सासै फेर्न सकस गराउने काठमाडौंको हावामा के-के छन्?
काठमाडौं : वसन्त ऋतुको मौसम, बिरुवामा पालुवा लाग्ने समय। काठमाडौं वरपरका शिवपुरी अनि फुलचोकीका जङ्गल लालीगुराँसले राताम्मे भएका छन्। तर काठमाडौंको आकाश भने धुम्म छ।
आँखै पिरो हुनु, घाँटी ख्याक्क बन्नु, सास फेर्दा घाँटी पोलेको अनुभव हुनु काठमाडौंवासीका लागि नियमित समस्या भइसक्यो। स्वास्थ्य मन्त्रालयले नै नियमित कामको क्रममा मास्क लगाउन आग्रह गरिसक्यो। काठमाडौंमा प्रदूषण ह्वात्तै बढेर विश्वकै सबैभन्दा प्रदूषित शहरमा सूचीकृत भएको छ।
अहिले देशैभर डढेलो फैलिएको छ। यसले काठमाडौंको वायुको गुणस्तरमा असर परेको अनुमान नभएको हैन। तर विज्ञको मतमा काठमाडौंको वायुको गुणस्तर यति साह्रै खराब अवस्थामा पुग्नुमा डढेलो सहायक कारण हुनसक्छ तर प्रमुख हैन।
वैशाख १४ गते मात्रै वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था एयर क्वालिटी इन्डेक्स (आइक्यु) का अनुसार अहिले काठमाडौंको प्रदूषणको सूचक १ सय ९४ माइक्रोग्राम प्रति घनमिटर छ। यो भनेको प्रदूषित हावाको अति उच्चतम बिन्दु हो।
एक्वुआई ५० माइक्रोग्राम सम्म हुनु राम्रो हो, ५० देखि एक सयसम्मलाई ठिकै मानिन्छ। एक्वुआई १ सय ५० सम्म पुग्नु अस्वस्थकर हुन्छ भने दुई सयसम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई तीन सय पुग्नु भनेको जोखिमपूर्ण अवस्था हो। तीन सयभन्दा माथि जानु घातक हो। यही आधारमा अहिले काठमाडौंमा प्रदूषणको मात्रा दुई सय नजिक अर्थात् अस्वस्थ छ।
२०७९ चैतमा भैँसेपाटीमा गरिएको मापनमा काठमाडौंको हावाको गुणस्तर इन्डेक्स ३ सय २५ माक्रोग्राम प्रति घनमिटर अर्थात् जोखिमपूर्ण मापन गरिएको थियो।
त्रिभुवन विश्वविद्यालय भौतिक शास्त्र केन्द्रीय विभागका प्राध्यापक एवं नेशनल एटमसफेरिक रिसोर्स एन्ड इनभाइरोनमेन्टल रिसर्च लेबरोटरी (नारेल) का प्रमुख डा.रामप्रसाद रेग्मीका अनुसार प्रदूषणको सूचक ४० माइक्रोग्राम प्रति घनमिटर भन्दा माथि जान नहुने हो। तर उपत्यकाको हावामा ५ गुणा बढी प्रदूषण छ। यो भनेको काठमाडौंको हावा जोखिमपूर्ण अवस्थामा पुग्नु हो।
