एकैदिन देशभर १६५ स्थानमा डढेलो : ३ दिनसम्म डढेलो नियन्त्रण हुने किसिमको वर्षा नहुने

एकैदिन देशभर १६५ स्थानमा डढेलो : ३ दिनसम्म डढेलो नियन्त्रण हुने किसिमको वर्षा नहुने

काठमाडौं : देशभर ३९ जिल्लाका १ सय बढी स्थानमा वन डढेलो लागिरहेको छ।

बुधबार मात्रै देशभर १ सय ६५ स्थानमा डढेलो लागिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यता, जल तथा मौसम विज्ञान विभागअन्तर्गत जल तथा मौसम पूर्वानुमान महाशाखाले भने तत्कालका लागि डढेलो नियन्त्रण हुने किसिमको वर्षा नहुने बताएको छ।

महाशाखाका मौसमविद् गोविन्द झाले आगामी तीन दिनसम्म मुलुकको केही स्थानमा छिटपुट मात्रै वर्षाको सम्भावना भए पनि डढेलो नियन्त्रण हुुने गरी पानी नपर्ने जानकारी दिए। 

'आगामी तीन दिनसम्म कोशी, गण्डकी, कर्णालीका केही पहाडी भेगमा आंशिक बदलीसहित छिटपुट वर्षाको सम्भावना रहेको छ', उनले भने, 'तर वन डढेलो नै नियन्त्रण हुने किसिमको पानी पर्ने सम्भावना तत्काल छैन। अन्य भू–भागमा भने मौसम सफा रहनेछ।'

वन डढेलो नियन्त्रणकै कारण ललितपुरमा दुई जनाले ज्यान गुमाइसकेका छन्। गोदावरी नगरपालिका–४ बडीखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा शङ्कर पहारी र रमेश पहारीको आज बिहान मृत्यु भएको हो।

प्राधिकरणका डढेलो विज्ञ सुन्दर शर्माले लामो समयसम्म पानी नपरेको र सुक्खा भएका कारण वन डढेलो नियन्त्रणमा आउन गाह्रो भइरहेको बताए। 

उनका अनुसार डढेलोबाट सल्यान, सुर्खेत, कैलाली, दैलेख, डोटीलगायतका जिल्ला प्रभावित भएका छन्। वन डढेलोका कारण ज्यान र मानवीय बस्ती नै कसरी बचाउने भन्ने चिन्ता भएको उनको भनाइ छ। शर्माले वन डढेलोका कारण बर्सेनि ८० घर जल्ने गरेको जानकारी दिएका छन्।

उनका अनुसार नेपालमा साधारणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलोको घटना हुन्छन्। 

'८० प्रतिशत वन डढेलोको घटना फागुनको मध्यदेखि जेठको मध्यसम्म चार महिनामा हुने गर्छ। चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटना हुने गर्छ। यस कारण अहिले हामी उच्च जोखिमको समयमा छौँ', शर्माले भने,'मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलोको घटना हुने भएकाले यो समयमा एकदमै सतर्क भएर बस्नुपर्ने अवस्था छ। वैशाखको दोस्रो साता एकदमै डढेलो लाग्ने गर्छ।'

चुरोट सल्काएर सलाइको काँटी तथा चुरोटको ठुटा जङ्गलमा फाल्ने, जङ्गलमा घाँस पलाउने भन्दै जाना जान लगाउनेजस्ता मानवीय गतिविधिका कारण जङ्गलमा आगो लाग्ने गरेकाले  सिसी क्यामरा जडान गरेर डढेलो लगाउनेलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउन पनि वनविद्हरुको सुझाव छ। 

वैशाख १९, २०८१ बुधबार १९:५०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।