डा. निराजनको उपचार अनुभव : ...जब आमाको मृत्युपछि छोरा धन्यवाद दिन आए
वीर अस्पतालमा कार्यरत ‘प्रमुख कन्सल्टेण्ट सर्जिकल ग्याष्ट्रोइन्टेरोलोजिष्ट’ हुन् डा. निराजन सुवेदी। कलिलै उमेरमा विशिष्टिकृत तहको एमसीएच अध्ययन गरेका उनै डा. निराजनले चिकित्सकीय पेशाको सिलसिलामा देखे भोगको अनुभव उकेरासँग साटेका छन्।
जब आमाको मृत्युपछि छोरा धन्यवाद दिए आए
डा. निराजन भारतको चन्डिगढस्थित पोष्ट ग्राजुयट इन्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्ज (पीजीआई)मा स्नातकोत्तर तहको जनरल सर्जरी (एमएस) विषयको अध्ययन गर्दाको एउटा प्रसङ्ग कहिल्यै भुल्दैनन्।
प्रसङ्ग करिब आठ वर्षअघिको हो। करिब ६२ वर्षकी एक जना आमैलाई अस्पताल पुर्याइयो। दिल्लीकी ती आमैको स्तनमा क्यान्सर थियो। उनको एक पटक क्यान्सरको उपचार भइसकेको रहेछ। तर, फेरि बल्झिएछ।
चिकित्सकले जाँच गर्दा ती आमैको स्तनको क्यान्सरको उपचारका लागि पुनः शल्यक्रिया गर्नुपर्ने भयो। सिनियर चिकित्सकको टिमले आमैको शल्यक्रियाको व्यवस्थापनदेखि बिरामीको रेखदेखको जिम्मेवारी डा. निराजनलाई दियो।
सबै व्यवस्थापनपछि चिकित्सकको टिमले ती आमैको स्तनको क्यान्सरको शल्यक्रिया गर्यो। त्यो शल्यक्रिया गर्ने चिकित्सकको टिममा रेजिटेन्ट (विद्यार्थी) चिकित्सकको रूपमा डा. निराजन पनि खटिए। आमैको स्तन क्यान्सरको शल्यक्रिया सफल भयो।
शल्यक्रियाको सफलतापछि ती आमैलाई किमोथेरापी गर्नुपर्ने थियो। त्यसैले अस्पतालमा केही दिनको औषधि उपचारपछि ति आमै डिस्चार्ज भइन्। र, अन्य स्वास्थ्य संस्थामा किमो थेरापीका लागि आफन्तले लगेर किमो दिएछन्।
तर, डा. निराजन एमएस अध्ययनको अन्तिम वर्षमा अध्ययन गरिरहेको बेला भने एक जना करिब ४५ वर्षका देखिने पुरुष उनले बिरामी जाँचिरहेको ठाउँ (ओपीडी)मा पुगेछन्। ओपीडीमा पुगेर ती पुरुषले डा. निराजनलाई भनेछन्, ‘डाक्टरसाप तपाईंले मलाई चिन्नुभयो?’
डा. निराजनले ती पुरुषलाई ‘अहँ मलाई याद भएन त’ भन्ने जवाफ दिए। त्यसपछि ती पुरुषले परिचय दिँदै ‘तपाईंहरूले एक वर्षअघि स्तन क्यान्सर भएकी आमाको उपचार गर्नुभएको थियो, म उहाँकै छोरा हो’ भन्दै आफ्नो परिचय दिए।
ती पुरुषको कुरा सुनेपछि डा. निराजनलाई बल्ल याद भयो। अनि उनले ‘आमाको हालखबर के छ त?’ भन्दै सोधे। आमाको हालखबर सोधेपछि ती पुरुषले ‘आमा त तपाईंहरूले अप्रेशन गरेको तीन महिनापछि किमो लगाउँदा बित्नुभयो’ भन्ने जवाफ दिएछन्।
ती पुरुषले आमाको मृत्यु भइसक्यो भनेपछि डा. निराजन नाजवाफ भए। अनि उनलाई मनमन खुलदुली लाग्यो, ‘आमाको मृत्यु भइसक्यो भन्छन्, अनि यी मान्छे मलाई किन भेट्न आए त!’
