कोलकाताका हर्षित राना एक खेलमा निलम्बित

कोलकाताका हर्षित राना एक खेलमा निलम्बित

काठमाडौं : कोलकाता नाइट राइडर्स (केकेआर)का फास्ट बलर हर्षित राणालाई आईपीएल आचार संहिता उल्लंघन गरेको आरोपमा एक खेलमा निलम्बन गरिएको छ।

दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीचको खेलको क्रममा आचारसंहिता उल्लंघन गरेपछि उनीमाथि उक्त कारबाही गरिएको हो। उनलाई म्याच फीको शतप्रतिशत जरिवाना समेत लगाइएको आईपीएलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यो सजायपछि हर्षितले अब मे ३ मा वानखेडे स्टेडियममा मुम्बई इन्डियन्स विरुद्धको खेल खेल्न पाउने छैनन्।

आईपीएलले जारी गरेको प्रेस विज्ञप्तिमा हर्षितलाई लगाइएको जरिवानाको कारण भने उल्लेख गरिएको छैन। तर, दिल्लीका ब्याट्सम्यान अभिषेक पोरेलको विकेट लिएपछि हर्षितले गरेको सेलिब्रेसन कारक हुनसक्ने मानिएको छ।

यस खेलमा कोलकाताको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै दिल्लीलाई सात विकेटले पराजित गरेको थियो भने हर्षितले २८ रनमा दुई विकेट लिएका थिए।

हर्षितलाई टूर्नामेंट नियमको धारा २.५ अन्तर्गत लेभल १ उल्लंघनको आरोप लगाइएको थियो। आचारसंहिताको स्तर १ उल्लंघको लागि, म्याच रेफ्रीको निर्णय अन्तिम र बाध्यकारी हुन्छ।

यो सिजन हर्षितको यो दोस्रो नियम उल्लंघन हो। गत महिना सनराइजर्स हैदरावादविरुद्धको खेलमा पनि उनलाई पेनाल्टी लगाइएको थियो।

उक्त खेलमा एसआरएचका ब्याट्सम्यान मयंक अग्रवाललाई आउट गरेपछि हर्षितले आक्रामक ढंगले सेलिब्रेसन गरेका थिए। उक्त खेलमा उनलाई म्याच फीको ६० प्रतिशत जरिवाना गरिएको थियो।

केकेआर १२ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ।

१९ बैशाख, २०८१, १०:४६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।