‘काठमाडौंको हावा यति प्रदूषित छ की जोखिमपूर्ण अवस्थामा पुगेको छ। योबारे समयमै सचेत नहुने हो भने भविष्यमा श्वासप्रश्वास सम्बन्ध रोग, फोक्सोको क्यान्सर लाग्ने सम्भावना उच्च हुन्छ,’उनले भने, ‘हामीले के गर्दा कम गराउन सकिन्छ भनेर अनुसन्धान त गरिरहेकै छौँ तर अहिलेसम्म लागू गराउने निकायले काम गर्न सकेको देखिँदैन।’
कचौरा आकारले हावा सहज ओहोरदोहोरमै समस्या
नारेलले गरेको अध्ययन अनुसार सामान्य अवस्थामा दक्षिणकाली बागमती किनारा हुँदै तराईबाट, थानकोट तथा भीमढुङ्गा भन्ज्याङ हुँदै काठमाडौंमा हावा आउँछ।
दक्षिण पश्चिमको धादिङबाट र मुड्खु तथा तीनपिप्ले भन्ज्याङ हुँदै उत्तर पश्चिमको नुवाकोटबाट उपत्यकामा हावा प्रवेश गर्छ। यसरी प्रवेश गरेको हावा साँगा भन्ज्याङ, बनेपाहुँदै उपत्यकाबाट बाहिरिन्छ।
काठमाडौंको आकार कचौराको जस्तो भएकाले काठमाडौंलाई बन्द उपत्यका पनि भनिन्छ। आकारकै कारण यहाँ हावा भित्रिने र बाहिरिने काम निरन्तर हुँदैन। त्यसमाथि हिउँदमा झन् उपत्यकामा वायु प्रदूषणको मात्रा उच्च हुने गर्छ। यसले काठमाडौंको हावा थप प्रदूषित हुन्छ।
उपत्यकाको बनौटका कारण वायुमण्डलमा एटमसफेरिक इन्भर्सन -Atmospheric Inversion_ का कारण यस्तो हुन गएको हो। उपत्यकामा हावाको आवागमन निरन्तर रूपमा नहुने तथा विभिन्न स्थानबाट तातो तथा चिसो हावाको प्रवाह भइरहने हुँदा यस्तो अवस्था देखा परेको हो।
प्राध्यापक रेग्मीका अनुसार हिउँदमा राती चिसो हावा तल आउने र तातो भएर माथि तान्ने क्रम भइरहन्छ । जसकारण तातो हावा र चिसो हावाको एक तह तयार भएर वायुमण्डलमा बिर्को लगाएको जस्तो अवस्था रहन्छ।
काठमाडौंको हावा जमिनमाथि प्रदूषणको एक तह हलचल नभई बस्छ। जब बिहान ८ बज्छ चिसो हावा माथि जान्छ। त्यसपछि मात्रै तल जम्मा भएको प्रदूषणको तह हट्न थाल्छ। कहिलेकाहीँ बढी चिसोको समयमा यस्तो तह लामो समयसम्म रहिरहँदा प्रदूषणको समय पनि लम्बिन्छ।
‘राती आठ बजे देखि बिहान ८ बजेसम्म हावा हलचल गर्न सक्दैन,’डा.प्राध्यापक रेग्मीले भने, ‘प्रदूषित हावा पनि माथि जाने नै भएन। अन्य देशमा २ किलोमिटर माथिसम्म मानव उत्सर्जित प्रदूषण जान सक्छ। हाम्रोमा राती २ सय ५० मिटर मात्रै जान्छ। अनि प्रदूषित त हुने नै भयो।’
हावामा हुन्छ चाहिँ के त?
