कतारबाट पठाएको सुन अर्कैले लगेपछि अपहरण

काठमाडौँ : वैदेशिक रोजगारीबाट घर फर्किँदा अर्काले पठाएको सुन बोकेका एक युवक अपहरणमा परेका छन्। कतारबाट सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका सप्तरीको राजविराज–१३ का सितेन्द्र यादव अपहरणमा परेका हुन्।
घर फर्कन लाग्दा उनलाई कतारमा बस्ने मनसुर अलीले २५ ग्राम सुन दिई काठमाडौँ अवतरणपछि आफ्नो भतिज अजिम अलीलाई दिनु भनेका थिए।
प्रहरीका अनुसार आफूलाई दिएको नम्बरमा काठमाडौँ अवतरणलगत्तै सितेन्द्रले फोन गरे। फोन रिसिभ गर्ने व्यक्ति आए र सुन लिएर गए। तर, त्यो सुन लिन नजिम पुगेका थिएनन्।
अजिमले सितेन्द्रलाई नियन्त्रणमा लिए र सिनामंगलस्थित आफू बस्ने डेरामा जबरजस्ती ल्याए। उनले सितेन्द्रलाई बन्धक बनाए, कुटपिट गरे। त्यो सुनबापत ४ लाख ८० हजार मागे। सितेन्द्रका साथमा भएको राहदानी र १७ हजार रुपैयाँ पनि खोसे।
अजिमले सितेन्द्रकी श्रीमतीलाई फोन गरेर ४ लाख ८० हजार दिए मात्र छाड्ने धम्की दिएका थिए। यादव परिवार आत्तिएर प्रहरीलाई खबर गरे।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान सितेन्द्रलाई सिनामंगलबाट उद्धार गरेर दुई जनालाई पक्राउ गर्यो।
वैशाख १८, २०८१ मंगलबार २३:०८:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।