छोरीले अन्तर्जातीय विवाह गरिन् : ‘सामाजिक सद्भाव बिगारेको’ भन्दै छिमेकीले परिवारलाई कुटे, सामाजिक बहिष्कार पनि गरे

छोरीले अन्तर्जातीय विवाह गरिन् : ‘सामाजिक सद्भाव बिगारेको’ भन्दै छिमेकीले परिवारलाई कुटे, सामाजिक बहिष्कार पनि गरे

काठमाडौं : धनुषामा छोरीको अन्तर्जातीय विवाह गराएको भन्दै स्थानीयहरूले एक परिवारमाथि कुटपिट गरेका छन्। 

गत मंगलबार धनुषाको मिथिला बिहारी नगरपालिका–१० बस्ने ९० वर्षीय मुर्ली झा र उनकी श्रीमती कलादेवी झालाई स्थानीयहरूले कुटपिट गरेका हुन्।

स्थानीयका अनुसार छिमेकीहरूले ‘तिमीहरूले अन्तर्जातीय विवाह गराएर सामाजिक सद्भाव बिगारेको’ भन्दै कुटपिट गरेका थिए। कुटपिटपछि  पीडितकी बुहारी सरिता झाले जिउ ज्यानको सुरक्षा माग गर्दै स्थानीय ४० वर्षीय धर्मकान्त झा, ४० वर्षीय सरोज झा र २० वर्षीय नरेश झाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएकी छन्। कुटपिटमा संलग्न धर्मकान्त वडा सदस्यसमेत हुन्। 

गत सोमबार सरिताकी २३ वर्षीया छोरी महिमा झाले धनुषाधाम नगरपालिकाका प्रहन्द शिवहरेसँग प्रेम विवाह गरेकी थिइन्। हाल उनीहरू काठमाडौँमा बस्दै आएका छन्। तर, छिमेकीहरूले उनीहरुलाई घरमा बोलाइ विवाह खारेज गर्न दबाब दिँदै ससुरा र सासुलाई कुटपिट गरेको भन्दै प्रहरीमा निवेदन दिएकी छन्।

अन्तर्जातीय विवाहलाई प्रोत्साहन गरेकाले यो कार्य सामाजिक सद्भाव बिगार्ने खालको रहेको भन्दै स्थानीयहरूले सामाजिक बहिष्कारसमेत गरेका छन्।

विवाह गरेकै दिन सोमबार पञ्चैती बसेर छिमेकीहरूले आफूहरूलाई मंगलबार कुटपिट गर्दै बहिष्कार गरेको पीडित छोरी काजल झाले बताइन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले यस घटनाबारे प्रहरीमा उजुरी परेको जानकारी दिए। उनका अनुसार छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ।  

वैशाख २१, २०८१ शुक्रबार १६:२५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।