नारेलको अध्ययन अनुसार उपत्यकामा दैनिक रूपमा औसतमा टीएसपी ( १६१.६ टन ) उत्पादन हुन्छ। यो सन् २०१७ को तथ्याङ्क हो।
महालेखा परीक्षकको कार्यालयले तयार पारेको ‘कार्यमूलक तथा विशेष लेखा परीक्षण प्रतिवेदन २०७७’ मा उल्लेख भए अनुसार टिएसपी भनेको ठुला आकारका कणहरू हुन्। जुन विकास निर्माणका क्रियाकलापहरू सडक, नहर, खानेपानी, भवन निर्माण कार्य सञ्चालन गर्दा, सवारी साधन गुड्दा, मेसिनहरू चलाउँदा हावामा पुग्छन्।
यिनीहरूको मात्रा व्यस्त सडकको वरिपरि बढी हुन्छन्। यसको असर खासगरी कपडाहरू चाँडो फोहोर हुने, झ्याल, ढोका, टेबल, घरको छतमा टाँसिने र फोहोर देखिने, रुख बिरुवाको पातमा टाँसिएर विभिन्न रोगहरू बढाउने र हावामा भिजिबिलिटी (देख्न सक्ने स्थिति) घटाउने हुन्छ।
नाईट्रोजनडाईअक्साइड ४३.३ टन छ। नाइट्रोजनडाईअक्साइड ऊर्जा दहन नै (Combusction Process) यसको मुख्य स्रोत हो। कार, बस, ट्रक, ऊर्जा प्लान्ट, औद्योगिक व्वाइलर आदिमा अक्सिजनसँग खनिज इन्धन बल्दा नाइट्रोजन डाइअक्साइड निष्कासन हुन्छ। यसले पनि श्वासप्रश्वास सम्बन्धी समस्याहरू सिर्जना गर्छ।
अध्ययन अनुसार काठमाडौंमा कार्वनमोनोअक्साइड ८४०.९ टन निष्कासन हुन गरेको छ। खनिज तेलबाट चल्ने सवारीसाधनहरूले बढी मात्रामा कार्वमोनोअक्साइड निष्कासन गर्छन्। यसको साथै आगलागी हुँदा, औद्योगिक उत्पादन प्रक्रियाबाट पनि हावामा यस्ता कणहरू मिसिन्छन्।
यसको मात्रा जाडो मौसममा उच्च हुन्छ। यसको सम्पर्कमा आउँदा मानिसलाई टाउको दुख्ने, रिँगटा लाग्ने, वाकवाक लाग्ने, रगतको अक्सिजन बोक्ने क्षमता घटाउने तथा अत्यधिक सङ्क्रमण भएमा मृत्यु समेत हुन सक्छ।
अर्को हो सल्फरडाइअक्साइड। यो रङ्गहीन ग्याँस हो। खासगरी सल्फरयुक्त इन्धन, कोइला, खनिज तेल, औद्योगिक ब्याइलर, रिफाइनरी आदिबाट यो निष्कासन हुने गर्दछ।
यसले अम्लीय वर्षा गराउने, इकोसिस्टम तथा जैविक विविधतामा असर गर्ने, बिरुवाको क्लोरोफिल नष्ट गरिदिने भएकोले बिरुवाले खाना बनाउन सक्दैन। त्यसैगरी यसबाट मानिसलाई दम, व्रोङकाइटिस जस्ता श्वासप्रश्वास सम्बन्धी रोग समेत लाग्न सक्छ।
काठमाडौं उपत्यकामा मात्रै ११० इट्टाभट्टा
महालेखा परीक्षकको कार्यालयले तयार पारेको ‘कार्यमूलक तथा विशेष लेखा परीक्षण प्रतिवेदन २०७७ अनुसार नेपालमा १ हजारभन्दा बढी विभिन्न प्रकारका इँटा भट्टा सञ्चालनमा छन्। काठमाडौं उपत्यकामामात्र १ सय १२ भट्टा चालू रहेका छन्। जस मध्ये १ सय ७ इट्टाभट्टा वातावरण मैत्री छैनन्।
