'सिधा कुरा' प्रकरण : प्रकाशक र सम्पादकको बयान सकियो, अडियो स्रोत तिमिल्सिनालाई आइतबार बोलाइयो

'सिधा कुरा' प्रकरण : प्रकाशक र सम्पादकको बयान सकियो, अडियो स्रोत तिमिल्सिनालाई आइतबार बोलाइयो

काठमाडौं : सिधा कुरा डटकम अनलाइनले प्रकाशन तथा प्रसारण गरेको अडियोसम्बन्धी मुद्दामा कार्यकारी सम्पादक नविन ढुंगानाको बयान सकिएको छ। 

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयाँल र महेश शर्मा पौडेलको इजलासमा ढुंगानाले बयान दिएका हुन्। सर्वोच्चले ढुगानासँग बयान लिएपछि मुद्दा हेर्दाहेर्दैमा राखी आइतबार सुनुवाइ गर्ने भएको छ।

अख्तियारले दायर गरेको स्टिङ अपरेशनको मुद्दा ‘ढिसमिस गराउन’ आयोजित छलफलमा भएको भनिएको कुराकानीको अडियोका स्रोत राजकुमार तिमिल्सिनाको बयान आइतबार हुने भएको छ।

यसअघि बिहीबार नै अनलाइनका प्रकाशक युवराज कँडेलले बयान दिइसकेका छन्।

बयानमा उनले अडियो स्रोत ललितपुर घर भएका राजकुमार तिमिल्सिना रहेको भनेपछि तिमिल्सिनालाई सबुद प्रमाणसहित यही वैशाख २३ गते १० बजे बयानका लागि अदालतमा उपस्थित हुन सर्वोच्चले आदेश दिएको हो। कँडेल र ढुंगानालाई तारेखमा राखिएको छ।

अनलाइनले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो–भिडियोसामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै यही वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेश गरेका थिए। 

उक्त मुद्दामा सर्वोच्चले गत १७ गते  २४ घण्टाभित्र हटाउनू, थप सामग्री प्रसारण नगर्नू भनी आदेश दिएको थियो।  

वैशाख २१, २०८१ शुक्रबार २१:२६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।