ती पुरुषले डा. निराजनलाई भनेछन्, ‘डाक्टरसाप चण्डिगढमा म एउटा बिजनेसको सिलसिलामा आएको थिएँ, तपाईंलाई भेट्न भनेर म यहाँ आज एक दिन बसेको। आजै दिल्ली फर्कन्छु। तपाईंले मेरो आमालाई बचाउन धेरै कोशिस गर्नुभएको थियो। तर, बचाउन सम्भव भएन। त्यसैले म धन्यवाद तपाईंलाई दिन आएको।’
आमाको मृृत्युपछि पनि ती पुरुष आफूलाई खोजीखोजी धन्यवाद दिन आएको देख्दा डा. निराजनको मनै कटक्क भयो। करिब दश मिनेटको कुराकानीपछि ती पुरुष बिदा मागेर फर्किए। डा. निराजनलाई अहिले पनि आमाको मृत्युपछि पनि ती पुरुष आमालाई बचाउने कोशिस गर्ने चिकित्सकप्रति कृतज्ञता महशुस गरेर धन्यवाद दिन आएको बिर्सँदैनन्।
धन्न ती बालकको ज्यान बाँच्यो
त्यसो त भारतबाट एमएस सकेर नेपालगञ्जको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा काम गर्दाको एउटा घटना पनि डा. निराजनको मानसपटलमा ताजै छ। घटना करिब सात वर्षअघिको हो। करिब आठ वर्षका लडेर घाइते भएका जुम्लाका बालकलाई अस्पताल पुर्याइयो।
चिकित्सकको टिमले स्वास्थ्य परीक्षण गर्दा लडेकाले गर्दा ति बालकको आन्द्रामा प्वाल परेको थाहा भयो।
तत्कालै शल्यक्रिया गरी पेटबाट प्वाल बनाएर ती बालकको आन्द्रा बाहिर निकालेर तत्काललाई ती घाइते बालकको ज्यान बचाउनुपर्ने अवस्था थियो। तत्कालै शल्यक्रिया गरी आन्द्रा जोड्दा आन्द्रा नजोडिने र आन्द्राबाट दिसा चुहिने सम्भावना थियो। त्यसैले डा. निराजनले पहिले पेटबाट आन्द्रा निकालिदिएर दिसा जाने बाटो बनाउने अनि त्यसको केही दिनमा शल्यक्रिया गर्ने योजना बनाए।
तर, उनका सिनियरले आन्द्रा जोड्नुपर्छ भनेछन्। सिनियरले भनेपछि मनले नमानी-नमानी शल्यक्रिया गरी उनले ती बालकको आन्द्रा जोडिदिए। तर, डा. निराजनले जे सोचेका थिए, त्यही भयो।
शल्यक्रिया गरेर जोडिएको आन्द्राबाट दिसा चुहियो। फेरि ती बालकको आन्द्रा जोड्ने शल्यक्रिया गर्नुपर्यो। पहिलो शल्यक्रिया गरेको केही दिनमा डा. निराजनको टिमले दोस्रो पटक शल्यक्रिया गर्यो। तर, ती बालकको दोस्रो पटक आन्द्रा जोड्ने शल्यक्रिया गरेको केही दिनमा फेरि आन्द्राबाट दिसा चुहिन थाल्यो।
शल्यक्रिया सफल नभएपछि ती बालकका बुवाआमा लगायत अभिभावकले आशा मार्दै बच्चालाई घर लैजान्छौँ भन्न थालेछन्। अस्पतालबाट घर पठाउँदा ती बालकको मृत्यु निश्चित थियो।
त्यसपछि डा. निराजनले ती बालकलाई उपचारका लागि भारत जान सल्लाह दिए। भारतमा एमएस अध्ययन गर्दाका सिनियर चिकित्सक भारतको लखनउस्थित एक सरकारी अस्पतालमा काम गर्थे। तिनै सिनियरलाई सम्पर्क गरी बालकलाई भारत रिफर गरे।
उनले बालकलाई भारतमा पठाउने निर्णय त गरे तर भारत जाने पैसासमेत थिएन ती घाइते बालकका बुवाआमासँँग। त्यसैले डा. निराजनले नै भारतमा उपचारका लागि जान दश हजार रूपैयाँ पनि दिए।
त्यसपछि भने डा. निराजनलाई ती बालकको अवस्थाबारे थाहा भएन। करिब तीन महिनापछि डा. निराजनलाई एक जना युवाले फोन गरेर भने, ‘डाक्टरसाप त्यो लडेर घाइते भएको केटालाई तपाईंले लखनउ पठाउनुभएको थियो नि! त्यो भाइ बाँच्यो। अहिले त ठिक छ, त्यहाँ देखाउन ल्याउनुपर्छ की पर्दैन?’ त्यसपछि उनले ‘यता आए पनि हुन्छ, लखनउ नै गए पनि हुन्छ’ भन्ने जवाफ दिए।
