पुजार सार्कीको ‘रिमै’ गीतमा देखिएको आर्यन र प्रदीपको अर्ग्यानिक अभिनय

पुजार सार्कीको ‘रिमै’ गीतमा देखिएको आर्यन र प्रदीपको अर्ग्यानिक अभिनय

काठमाडौँ : लभर ब्वायको छवि परिचय बनाएका आर्यन सिग्देल अनि प्रदीप खड्कालाई निर्देशक दिनेश राउतले फिल्म पुजार सार्कीमा फरक रूपमा पेस गर्न कति मिहिनेत गरेछन्? मङ्गलवार रिलिज भएको फिल्मको गीत ‘रिमै’ ले नै देखाउँछ।

पुजारीको भूमिकामा रहेका आर्यनको छवि मात्र बदलिएको छैन फिल्ममा अभिनय समेत निकै प्राकृतिक देखिन्छ। फिल्म क्षेत्रमा ओझेल पर्दै गएका आर्यनको पुजार सार्कीबाट गजबको कमब्याक हुनसक्ने देखिन्छ।

दमाईको भूमिकामा रहेका प्रदीपको चरित्र र अभिनय पनि प्राकृतिक देखिएको छ गीतमा। प्रदीपले प्रकाशमा पनि उम्दा अभिनय गरेका थिए।

गीतमा यी दुई कलाकारको जुनस्तरको अभिनय देखिएको छ फिल्ममा पनि त्यही तहको अभिनय भएमा फिल्म पुजार सार्की यी दुवै अभिनेतासँगै दर्शकका लागि समेत यादगार बन्न सक्छ।

गीतमा समावेश परीक्षा लिम्बु अनि अञ्जना बराइलीमध्ये अञ्जनाको अभिनय बलियो देखिन्छ। फिल्ममा पल शाहको समेत अभिनय रहेको छ।

गीत अनुसार आर्यन गाउँको कालीको मन्दिरको पुजारी रहेको देखिन्छ। उनको मनमा अञ्जना बसेकी हुन्छिन्। उता दमाइको भूमिकामा रहेका प्रदीपको मन परीक्षासँग साटिएको छ। पल काजीको भूमिकामा देखिन्छन्।

देवेन्द्र बराल र मूना ठटालको स्वर निकै मिठो सुनिएको छ। दिनेश राउतको शब्द नरम छ। एक्कासी आगोको लप्कासहितको दृष्यपछि आगो तापेको दृष्य राखेकाले पहिलो दृष्य भने बिझाउँछ गीतको भिडियोमा। सुवास भुसालको संगीत शब्दसँग म्याच भएको सुनिन्छ।

१८ बैशाख, २०८१, १७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।