मुगुमा बजेट नभएपछि पाँच वर्षदेखि अलपत्र छ प्रहरी चौकी भवन निर्माण

मुगुमा बजेट नभएपछि पाँच वर्षदेखि अलपत्र छ प्रहरी चौकी भवन निर्माण

काठमाडौं : मुगुमा प्रहरी चौकीकै भवन निर्माण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ। एक वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता अनुरूप ठेक्का सम्झौता भएर काम अगाडि बढेपछि उक्त प्रहरी चौकीका लागि कर्णाली प्रदेश सरकारले बजेट नदिएपछि भवन निर्माण कार्य अलपत्र परेको हो।

सोरु गाउँपालिकामा रहेको कालै प्रहरीको भवन वडा नम्बर ९ मा निर्माण थालनी गरिएको थियो। एक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७६ जेठ २१ गते अमर निर्माण जेभीले २ करोड ४६ लाख, ८४ हजार ११७ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। 

सम्झौता अनुसार २०७७ जेठ २० गतेभित्र भवन निर्माण सकी हस्तान्तरण गर्नुपर्ने उक्त भवन अलपत्र बनेको छ। 

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरी चौकी कालैको लागि पर्याप्त बजेट विनियोजन नगरेपछि भवन निर्माण अघि बढाउन नसकेको अमर मदुर जे.भी बिरेन्द्रनगरका प्रोप्राईटर राजबिन्द्र प्रताव सापकोटाले बताए। 

कार्यालयको ब्यारेक भवन, शौचालय तथा स्नान गृह निर्माणका लागि प्रदेश सरकारले पहिलो पटक कूल ५० लाख निकासा गरेको थियो। सो रकममध्ये पनि निर्माण व्यवसायीले ४८ लाख ३६ हजार ६ सय ६३ रुपैयाँ भुक्तानी पाएकाले काम अगाडि बढाएको सापकोटाले जानकारी दिए। त्यसपछि सम्झौता अनुसारको रकम निकासा नभएपछि भवनको दुई तला उकासेर छाडिएको छ। 

बजेट अभावकै कारण निर्माण कार्यले गति लिन नसकेको सापकोटाको भनाई छ। 

त्यहाँ मजदुरी गरेकाले समेत ठेकेदारबाट भुक्तानी नपाएको गुनासो गरेका छन्। तर, निर्माण व्यवसायी सापकोटाले भने आफूले कामदारलाई चाहेर पनि मजदुरीको रकम सरकारबाट भुक्तानी नपाएका कारण दिन नसेकेको बताए। 

‘आफूसँग भएको रकम पनि त्यही लगानी गरियो। सरकारले रकम निकासा नगरेकाले मजदुरलाई दिन नसकिएको हो। हाम्रो तर्फबाट काम गरेको रकम भुक्तानीका आग्रह गर्दा पाउन सकिएन। अहिले सर्वोच्चमा मुद्दा पुगेको छ,’ उनले भने। 

कालै प्रहरी चौकी भने स्थानीयको घरमा भाडा लिएर त्यहीबाट सञ्चालन हुँदै आएको छ। २ करोड, ४६ लाख, ८४ हजार, ११७ रुपैयाँमा सम्झौता भएको उक्त भवनको निर्माण लागत बढेर अहिले ३ करोड बढी पुगेको छ। 

१३ बैशाख, २०८१, २२:०५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।