देशभर तापक्रम वृद्धि, तराई र उपत्यकामा आजदेखि ५ दिनसम्म तातो हावा चल्ने

देशभर तापक्रम वृद्धि, तराई र उपत्यकामा आजदेखि ५ दिनसम्म तातो हावा चल्ने

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आजदेखि पाँच दिनसम्म तराईका भूभागमा तातो हावा (तातो लहर) आउने भएकाले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ। 

विभागले विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूको अधिकतम तथा न्यूनतम् तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको उल्लेख गरेको छ। लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको तथा देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक सतर्कता अपनाउन भनिएको हो। 

आजदेखि आगामी ५ दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको  छ। तराईका साथै पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले चेतावनी सहित विभागले अलर्ट रहन आग्रह गरेको छ। 

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी ननिस्कने,  हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी, जुस तथा सर्बत प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन विभागले भनेको छ। 

यस्तै, आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

विभागका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत सम्भावना रहेको  छ। लुम्बिनी  प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना पनि छ। 

आइतबार राती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी  प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको विभागले उल्लेख गरेको छ।

वैशाख १६, २०८१ आइतबार ०७:२२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।