तर, बालक बाँचेको त्यो खबर सुन्दा डा. निराजनको आँखाबाट आँशु नै खसे। भारतमा उपचारका लागि समन्वय गरेकैले झण्डै मृत्युको मुखमा पुग्न लागिसकेका बालकको ज्यान बाँचेको खबर सम्झँदा अझै उनलाई आनन्द लाग्छ।
ढोडले मलद्वार छेडिएकी बालिकाको शल्यक्रिया गर्दा
नेपालगञ्जस्थित कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजमा काम गर्दाको दशैंको एउटा प्रसङ्ग पनि कहिल्यै भुल्दैनन्, डा. निराजन। उनले अध्ययनका कारण दशैं नमानेको दुई वर्ष भइसकेको थियो।
२४ घण्टाका लागि दशैं मनाउन उनी अस्पतालबाट बिदा मागेर टीकाको दिन बिहान दाङस्थित घरतिर लागे। घर पुगेर उनले टीका लगाए। तर, टीका लगाएर घरबाट फर्कँदै गर्दा उनलाई अस्पतालका ड्युटीमा रहेका चिकित्सकले फोन गरे।
एक जना करिब नौ वर्षकी बालिकालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पुर्याइएछ। मकैको ढोड ती बालिकाको मलद्वारबाट छिरेर योनीबाट निस्किएको रहेछ। जसले गर्दा दिसा नै योनीबाट निस्किएछ। ती बालिकाको शल्यक्रिया गरेर उपचार गर्नु थियो। खबर पाएपछि डा. निराजन हतार-हतार अस्पताल पुगे।
उनी अस्पताल पुगेपछि ती बालिकाको शल्यक्रिया गर्ने तयारी भयो। डा. निराजनको टिमले बालिकाको शल्यक्रिया थाल्यो। बालिकाको मलद्वारमा ढोडले छेडेर ठूलो प्वाल भएको थियो। त्यसैले सुरूमा शल्यक्रिया गरी पेटबाट ठूलो आन्द्रा बाहिर निकालेर त्यसैबाट दिसा बाहिर पठाउनुपर्ने थियो।
सानो प्वाल पारेर नै यस्तो शल्यक्रिया गर्न पनि सकिने भएकाले डा. निराजनको टिमले ठूलो घाउ नबनाई सानो प्वाल पारेर आन्द्रा निकाल्यो।
शल्यक्रिया गरेको केही दिनमा त ती बालिका डिस्चार्ज नै भइन्। करिब ६ हप्तामा बोलाएर ती बालिकाको बाहिर निकालिएको त्यो आन्द्रा पुनः शल्यक्रिया गरी पेट भित्र राखेर जोडियो। शल्यक्रिया सफल भयो। बालिकाको ज्यान बाँच्यो। त्यसरी दशैंको समयमा ती बालिकाको ज्यान बचाउन सफल भएको सम्झँदा उनलाई आनन्द लाग्छ।
अस्पतालमा ओलीले साफ गेमको लाइभ हेर्दा
महाराजगञ्ज चिकित्सा क्याम्पसमा सर्जिकल ग्याट्रो इनटेरोलोजी (जिआई) विषयमा एमसीएच अध्ययन गर्दाको एउटा प्रसङ्ग पनि डा. निराजनको मानसपटलमा ताजै छ।
त्यो बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको समस्या भएर शल्यक्रिया गर्न अस्पतालमा भर्ना भएका थिए। सबै तयारीपछि उनको शल्यक्रिया भयो। शल्यक्रिया सफल भयो।
उपचारको त्यो टिममा डा. निराजनलाई पनि खटाइएको थियो। डा. निराजनलाई याद भएसम्म त्यो बेला नेपालमा साफ गेम हुँदै थियो। त्यो बेला अस्पतालको बेडमा नै बसेर ओलीले नेपालमा नै भएको साफ गेमको लाइभ हेरेको डा. निराजन सम्झिरहन्छन्।
बुवा पत्रकार, छोरा डाक्टर
निराजन २०४५ मा दाङको घोराहीमा जन्मिएका हुन्। उनका बुवा दधिराम पेशाले पत्रकार रहेछन्। त्यसैले उनले सानैदेखि मिडियालाई नजिकबाट नियाल्ने मौका पाए। घोराही कै शान्तिसुधा आवासीय माविबाट उनले २०६० मा एसएलसी गरे।
एसएलसीपछि उनी अध्ययनका लागि काठमाडौं आए। काठमाडौंको कालिमाटिस्थित क्यापिटल उच्च मावि (सीसीआरसी)बाट उनले प्लस टु गरे। निराजनलाई डाक्टर बन्ने खुब सपना थियो।
