वातावरण भएरै विदेशी कम्पनीले नेपालमा नाफा कमाइरहेका छन्, कोही पनि टाट पल्टिएर फर्केको छैन : मन्त्री पुन

वातावरण भएरै विदेशी कम्पनीले नेपालमा नाफा कमाइरहेका छन्, कोही पनि टाट पल्टिएर फर्केको छैन : मन्त्री पुन

काठमाडौं : अर्थ मन्त्री वर्षमान नेपालमा वातावरण भएरै विदेशी कम्पनीले नाफा कमाइरहेको बताएका छन्।

अर्थ मन्त्रालयले शुक्रबार आयोजना गरेको सरोकारवालासँग ‘सार्वभौम क्रेडिट रेटिङ’ क्षमता विकास कार्यशालामा मन्त्री पुनले नेपाल आएका कम्पनीहरू टाट पल्लिएर नगएको भन्दै वैदेशिक लगानीको प्रचुर सम्भावना रहेको बताए।

‘नेपालमा जुनजुन बहुराष्ट्रिय कम्पनीले र विदेशी लगानीकर्ताले लगानी गरेका उद्योग व्यवसाय छन् तीमध्ये एउटा पनि हालसम्म टाट पल्टिएर फर्किएको भन्ने मेरो जानकारीमा छैन, ’ उनले भने, ‘यसले के पुष्टि गर्छ भने नेपालमा वैदेशिक लगानीको प्रचुर सम्भावना छ । हामीले अहिलेसम्म यो कुरा अन्तर्राष्ट्रिय जगतले बुझ्ने गरी बताउनै सकेनौँ।’

नेपालमा लगानीको वातावरण राम्रो रहेको, लगानीका धेरै क्षेत्र भएका तथा नाफाको ग्यारेण्टी रहेको विषयमा संसारलाई बुझाउन सक्नुपर्ने पुनले स्पष्ट गरे। बाहिर भनिएजस्तो लगानी प्रतिकूल वातावरण भएको भए किन लगानीकर्ता आउँथे र हाल लगानी गरिरहेकाहरुले लगानीको क्षेत्र विस्तार गर्थे भन्ने प्रश्न पुनले गरे।

‘हाम्रोमा धेरै राम्रा कुराहरू पनि छन्। लगानी सम्मेलनमै ४० देशबाट लगानीकर्ता र उनीहरूको प्रतिनिधि आउने निश्चित भएको छ’, मन्त्री पुनले प्रश्न गरे, ‘हामी खत्तमै थियौं भने ठूला विदेशी कम्पनीहरू लगानी गर्ने सोचका साथ किन नेपालमा आइरहेका छन् त?’

नेपालले आन्तरिक श्रोत परिचालनबाट मात्र मुलुकको आवश्यकता र जनताको आकांक्षाअनुसार विकास गर्न सम्भव नहुने भएकाले वैदेशिक लगानी आकर्षित गर्नैपर्नेमा जोड दिए।

कार्यशालामा अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले सोभरेन क्रेडिट रेटिङको रोकिएको प्रक्रिया अघि बढेको बताए। उनले रेटिङपछि विश्वले नेपालको आर्थिक अवस्थाका साथै आर्थिक पारदर्शीता र सुशासनको अवस्थाबारे समेत जानकारी पाउने उल्लेख गरे। रेटिङपछि थप वैदेशिक लगानी आउने वातावरण बन्ने घिमिरेको विश्वास छ।

१५ बैशाख, २०८१, ११:२०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।