प्रेस स्वतन्त्रतामाथि नियन्त्रण वा संकुचन हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा संकुचन हुन नदिने प्रतिबद्धता जनाएका छन्।
शुक्रबार नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि स्वनियमन बस्नुपर्ने भन्र्दै कुनै पनि किसिमको नियन्त्रण वा संकुचन हुन नदिइने बताएका हुन्।
‘प्रेस जगतसँग मेरो आग्रह छ, प्रेस स्वतन्त्रताको रक्षा गरौँ र उपभोगको सहज वातावरण पनि बनाऔँ। सँग–सँगै मिथ्या सूचनाको बाढीलाई रोक्ने काम पनि गरौँ,’ उनले भने, ‘असत्य, भ्रामक र मिथ्या सूचनाका कारण नेपाली समाजलाई भ्रमित तुल्याउने, नकारात्मक मानसकिताको विकास गराउने, सामाजिक सद्भाव विथोल्ने वा नेपाली सभ्यता र संस्कृतिमाथि हमला गर्ने किसिमका सामग्रीहरूको प्रकाशन प्रसारणका लागि स्वनियमन प्रणाली विकास गर्न आमसञ्चार माध्यमहरूलाई मेरो आग्रह छ।’
महासंघले प्रेस स्वतन्त्रतालाई प्रमुख सवालका रूपमा लिने गरेको उल्लेख गर्दै उनले राजनीतिक स्वतन्त्रता स्वयं पत्रकारिता क्षेत्रको सहभागितामा समेत प्राप्त भएकाले प्रेस स्वतन्त्रता यसको अनिवार्य पक्ष बन्न पुगेको बताए।
‘कुनै पनि व्यवस्था जनपक्षीय र लोकतान्त्रिक हो वा होइन भनेर मापन गर्ने बलियो आधार त्यो व्यवस्थामा प्रेस स्वतन्त्रता र पत्रकारको अधिकारको सुनिश्चितता छ वा छैन भन्ने पनि हो। हिजोको राजतन्त्रात्मक व्यवस्थामा समाचार लेखेकै कारण पत्रकार जेल जानुपर्ने, मारिनुपर्ने, समाचार सामग्री सेन्सरसीप गराउनुपर्ने तथा सञ्चार साधन अवरुद्ध गरिने अवस्था अन्त्य भएको छ’, उनले थपे।
संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि रहेको बताउँदै उनले अब पत्रकारिता क्षेत्रसमेत सहभागी भएर प्राप्त भएका उपलब्धीको रक्षा गर्दै राज्यमाथि निरन्तर खबरदारी र निगरानी गर्ने मिसन बनाउनु पर्ने धारणा राखे।
वैशाख २१, २०८१ शुक्रबार १३:३९:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।