उपत्यकाका इँटा भट्टाहरू वर्षमा सामान्यतया ६ महिना सञ्चालन हुन्छन्। करिब ६ सय ६० मिलियन इँटा उत्पादन गर्ने भट्टाले करिब ५६ हजार एक सय टन कोइला तथा ३ सय ३० टन अन्य इन्धन खपत गर्छ।
यस्ता भट्टाहरूले इँटा पकाउन प्रयोग गर्ने न्यून गुणस्तरको कोइला, पुराना टायर, प्लास्टिक, पुराना कपडाहरूबाट कार्वनडाइअक्साइड, सल्फरडाइअक्साइड र कालो कार्बन जस्ता प्रदूषकहरूको बढी निष्कासन गर्दछन्।
ईटाभट्टाबाट निस्कने धूवाँमा टीएसपी, पीएम, कार्बनडाइअक्साइड, सल्फरडाइअक्साइड, नाइट्रोजन डाइअक्साइड आदि प्रदूषकहरू निष्कासन गर्छ। कोइलाको बनावट विभिन्न रासायनिक हिस्साहरूले बनेको हुन्छ, जसले बाह्य तापिए प्रतिक्रियाबाट ताप उत्पादन गर्दछ । कोइलाको केही हिस्सा जस्तै खरानीले कुनै ताप उत्पादन गर्दैन तर प्रयोग भएपछि पनि यो भट्टामा रहिरहन्छ।
केही खरानी उड्छ पनि। नजलेको कार्बन समेत धूवाँमा मिसिदा धूवाँको रङ्गसमेत कालो हुन्छ। कम गुणस्तरको कोइलाको प्रयोग हुने ईटाभट्टाले बढी प्रदूषण गराउन्।
ईंटाभट्टाहरूबाट प्रतिवर्ष २,६८० टन टिएसपी, १९४१ टन पिएम ( १० माइक्रोमिटर भन्दा कम व्यास भएका कणहरू) प्रदूषकहरू उपत्यकाको हावामा प्रवेश हुने अनुमान गरिएको छ।
उपत्यकाको वायुप्रदुषणमा विद्यावारिधि गरेका प्राध्यापक डा. रेग्मी काठमाडौं उपत्यकामा मात्रै होइन थानकोट मुनितिर पनि इट्टा भट्टा तथा सिमेन्ट कारखाना राख्न नहुने बताउँछन्। काठमाडौंमा तराइबाट समेत प्रदूषित हावा आउँछ।
‘वायु प्रदूषण भयो भनेर उपत्यकाका एउटा इट्टाभट्टा नौबिसे पुर्याइयो अनि सिमेन्ट कारखाना अन्यत्र सारियो। तर कुनै अनुसन्धानै नगरी। जहाँ सारियो त्यहाँबाट झन् धेरै प्रदूषण आउने रहेछ भनेर हाम्रो अनुसन्धानले खुलायो’ उनले भने।
रेग्मीका अनुसार हेटौँडा सिमेन्ट कारखानाको प्रदूषण अपराह्न ४ बजे उपत्यका छिर्छ। रातभरि यतै रहन्छ अनि बिहानीपख बनेपा हुँदै बाहिर जान्छ। नेरालले ५६ वटा सिमेन्ट कारखानाले निकालेको प्रदूषणबारे अध्ययन गरेको थियो।
‘काठमाडौं उपत्यकाको हावा प्रदूषित हुनुमा सिमेन्ट कारखाना प्रमुख देखिएको छ। सिमेन्ट कारखाना आफूलाई चाहिने जति उत्पादन गरेर अन्य नगरे पनि हुन्छ। किनभने त्यसबाट निस्कने प्रदूषणले क्यान्सर जस्तो प्राणघातक रोग लाग्ने खतरा देखियो’ उनले भने।
५० प्रतिशत भन्दा कम गाडीको वातावरण परीक्षण
केही दिनअघि ललितपुरको ग्वार्कोमा एउटा टेम्पो पल्टियो। त्यो टेम्पोमा यात्रा गरिरहेका एक यात्रु घाइते भए। यातायात व्यवस्था कार्यालयका (साना ठुला) एकान्तकुनाका प्रमुख हरिहर पोखरेलका अनुसार टेम्पो धनीले घाइते यात्रुको उपचारको लागि ऋणधन गरेर १५ लाख तिरे। त्यसपछि पनि यात्रु निको नभएपछि र खर्च गर्न सक्ने अवस्थामा नभएपछि उनी भागे।
