्फको स्तनमा भएको क्यान्सर फैलिँदै गइरहेको थियो। तुरुन्तै औषधि उपचार गर्नुपर्ने अवस्था थियो। त्यसैले चैतमा भने डा. शारदाले ती महिलालाई भर्ना गरिदिएर उपचार प्रक्रिया थालिन्। बायोप्सि गरी परीक्षण गरिन्। 

ती महिलाको छोरालाई पनि फोन गरेर डा. शारदाले  क्यान्सरको  उपचार सुविधाका लागि कागजात बनाएर अस्पतालमा ल्याउन अनुरोध गरिन्। तर, अस्पतालमा नै भर्ना भएर उपचार प्रक्रिया थालिएकी ती महिला फेरि अस्पतालबाट भागेर घर हिँडिछन्। 

अस्पतालबाट भागेको  करिब एक हप्तापछि ती स्तनमा क्यान्सरको समस्या भएकी महिला फेरि तेस्रोपटक अस्पताल पुगिन्। तेस्रो पटकमा भने गाउँबाट कसैले ती महिलालाई उपचारका लागि धरान पुर्याएका थिए। अहिले भने ती महिलाको अस्पताल भर्ना गरेर क्यान्सरको उपचार भइरहेको डा. शारदाले जानकारी दिइन्। 

यसरी आर्थिक अवस्था कमजोर भएका बिरामीलाई चिकित्सकको टिमले निक्कै मेहनत गरेपछि मात्रै उपचार प्रक्रिया थाल्न सम्भव हुने गरेको समेत उनले अनुभव सुनाइन्। 

अपजसे पेशा, धन्यवाद दिँदा आनन्द
मान्छेको मनै त हो, बिरामीलाई बचाउन सम्भव नहुँदा डा. शारदालाई पनि दुःख नलाग्ने कुरै भएन। विशेषगरी चिकित्सकीय पेसाको सुरुवातीका दिनहरूमा औषधि उपचार गरी अथक प्रयास गर्दा पनि बिरामीलाई बचाउन नसक्दा उनलाई अझै धेरै दुःख लाग्थ्यो। 

कहिलेकाहीँ त चिकित्सकीय पेशा नै अपजसे पेशा जस्तो लाग्छ उनलाई। किनकी औषधि उपचार गरेका सबै बिरामीको रोग ठिक नहुन पनि सक्छ। तर, औषधि उपचारपछि बिरामी ठिक भएर अस्पतालबाट डिस्चार्ज हुनेक्रममा बिरामी र बिरामीको आफन्तको अनुहार उज्यालो भएको  देख्दा डा. शारदालाई आनन्द लाग्छ। 

कोही कोही बिरामी ठिक भएर अस्पतालबाट डिस्चार्ज हुँदा चिकित्सकलाई कृतज्ञ हुँदै धन्यवाद दिन्छन्। बिरामी ठिक भएर डिस्चार्ज हुँदा डा. शारदालाई पनि निक्कै खुसी र आनन्द लाग्छ। 

'आमा, दिदी, फुपू र काकालाई क्यान्सर भए सजग रहौँ'
डा. शारदा विशेषगरी महिलाको स्तन क्यान्सरको विषयमा जनचेतना जगाउने काममा समेत सक्रिय हुन्छिन्। विभिन्न स्वास्थ्य शिविरमा गएर  स्तन क्यान्सर सम्बन्धी रोगको पहिचान गर्नुका साथै औषधि उपचार र जनचेतनामूलक कार्यक्रममा उनी सक्रिय हुन्छिन्। क्यान्सरको समस्या भएका कतिपय महिलाले भने आफूलाई भएको रोग लुकाएर बस्नुपर्ने वाध्यतामा समेत रहने गरेको उनले सुनाइन्। 

कतिपय महिला भने स्वास्थ्य परीक्षण गरेर क्यान्सर नदेखिएको अवस्थामा समेत चित्त नबुझाई ‘क्यान्सर छ की?’ भन्ने शंका गरिरहने प्रवृत्ति देखिने गरेको उनले सुनाइन्। 

त्यसो त आफूमा स्तन क्यान्सरको लक्षण छ की छैन भनेर सामान्य उपाय अपनाएर पनि पत्ता लगाउन सकिने डा. शारदाले सुनाइन्। सामान्यतया २० वर्षभन्दा माथिका महिलाले महिनामा एक पटक यस्तो जाँच आफैंले गर्नु उचित हुने उनको सुझाव छ। क्यान्सरको शंका लागे अस्पताल पुगेर स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ। 

डा. शारदा सामान्यतया २५ देखि ३० वर्षको उमेर समूहका महिलाले २/३ वर्षमा एक पटक क्यान्सरको जोखिमबाट बच्न स्वास्थ्य परीक्षण गराउनुपर्ने सुझाव दिन्छिन्। 

विशेषगरी ४० वर्षको उमेर नाघेका महिलाले वर्षमा एक पटक विशेषज्ञ चिकित्सककहाँ गई स्तनमा क्यान्सर भए नभएको बारे एकिन गर्न परीक्षण गराउनुपर्ने डा. शारदाको सुझाव छ। ४० वर्ष नाघेका महिलाले वर्षमा एक पटक अल्ट्रासाउन्ड र मेमोग्राफी गर्नु उचित हुने उनले सुनाइन्। 

