छोरो विदेशियो!
हिजोसम्म फुटपाथमा हँसीमजाक गर्ने काका
आजबाट गमक्क पर्ने थाले,
छोरो विदेशिएकाले हो कि, सायद हरियो डलरले होला
भरिभराउ सब्जी हुने जग्गा उजाडियो,
भाटभटेनीको सपिङले होला
कस्मेटिक पाउडर घरमै घस्ने काकी आज
ब्युटी पार्लर धाउन थालिन्,
कति शक्तिशाली त्यो डलर,
त्यै डलरले आज मान, सम्मान बढायो,
तर, अस्तित्व र कर्तव्यनिष्ठ बन्न बिर्सायो,
खेतीलाई आफ्नो मुख्य पेशा गर्नेहरू
दु:ख जोहो गरेर सन्तान विदेश्याउँछन्,
कमाइ पठाउना साथ जोतेको जग्गा बाझिन्छ,
छतले स्याटेलाइट टिभीको छहारी पाउँछ
दु:ख गरेर पठाएको पैसाले एसी, हिटर-फ्यान जोडे
फरक त परेन, तर देशमा उत्पादन हुने क्षमतामा कमी हुन गयो,
निर्यातभन्दा आयात बढी भयो, विश्लेषकको दिमाग ह्याङ हुने भयो,
यहाँ करोडमा निर्यात गरिन्छ, अर्ब हैन खर्बमा आयात हुन्छ,
तर्क भन्दा वितर्क थपिन थाले,
समाज सोसल मिडियामा भर परे,
अधिक परिवर्तन भए
गृहस्थीको दैलोमा तैनाथ गर्ने श्वान(कुकुर)लाई ओछ्यानमा राखियो
सेक्युरिटीका नाममा मान्छेलाई ढोकामा सारियो,
रोग नफैलियोस् भनेर चर्पी टाढा बनाउनेको विकल्पमा अट्याच लेट्रिनको सुरूवात गरियो,
पार्टी महोत्सवमा जुट्ने दिदिबहिनी आज बियरमा रमिन थाले,
कपाल हाइलाइट नगर्ने र ट्याटु नखोप्नेलाई ‘गाउँले’ उपनाम दिइयो,
गरिबले चलाउने साइकल जिमखानले स्थानान्तरण गरे,
डेरी पसल लुक्न थाले, मदिरा पसलको सजावटले बजार पिट्यो,
त्यसैले दूध बेच्ने गल्ली-गल्ली धाउँछन्, सराब लिन आफैँ जान्छन्,
आज पल्लो कोठाको हासखेल र दु:खलाई मार्क जुकरबर्गको
क्रियटिभिटीले फेस्बुकबाट थाहा पाउन थाले,
आज दाजुभाइ लडेको देख्दा, उठाउन भन्दा
कन्टेन्ट कसले चाँडो पोस्ट्याउनेमा तछाड-मछाड हुन थाल्यो,
पक्कै डलरले सुख-सुविधालाई बन्चित कदापी नगर्ला
तर डलर, रियाल, दिराम, रुपैयाँ साथमा होला-नहोला
जस्तै,
काम किन्न सके पनि, खुशी किन्न सकिन्न,
करोडौंको खाट किनिएला, मिठो निन्द्रा किन्न सकिन्न,
आलिशान बङ्गला किनिएला, पारिवारिक खुशी किन्न सकिन्न,
खैर,
समाज पैसा, पावर र पोलिटिक्सको पछि लाग्दा,
आजप्रति टाउको ८३ हजार ऋण थाप्लोमा बोक्नुपरेको छ,
दोष हामी आफूले आँफैलाई दिने हो।
युवावस्थाबारे सञ्चारी भाव प्रकट हुन थाल्यो,
पाँच सय रुपैयाँ तिर्न अघि सर्ने व्यक्ति सामान्य निवेदन लेख्न लत्रिन्छ,
आज एउटै घरमा भएका १० वटा कन्सल्टेन्सी निर्धक्क छ,
त्यो चाप, त्यो लाम, त्यो माग देखेर,
जनमानसको क्रेज देखेर आज विदेशी मुलुकले दक्ष युवा आयात गर्दैछ,
सिप किन्छ अनि रेमिट्यान्सले देशलाई टेवा पुर्याउँछ,
जो तराईदेखि विदेशिने शिलशिलामा काठमाडौं आउँछ,
त्यो पनि चप्पलमा, उसको कदर खासै छैन,
किनभने उ अमेरिकी, अष्ट्रेलिया वा युरोपेली राज्य जाने होइन,
उ त देशलाई आर्थिक पाटोले सक्षम बनाउन खाडी जाने हो,
आज सरकारी संयन्त्रको कार्यउपलब्धि र प्राइभेटको मूल्याङ्कन गरौँ!
डलरको तरकारी खाने लत लागेपछि आयुर्बेदको ‘ए’ ग्रेड औषधिले पनि काम गरेन,
यहाँ कसले भनेको कसले सुन्छ र,
न सेलिब्रेटी, न राजनीतिज्ञ, न उच्च पदस्थ व्यक्ति,
लेख्नेले लेख्छन्, बोल्नेले बोल्छन्, गर्नेले गर्छन्,
कसैसँग पर्याप्त समय छैन यहाँ,
कार्यकाल सकिन लाग्दा तात्नेको कमी छैन,
मुरली मकै तातेपछि पड्के झैँ, परीक्षामा अन्तिम ५ मिनेटमा ज्ञान फुरे झैँ,
आज घर नेपाल र मामाघर विदेश हुनेको संख्यामा वृद्धि आयो,
छोरोले केहि गर्ला भनेर धितो राखेको जमिन फुकुवा गरायो,
तर छोरो विदेशियो, जमिन आफूसँगै रह्यो,
आज काज-किरियाको मोल-मोलाई भयो,
बा-आमा हेर्न केयर टेकरलाइ तलब पठाउन थालियो,
हिजो छोरो सहारा बन्छ भनेर छोरी सरकारी विद्यालय जान बाध्य भइन्,
आज को नै रह्यो र?
आखिर बुढाको सहारा बुढी, बुढीको सहारा बुढा !
वैशाख १५, २०८१ शनिबार १०:१०:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।