कर्णालीका मुख्यमन्त्रीलाई २३ सांसदले दिए विश्वासको मत

कर्णालीका मुख्यमन्त्रीलाई २३ सांसदले दिए विश्वासको मत

सुर्खेत : कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। 

बिहीबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कँडेललाई २३ जना सांसदले पक्षमा मतदान गरेका थिए भने उनको विपक्षमा १२ मत परेको हो। 

प्रदेशसभाका सभामुख नन्दा गुरुङले मुख्यमन्त्री कँडेललाई परेको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मत स्वीकृत भएको घोषणा गरिन्।

मुख्यमन्त्री कँडेललाई उनको दल एमालेका ९, माओवादीका १३ र एकीकृत समाजवादीका १ जना सांसदले विश्वास मत दिए। 

४० जना सांसदमध्ये मतदानमा ३५ जना सहभागी रहेको बैठकमा राप्रपा भने तटस्थ रहेको थियाे। कर्णालीमा राप्रपाको एक सांसद छन्। 

मुख्यमन्त्री कँडेल चैत २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनकाे क्याबिनेटमा बुधबार मात्रै माओवादीका रणसिंह परियारलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिएकाे छ। 

१३ बैशाख, २०८१, १८:१९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।