वेस्टइन्डिज 'ए' सँग ७६ रनले हार्यो नेपाल

वेस्टइन्डिज 'ए' सँग ७६ रनले हार्यो नेपाल

काठमाडौं : काठमाडौंमा जारी पाँच खेलको टी–२० श्रृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज एसँग ७६ रनले पराजित भएको छ।

वेस्टइन्डिज एले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै सबै विकेट गुमाएर १५१ रनमात्र बनाउन सक्यो। 

नेपालका लागि करण केसीले सर्वाधिक २८ रन बनाए। त्यस्तै, लोकेश बमले २८, कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल साहले १४, आरिफ शेखले ३, गुल्झन झाले ६, विवेक यादवले ३ र दीपेन्द्र सिंह ऐरीले ७ रन, कमल सिंह ऐरीले ६ र सागर ढकालले ३ रन बनाए।

यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिले  ब्याटिङ गरेको वेस्ट इन्डिज एले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २२७ रन बनाएको थियो। 

वेस्ट इन्डिज एका लागि जोह्नसन चार्लीज्ले अविजित शतकीय पाली खेलेका थिए। ६१ बलमा उनले १३ चौका र ७ छक्का प्रहार गरे। 

त्यस्तै, अन्द्रे फ्लेचरले ५३, फेबियन अलुलेनले १९, अलिक एथेन्जेले १७ र किमो पलले १३ रन बनाए। नेपालका लागि करण केसी र सागर ढकालले १–१ विकेट लिए।

यससँगै वेस्ट इन्डिज एले शृंखलालाई २–१ को स्थितिमा पुर्याएको छ। 

पाँच खेलको टी–२० शृंखलाका लागि पहिलोपटक नेपाल भ्रमणमा आएको वेस्टइन्डिज ‘ए’ ले यसअघिको दोस्रो खेलमा नेपाललाई १० रनले हराएको थियो। पहिलो खेलमा भने नेपालले चार विकेटको जित निकालेको थियो।

यी दुई टिमबीचको चौथो खेल बिहीबार र पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ।

वैशाख १९, २०८१ बुधबार १६:०७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।