यातायात व्यवस्था विभागले टेम्पोको अवस्थाबारे जाँच गर्दा टेम्पोले दर्ता नवीकरण नै गरेको खुल्यो। कारण, टेम्पो २० वर्ष भन्दा अघि नै चल्न थालेको थियो।
पोखरेलका अनुसार २० वर्ष भन्दा बढी सवारी साधन चलेपछि वातावरणको हिसाबले ती सवारी चल्न अयोग्य हुन्छन्। उनका अनुसार काठमाडौंमा दुई पाङ्ग्रे बाहेक ४ लाख सवारीसाधन चल्छन्।
दुई पाङ्ग्रेको दर्ता र नामसारी बेला बाहेक वातावरण परीक्षण अघिपछि गरिँदैन। ठुला सवारीसाधनको ६-६ महिनामा गरिनुपर्ने नियम भए पनि गरिँदैन।
किन त ? पोखरेल भन्छन्, ‘पहिलो त सबै सवारीको वातावरण परीक्षण गर्नु पर्यो भने परीक्षण गर्ने मेसिन र जनशत्ती नै अपुग हुन्छ। अहिलेकै अवस्थामा सबैको वातावरण परीक्षण गर्न सकिँदैन।’
काठमाडौंमा गुड्ने ४ लाख ४ पाङग्रेमध्ये मुस्किलले डेढ लाखको वर्षको एक पटक वातावरण परीक्षण गरिन्छ। तीनकुने, सल्लाघारी भक्तपुर र सानोभर्याङ अनि सवारी परीक्षण कार्यालयबाट गराइन्छ।
पर्याप्त परीक्षण गर्ने मेसिन नभएकाले कुन यातायातका साधनले वातावरणमा असर गरिरहेको छ भन्नेबारे थाहै हुन्न। महालेखाको कार्यमूलक प्रतिवेदन अनुसार यातायात व्यवस्था विभागबाट हरियो स्टिकर दिएका सवारी साधनको वातावरण विभागको अगुवाइमा सम्बद्ध निकायबाट पुनः आकस्मिक परीक्षण गर्दा करिब ४० प्रतिशत असफल देखिनुले प्रदूषण जाँच नगरी हरियो स्टिकर वितरण गरेको उल्लेख छ।
२०७३ मा यातायातले कति वायु प्रदूषण उत्सर्जन गर्छ भन्ने अध्ययन भएपछि अहिलेसम्म वातावरण विभागले अध्ययन गरेको छैन। २०७३ सालमा वाग्मती अञ्चलमामात्र दर्ता भएका सवारी साधनहरूको सङ्ख्या १० लाख ४२ हजार ८ सय ५६ रहेको छ यसबाट।
यातायात क्षेत्रबाट प्रतिवर्ष २० हजार ७२ टन टिएसपी र ६ हजार ९ सय ५३ टन पिएम १० प्रदूषक उपत्यकाको हावामा प्रवेश हुने अनुमान गरिएको थियो। अहिले उपत्यकामा मात्रै १९ लाख २२ हजार ५ सय ७४ सवारीसाधन दर्ता गरिएका छन्। अध्ययन गर्ने हो भने पक्कै पनि प्रदूषणको दर बढेकै हुनसक्ने बताउँछन् प्राध्यापक डा. रेग्मी।
‘हामीले अध्ययन गरेको धेरै नै भयो, त्यसयता सुधार भन्दा झन् धेरै प्रदूषण बढ्ने काम भएको छ, यातायात पनि अति धेरै भएका छन्। प्रदूषण दर बढेकै छ।'
अव्यवस्थित शहरीकरण
काठमाडौं उपत्यका मात्रै होइन नेपालका कुनै पनि शहर वातावरणको हिसाबले बनेका छैनन्। शहरी विकास मन्त्रालयले हालसालै अध्ययन गर्न लागे पनि वातावरणमैत्री शहर बनिसकेको छैन। महालेखाको कार्यमूलक प्रतिवेदन अनुसार भूकम्पपछि काठमाडौं उपत्यकामा आवासीय घर, अपार्टमेन्ट, अन्य भवन, सडक गरी जम्मा १ करोड ४४ लाख ५ हजार वर्ग मिटरमा निर्माण कार्य भइरहेको छ।