त्यसैले उनी काठमाडौंको जोरपाटीस्थित रहेको काठमाडौं विश्वविद्यालय अन्तर्गत रहेको नेपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि सन् २००७ मा भर्ना भए। सन् २०१२ मा उनको एमबीबीएस अध्ययन पूरा भयो।
एमबीबीएस अध्ययनपछि उनलाई पनि यूएसएमएली परीक्षा दिएर अमेरिका जाने रहर थियो। तर, घरपरिवारको अनुरोध लगायतका कारण उनले नेपालमा नै बस्ने निर्णय गरे।
सर्जन बन्ने रहर र सरकारी जागिरमा प्रवेश
डा. निराजनलाई थप अध्ययन गर्नु त छँदै थियो। उनले फटाफट अध्ययन गरे। एमबीबीएस अध्ययनको क्रममा शल्यक्रियापछि अधिकांश बिरामी ठिक भएको देख्थे।
त्यो बेला नै सर्जन भनेको त खत्रा डाक्टर रहेछ भन्ने उनको मनमा पर्यो, त्यसैले उनलाई यो विषयमा नै रस बस्दै गयो। अनि उनले यही विषय अध्ययन गर्ने निर्णय गरे।
सर्जन नै बन्ने निर्णय गर्दै उनले भारतको दिल्लीमा पुगेर चिकित्सा शास्त्रको स्नातकोत्तर तहको अध्ययनका लागि करिब एक वर्ष प्रवेश परीक्षाको लागि तयारी गरे।
डा. निराजनले भारतको चण्डिगढस्थित पोष्ट ग्राजुयट इन्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्ज (पीजीआई)मा स्नातकोत्तर तहको जनरल सर्जरी (मास्टर्स इन जनरल सर्जरी/एमएस) विषयको अध्ययन गर्ने मौका पाए। उनले सन् २०१४ मा जनरल सर्जरी (एमएस) अध्ययनका लागि भर्ना भए। सन् २०१६ मा उनको एमएस अध्ययन पूरा भयो।
एमएस अध्ययनपछि डा. निराजन नेपाल फर्किए। नेपालगञ्जस्थित कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजमा जनरल सर्जन तथा लेक्चररका रूपमा काम गर्न थाले। त्यहाँ उनले करिब एक वर्ष काम गरे।
डा. निराजनलाई थप अध्ययनको भोक मरेकै थिएन। त्यसैले उनी चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगञ्ज चिकित्सा क्याम्पसमा सर्जिकल ग्याट्रो इनटेरोलोजी (जीआई) विषयमा एमसीएच अध्ययनका लागि सन् २०१८ मा भर्ना भए। उनले सन् २०२१ मा सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजी विषयमा तीन वर्षे एमसिएच गरे। यो विशिष्टिकृत (सुपरस्पेशलाइजेशन) तहको विद्यावारिधि सरहको अधययन हो।
डा. निराजनले सरकारी छात्रवृत्ति कोटामा एमसीएच गरेका हुनाले दुई वर्ष छात्रवृत्ति करारमा काम गर्नुपर्ने थियो। त्यसैले उनी एमसीएच अध्ययनपछि छात्रवृत्ति करारमा काम गर्नका लागि भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पताल पुगे।
डा. निराजनले कलिलै उमेरमा चिकित्सा शास्त्रको विशिष्टिकृत तहको अध्ययन मात्रै गरेनन् उनी ११औं तहको स्थायी चिकित्सकका रूपमा सरकारी जागिरमा प्रवेश समेत गरे।
भक्तपुर क्यान्सर अस्पतालमा काम गरेको करिब एक वर्षमा डा. निराजन लोकसेवा परीक्षामार्फत २०७९ मा खुला तर्फबाट सिधै एघारौँ तहको ‘प्रमुख कन्सल्टेण्ट सर्जिकल ग्याष्ट्रोइन्टेरोलोजिष्ट’स्थायी चिकित्सकका रूपमा सरकारी जागिरमा प्रवेश गरे।
सरकारी स्थायी चिकित्सकका रूपमा जागिरे भएपछि डा. निराजनको पहिलो पोष्टिङ वीर अस्पतालमा भयो। हाल उनी वीर अस्पतालको ग्याष्ट्रो सर्जरी विभाग (डिपार्टमेन्ट अफ सर्जिकल ग्याट्रोइटेरोलोजी) मा कार्यरत छन्।
वैशाख १५, २०८१ शनिबार १४:२८:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।