भक्तपुर अस्पतालको ८ करोडको सिटी स्क्यानको खरिदलाई लक्षित गर्दै स्वास्थ्यमन्त्री श्रेष्ठले भने, ‘सामग्री खरिदमा पारदर्शिता होस्’
काठमाडौं : बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री रामेश्वर श्रेष्ठले खरिद गरिने स्वास्थ्य सामग्रीको खरिदमा आर्थिक पारदर्शिता हुनुपर्ने बताएका छन्।
स्वास्थ्य मन्त्री थापाले बुधबार भक्तपुरस्थित भक्तपुर अस्पतालको न्यूनतम् सेवा मापदण्ड कार्यान्वयन सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सामग्री खरिदमा आर्थिक पारदर्शिता अपनाउन निर्देशन दिएका हुन्।
भक्तपुर अस्पतालमा करिब आठ करोड बजेटको सिलिङ रहेको १२८ स्लाइसको सिटी स्क्यान खरिद प्रक्रियामा रहेको छ। उनले प्रष्ट यही सामग्री खरिदका लागि पारदर्शिता अपनाउनुपर्ने नभने पनि घुमाउरो पारामा अस्पतालमा खरिद प्रक्रियामा रहेको सिटी स्क्यान खरिद लगायतलाई संकेत गर्दै पारदर्शिता अपनाउन निर्देशन दिए।
कार्यक्रममा मन्त्री श्रेष्ठले स्पेशिफिकेशन नै लक्ड गरेर सामग्री खरिद गर्ने प्रवृत्ति रहेको संकेत गर्दै भने, ‘घोडा किन्नु पर्यो, घोडाको पुच्छरमा रातो टीका हुनुपर्यो, यो किसिमको प्रवृत्ति विकास भएको छ।’
सिन्धुली अस्पतालमा पनि यही बजेटको सिटी स्क्यान खरिद प्रक्रियामा छ। नुवाकोटको त्रिशूली अस्पतालमा भने निश्चित कम्पनीलाई मात्रै मिल्नेगरी स्पेशिफिकेशन लक्ड गरेर सिटीको टेण्डर दिइसकेको छ।
उनले उकेरासँगको कुराकानीमा भने, 'म एकदम पारदर्शिता गर्छु। यो मेरो कमिटमेन्ट हो।'
त्यसैगरी आवश्यकताको पहिचान नगरी सामग्री खरिद गर्न नहुने उनले बताए।
‘निड एसेस्मेन्ट नगरी सामान किन्छौँ,’ मन्त्री श्रेष्ठले भने।
अस्पतालले सामग्री खरिद गर्दा तेस्रो व्यक्ति (विज्ञ तथा बायोमेडिकल इन्जिनियर)ले मूल्यांकन गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए।
‘थर्ड पार्टीले इभ्यालुयशन गर्नुपर्छ,’ मन्त्री श्रेष्ठले भने, ‘ओपन कम्पिटिशन र प्रोपर इभ्यायुलेशन हुनुपर्छ।’
त्यस्तै, उनले विरामीको सेवामा थप केन्द्रित भएर काम गर्न पनि निर्देशनसमेत दिए।
कार्यक्रममा बोल्दै प्रदेशका स्वास्थ्य सचिव बद्री बहादुर खड्काले अस्पतालले गरेको प्रगतिको प्रशंसा गर्दै थप सुधार गर्नुपर्ने सुझाव दिए।
यता, अस्पतालकी प्रमुख डा. सुमित्रा गौतमले भक्तपुर अस्पतालमा न्यूनतम् सेवा मापदण्डको मूल्यांकनमा अब्बल भएकोमा चिकित्सक तथा स्वास्थ्यकर्मी लगायतको टिमको प्रशंसा गरिन्। विविध चुनौतीका बावजुत अस्पतालले राम्रो सेवा दिइरहेको उनको भनाइ छ।
वैशाख १९, २०८१ बुधबार २०:३१:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।