'साथीहरूले नछोड भन्दा पनि गोरखा -२ प्रचण्डलाई छोडिदिए, अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दैछन्'
काठमाडौँ : नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समिति संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले लगातार चुनाव जित्दै आएको निर्वाचन क्षेत्र गोरखा–२ दिई चुनाव जिताएर निःस्वार्थ सहयोग गरेपनि अहिले प्रचण्डले आफूविरुद्ध अशोभनीय हर्कत गरिरहेको आरोप लगाएका छन्।
उनले प्रचण्डलाई गोरखा–२ दिएकोमा मतदाता आफूसँग असन्तुष्ट र गुनासो गरेको पनि संयोजक बताए। उनले उक्त निर्णयमा आफूले मतदाता र पार्टीका नेता कार्यकर्तासँग क्षमासमेत मागेका छन्।
संयोजक भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘परन्तु निर्वाचनयता मूख्यतः प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नांगो रूपमा प्रदर्शित हुँदै गइरहेको, उल्टै मैले उनलाई निःस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपञ्च रचेर चरम अशोभनीय हर्कत गर्दै गइरहेको, देश र जनताका आकांक्षामा गम्भीर कुठाराघात गरिरहेको, जनयुद्धमा लाखौं जनताका अतुलनीय त्याग र बलिदानलाई उनको सत्ता स्वार्थसँग साटेर सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता सम्बन्धी आयोगहरूका कामलाई टुंग्याउनु सट्टा खेलबाड गरिरहेको लगायतका घटनाक्रमहरूले गोरखाली मतदाताहरूले व्यक्त गरेको असन्तुष्टि मसँग गरेको गुनासोलाई अन्यथा भन्न सकिने अवस्था रहेन।’
कहिलेकाहीँ असल मनसायले गरेको कामको गलत परिणाम आउँछ र जनसेवामा समर्पित इमान्दार मान्छेले त्यसलाई स्वीकारेर सच्याउन हिच्किचाउन नहुने भट्टराईको भनाइ छ।
मासिक गृहजिल्ला भ्रमण जाने बाबुरामले मतदाताको कुरा सुन्ने र सोहीअनुसार अगाडि बढ्ने गरिरहेका छन्।
जनसमुदाय र पार्टीका साथीहरूले गत आमनिर्वाचनमा आफूलाई गोरखा–२ बाट उम्मेदवार बन्न सुझाव दिँदा पनि त्यसको अवज्ञा गर्दै प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको उनको स्वीकारोक्ति छ।
त्यस्तै, समाज विकासको स्तर, औसत जनचेतना र विद्यमान संसदीय राजनीतिका प्रमुख खेलाडीहरूको भ्रष्ट, अनैतिक र पाखण्डी चरित्रको ख्याल नगरी ‘गान्धीवादी’ आदर्श र त्यागको मार्ग अवलम्बन गर्नु आफ्नो कमजोरी रहेको उनले बताए।
देशमा ठूलो राजनीतिक क्रान्तिपछि राष्ट्रिय राजनीति पुनः सत्तादेखि सत्तासम्म र साम-दाम, दण्डभेदको दुष्चक्रमा फस्दै गएको बताउँदै भट्टराईले हिजोका क्रान्तिकारी नेताहरू मूल्यमान्यता र आदर्शबाट तीव्र गतिमा स्खलित हुँदै गइरहेको बताए।
ठूलो जन-बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्दै गइरहेको, जनताका सुशासन र समृद्धिका आकांक्षामा गम्भीर तुषारापत भइरहेको सन्दर्भमा आफू सदन र सरकारमा नगई पार्टी र सडकका मञ्चबाट सफा र जनमुखी राजनीतिको पैरवी र सत्तासीनहरूलाई खबरदारी गरेको उनको भनाइ छ।
वैशाख १३, २०८१ बिहीबार १४:४२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।