जोनसनको शतकमा वेस्ट इन्डिज ए ले नेपाललाई दियो २२८ रनको लक्ष्य

जोनसनको शतकमा वेस्ट इन्डिज ए ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौं : जोनसन चार्ल्सको शतकमा पाँच खेलको टी२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ए ले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२७ रन बनायो।

उसका लागि ६१ बलको सामना गरेका चार्ल्सले १३ चौका र ७ छक्काको मद्दतमा अविजित ११९ रन जोडे। एन्ड्रे फ्लेचरले ३३ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५३ रनको  अर्धशतकीय पारी खेले।

त्यसबाहेक एलिक अथनाजले १७, फाबियन एलेन १९ रनमा आउट हुँदा कीमो पलले अविजित रहँदै १३ रन बनाए।

नेपालका सागर ढकाल र करण केसीले समान एक-एक विकेट लिए। अनिल शाह र कमलसिंह ऐरी मिलेर रनआउट गरे। केसीले ५४ रन दिँदा कमलले ५३ रन खाए।

नेपाल र वेस्ट इन्डिज ए बीचको पाँच खेलको सिरिज १-१ को बराबरीमा छ। पहिलो खेल नेपालले चार विकेटले जितेको थियो भने दोस्रो खेल वेस्ट इन्डिज ए ले १० रनले जितेको थियो।

दुवै देशका लागि विश्वकपको तयारीस्वरूप यो सिरिज खेलिएको हो। वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल आएको हो।

वैशाख १९, २०८१ बुधबार १४:०९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।