टर्कीद्वारा इजरायलसँगको व्यापारमा प्रतिबन्ध

टर्कीद्वारा इजरायलसँगको व्यापारमा प्रतिबन्ध

एजेन्सी : टर्कीले इजरायलसँगको व्यापारमा प्रतिबन्ध लगाएको छ।

इजरायललाई गाजामा बढ्दै गएको मानवीय संकटको जिम्मेवार ठहर्याउँदै टर्कीले यस्तो कदम चालेको हो।

टर्कीको व्यापार मन्त्रालयले गाजामा अवरोधविना पर्याप्त सहायता सुनिश्चित नभएसम्म यो निर्णय लागू रहने जनाएको छ।

गत वर्ष दुई देशबीच सात अर्ब डलरको व्यापार भएको थियो।

प्रतिबन्धपछि इजरायलका विदेशमन्त्रीले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानमाथि तानाशाहको जस्तो व्यवहार गरेको आरोप लगाएका छन्।

विदेशमन्त्री काट्जले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यो टर्कीका जनता, व्यापारी र अन्तर्राष्ट्रिय व्यापार सम्झौतालाई बेवास्ता गर्नु हो।’

टर्कीद्वारा जारी विज्ञप्तिमा सबै उत्पादनहरूमाथि प्रतिबन्ध लगाइएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘टर्कीले निलम्बनलाई कडाईका साथ लागू गर्नेछ। इजरायली सरकारले गाजामा कुनै अवरोधविना पर्याप्त सहायता प्रवाह सुनिश्चित नगरेसम्म यो प्रतिबन्ध जारी रहनेछ।’

सन् १९४९ मा टर्की, इजरायललाई मान्यता दिने मुस्लिम बहुल जनसंख्या भएको पहिलो देश बन्यो। तर, पछिल्ला केही दशकमा दुई देशबीचको सम्बन्ध बिग्रँदै गएको छ।

वैशाख २१, २०८१ शुक्रबार ०७:५२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।