निर्माण कार्यमा प्रयोग हुने मेसिन तथा उपकरणले ससाना प्रदूषक निष्कासन गर्छन् भने धुलोका कणहरू पनि ठुलो मात्रामा हावामा मिसिन्छन्। यसबाट प्रतिवर्ष ४० हजार ५ सय ९६ टन टिएसपी, १२ हजार १२१ टन पिएम १० प्रदूषकहरू उपत्यकाको हावामा प्रवेश हुने अनुमान गरिएको छ।
शहरी क्षेत्रमा सघन बस्तीहरूको वरिपरि निर्माण क्रियाकलापहरू सञ्चालन गर्दा कार्य सुरु गरे पनि सडकमा त्यत्तिकै छोडिदिने, मेसिन, उपकरण, ज्यामीको आवश्यकता अनुसार उचित प्रबन्ध मिलाएर कार्य नगर्ने, सम्बद्ध निकायहरूबिच समन्वयनै नहुने, सम्झौता अनुसार म्यादभित्र कार्य सम्पन्न नगर्ने साथै प्रदूषक निष्कासन दरलाई घटाउन उपयुक्त प्रविधि तथा निर्माण पद्धति अवलम्बन गरी नियन्त्रण गर्नेतर्फ आवश्यक ध्यान नदिएको कारण प्रदूषण बढेको उल्लेख छ।
काठमाडौं शहरको पनि सबैभन्दा धेरै प्रदूषण हुने भनेको चक्रपथभित्र अति अनि दक्षिणकालीतिर प्रदूषण कम हुने देखिएको बताउँछन् प्रा डा रेग्मी।
काठमाडौंमा उत्सर्जित वायु प्रदूषण मानवनिर्मित बढी भएकाले नियन्त्रण गर्न सकिने उनको भनाइ छ।
'हाम्रो अनुसन्धानले भारतबाट आउने हावाले कहिलेकहीँ प्रदूषण बढाउने गरेको देखिन्छ,' उनले भने' हावामा प्रदूषण बढेको हाम्रै क्रियाकलापले हो। यसलाई नियन्त्रण गर्न सकिन्छ। तर कसैको चासो देखिएन।’
काठमाडौं उपत्यकाको वायुलाई प्रदूषण गराउने पोहोर मैलाले पनि हो। खुल्ला रूपमा डम्पिङ गरेपछि फोहरलाई छोप्न माटो नराख्ने, उक्त स्थानमा झिँगा, मुसा, लोखर्के, चील, गिद्ध, चौपायाको जाने फोहोरको सही व्यवस्थापन हुन नसकेकाले पनि वायुप्रदुषण बढेको महालेखाको कार्यमूलक प्रतिवेदनले उल्लेख गरेको छ।
कुहिने फोहोरलाई व्यवस्थित गर्नु पर्नेमा अधिकांश खुलै छाडिने हुँदा दुर्गन्ध फैलिएर प्राणघातक रोग लाग्ने सम्भावना बढ्ने प्राध्यापक डा. रेग्मीको भनाइ छ ।
उसो त प्राध्यापक रेग्मीले २०७३ सालमा नै बुझाएको प्रतिवेदनमा घरायसी क्रियाकलापबाट उत्सर्जित प्रदूषणलाई २० प्रतिशतमा, यातायातका क्रियाकलापबाट उत्सर्जित प्रदूषणलाई ३० प्रतिशत र औद्योगिक क्रियाकलापबाट उत्सर्जित प्रदूषणलाई ४० प्रतिशतमा सीमित गर्न पर्ने औँल्याएका थिए।
सो अनुसार कुनै काम भएन। वातावरण विभागले प्रतिवेदन थन्काउने मात्रै काम गर्यो।
वैशाख २०, २०८१ बिहीबार १६:०२:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।