‘विद्यमान कानुनबाट सहकारी समस्या समाधान हुँदैन, सरकार अब फास्ट ट्रयाकमा जान्छ’

‘विद्यमान कानुनबाट सहकारी समस्या समाधान हुँदैन, सरकार अब फास्ट ट्रयाकमा जान्छ’

काठमाडौं : वचत तथा ऋण सहकारीको क्षेत्रमा रहेको समस्या समाधानका लागि सरकार कानुन संशोधनसहित फास्ट ट्रयाकमा जाने भएको छ। 

मन्त्रिपरिषद्को बिहीबारको बैठकले नियमित प्रक्रिया र विद्यमान कानुनबाट समस्या समाधान नहुने भन्दै नयाँ कानुनी व्यवस्थाबाट समाधान गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले बताइन्। 

‘सहकारीको क्षेत्रमा रहेको समस्याबारे मन्त्रिपरिषद्को बैठकमा गम्भीरतापूर्वक छलफल भएको छ। तत्काल कानुनमा व्यवस्था गरी बचतकर्ताले बेहोर्न परेको समस्याको समाधानको प्रक्रिया सुरू गर्ने भन्ने निर्णय भएको छ,’ उनले भनिन्, ‘सामान्य नियमित प्रक्रियाबाट यो समस्या समाधान हुँदैन भनेर एकमत बनेको छ। विद्यमान कानुनबाट र संरचनाबाट पनि यो सम्भव छैन। त्यसैले फास्ट ट्रयाकबाट समाधान गर्नुपर्छ भनेर गम्भीर छलफल भएको छ।’

यतिबेला काठमाडौंसहित विभिन्न जिल्लामा सहकारीका बचतकर्ता आन्दोलित छन्। आफ्नो निक्षेप सहकारी संस्था सञ्चालक र कर्मचारीहरूले अपचलन गरेपछि बिचल्लीमा परेका बचतकर्तामध्ये कतिपय मुद्दाको प्रक्रियामा गएका छन् भने कतिपय सरकारको मुख ताकेर बसेका छन्। यस्तोमा सरकारले छिटै समाधान गर्ने आश्वासन दिँदै आए पनि ठोस काम भने गरेको छैन। 

प्रवक्ता शर्माले अब भने सरकार समस्या समाधानमा गम्भीर रहेको बताइन्। तर, कुन कानुन संशोधन हुने, प्रक्रिया कसरी र कहिलेदेखि अघि बढ्छ भन्ने उनले खुलाइनन्। 

यस्तै, बिहीबारको मन्त्रिपरिषद् बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई उक्त अदालतको कामकाज समेत गर्ने गरि काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ को उपदफा २३.१ अनुसार पुनरावेदन समितिको अध्यक्ष तोक्ने पनि निर्णय समेत गरेको छ।  

वैशाख १३, २०८१ बिहीबार १९:०१:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।