नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं : नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-९ दिपज्योती मार्ग बस्ने दार्चुला व्यास गाउँपालिका-६ हुती घर भएका २९ वर्षीय लोकेन्द्र बडु र टोखा नगरपालिका-९ बस्ने सर्लाही हरिवन नगरपालिका-२ घर भएकी ३७ वर्षीया कान्छीमाया घिसिङ रहेका छन्।

टोखा नगरपालिका-९ स्थित सुर्खेत खाजाघरमा नाबालिकाहरुलाई विभिन्न किसिमको डरत्राश र प्रलोभनमा पारी वेश्यावृतिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले खाजाघर सञ्चालक उनीहरूलाई पक्राउ गरेको हो। साथै पीडित बालिकाको पनि उद्दार गरिएको छ।

नाबालिकालाई नेपालका विभिन्न स्थानबाट वेटर लगायतको काममा लगाउने भनि खाजाघरमा ल्याई विभिन्न किसिमको डरत्रास र प्रलोभन देखाई ग्राहकहरूसँग खाजाघरमा नै रहेको कोठामा र ग्राहकले चाहेमा बाहिरको होटल/गेष्टहाउसहरूमा समेत पठाई वेश्यावृतिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ।

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

२२ बैशाख, २०८१, ०९:१२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।