तर, आमा, दिदी, फुपू र काका जस्ता परिवार तथा नातामध्ये कसैलाई स्तन, अण्डाशय (ओभरी) र पुरुष प्रजनन् अंग (प्रोष्टेट) क्यान्सर भएको छ भने त्यस्तो परिवारका महिलाले १८ वर्षको उमेरदेखि नै विशेषज्ञ चिकित्सककहाँ गएर स्तन र अण्डाशय  क्यान्सरको परीक्षण गराउनुपर्ने डा. शारदाको सुझाव छ। त्यसैगरी परिवारका सदस्यमा स्तन क्यान्सर भएको छ भने त्यस्ता परिवारका महिलाले चिकित्सकको सल्लाह अनुसार २५ वर्षको उमेरदेखि एमआरआई र ३० वर्षको  उमेरदेखि नै मेमोग्राम जस्ता परीक्षण गर्नुपर्ने उनले बनाइन्। 

जन्म तेह्रथुम, रहर शल्य चिकित्सक बन्ने 
शारदा तेह्रथुमको साबिक जलजले गाविसमा जन्मिएकी हुन्। उनले कक्षा आठसम्म स्थानीय दीपज्योति स्कुलमा पढिन्। नौ कक्षामा भने श्री सिंहबाहिनी माविमा भर्ना भइन्। त्यहीँबाट उनले २०५८ चैतमा एसएलसी परीक्षा दिइन्। एसएलसीपछि शारदा अध्ययनका लागि काठमाडौं आइन्। ललितपुरको हातिबनस्थित लिटिल एन्जस कलेजबाट प्लस टु गरिन्। 

शारदालाई डाक्टर बन्ने खुब रहर थियो। त्यसैले उनले प्लस टु अध्ययनपछि एकवर्ष एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षाको तयारी गरिन्। प्रवेश परीक्षामा छनोट भएर उनी सन् २००५ मा वीपी प्रतिष्ठानमा एमबीबीए अध्ययन गर्न थालिन्। सन् २०११ मा इन्टर्नसिपसहित उनको एमबीबीएस अध्ययन पूरा भयो। 

एमबीबीएस सक्नासाथ उनले प्रतिष्ठानमा नै मेडिकल अधिकृतको करार जागिरे भएर काम गर्न थालिन्। उनले त्यहाँ एकवर्ष एनेस्थेसिया विभागमा काम गरिन्। 

डा. शारदालाई थप अध्ययन गर्नु त छँदैथियो। त्यसैले उनले सन् २०१२ मा स्नातकोत्तर तहको जनरल सर्जरी (मास्टर्स इन् सर्जरी/एमएस) विषयमा अध्ययनका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भइन्। सन् २०१५ मा उनको एमएस अध्ययन पूरा भयो। 

सर्जरी विषयको अध्ययन सकिएपछि डा. शारदाले  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै काम गर्न थालिन्। 

स्तन तथा गलग्रन्थी सर्जरीमा एमसीएच गर्ने पहिलो चिकित्सक
डा. शारदालाई थप विशिष्टिकृत तहको अध्ययन गर्ने भोक मरेकै थिएन। 

त्यसैले उनी सन् २०१८ मा ‘ब्रेष्ट एण्ड इन्डोक्राइन (स्तन तथा गलग्रन्थी)’ सम्बन्धी सर्जरी विषयमा ‘एमसीएच’ अध्ययका लागि भारतको ‘अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्स (एम्स)’ पुगिन्। यो विद्यावारिधी सरह सरहको विशिष्टिकृत तहको अध्ययन हो। जुन अध्ययनलाई आजकाल चिकित्सकीय भाषामा ‘सब–स्पेशलाईजेशन’ भनिन्छ। 

उनको यो अध्ययन तालिम नभई औपचारिक शैक्षिक अध्ययन नै हो। त्यसैले डा. शारदालाई जानकारी भएसम्म ‘ब्रेष्ट एण्ड इन्डोक्राइन (स्तन तथा गलग्रन्थी)’ सर्जरी सम्बन्धी विषयमा एमसीएच गरेर नेपालमा काम गर्ने उनी पहिलो चिकित्सक हुन्। 

सन् २०२१ मा एमसीएच अध्ययन सकेर नेपाल फर्किएपछि डा. शारदा वीपी प्रतिष्ठानमा नै निरन्तर काम गरिरहेकी छन्। उनले यो प्रतिष्ठानमा विरामी तथा बिरामीका आफन्त लगायतसँग साक्षात्कार गरेको करिब १८ वसन्त बितिसकेको छ। यो बीचमा उनी र उनको टिमले उपचार गरेका हजारौं बिरामीको ज्यान बाँचेको छ। 

प्रतिष्ठानमा सहायक (एसिस्टेण्ट प्रोफेसर) को रुपमा सर्जरी विभागमा उनी कार्यरत छिन्।
 
विशेषगरी महिलाको स्तनको क्यान्सरसँग सम्बन्धित समस्याको आवश्यकता अनुसार औषधि, उपचार र शल्यक्रिया गरी समस्या  ठिक बनाउनु ‘स्तन तथा गलग्रन्थी’ शल्य चिकित्सक डा. शारदाको दैनिकी हो। गलग्रन्थी (थाइरोइड) सम्बन्धी क्यान्सरको  समस्या भएका बिरामीको समेत औषधि, उपचार र शल्यक्रिया गरी समस्या  ठिक बनाउनु उनको काम हो। धरानमा यस किसिमको विशिष्टिकृत तहको चिकित्सकीय सेवा दिन पाएकोमा उनलाई निक्कै आनन्द लाग्छ। 

वैशाख २२, २०८१ शनिबार २२:२७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।