काठमाडौं महानगरको सीप मेला : २०८१ जनाको माग, प्रशिक्षण लिनेको संख्या १० हजार बढी

काठमाडौं महानगरको सीप मेला : २०८१ जनाको माग, प्रशिक्षण लिनेको संख्या १० हजार बढी

काठमाडौं : काठमाडौं महानगरपालिकाले काठमाडौंको टुँडिखेलमा सीप मेला संचालन गरिरहेको छ। ‘सीप मेला २०८१’ मा हाल १० क्षेत्रका २९ पेसासँग सम्बन्धित तालिमहरू चलिरहेका छन्। हरेक दिन बिहान ८ बजेदेखि कक्षाहरू भइरहेको महानगरले जनाएको छ। 

तालिम सञ्चालनसँगै अहिले आवेदकहरूको समूह विभाजन र कागजमा फाराम भर्नेहरूको विवरण कम्प्युटरमा प्रविष्टि गराउने काम भइरहेको छ। 

तालिमका लागि २ हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित अनलाइन आवेदन माग गरिएको थियो। अनलाइनबाट फाराम भर्न कठिन हुनेहरूका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो। यससँगै शुभारम्भका दिन टुँडिखेलमा आएका सहभागीहरूको ठूलो संख्याले प्रशिक्षणको अवसरका लागि माग गरेपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो।

लिइएका आवेदनमध्ये अनलाइनबाट करिब पाँच हजार जनाले फाराम भ रेको साथै वडाहरूबाट करिब ३ हजार २ सय जनाको र टुँडिखेलमै आएर कागजमा फाराम भर्नेको संख्या १० हजार बढी रहेको महानगरले जनाएको छ। 

मागलाई व्यवस्थापन गर्न तालिमलाई सीप मेलासँगै महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमसँग आबद्ध गरेर नियमित गरिने योजना बनाइएको सीप मेला निर्देशक समितिका सदस्य सुदिप ढकालले जानकारी दिए। 

ढकालका अनुसार वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सीप मेलामा सहभागी गराइनेछ। उनीहरुलाई वैशाख २८ गते शुक्रबारभित्र तालिम तालिका उपलब्ध गराइने योजना छ। २० गतेपछि फाराम भर्नेहरूको हकमा अर्को व्यवस्था गरिने ढकालले बताए।

२२ बैशाख, २०८१, १६:५०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।