विदेश जान श्रीमतीलाई पैसा बुझाए तर जान पाएनन्, पैसा फिर्ता नदिएपछि श्रीमानको अपहरण

विदेश जान श्रीमतीलाई पैसा बुझाए तर जान पाएनन्, पैसा फिर्ता नदिएपछि श्रीमानको अपहरण

काठमाडौं : उदयपुरका लालबहादुर थापामगर अपहरणमा परेका छन्। 

श्रीमतीले पैसा लिएर फिर्ता नगरेपछि कटारी नगरपालिका–१० घर भएका लालबहादुर थापा मगर मंगलबार दिउँसो धनुषाको ढल्केवरबाट अपहरणमा परेको प्रहरीले जनाएको छ। 

धनुषा प्रहरीमा लालबहादुर अपहरणमा परेको खबर प्राप्त भएपछि आफूहरूले केही घन्टामै उनलाई फेला पारेको धनुषा प्रहरी प्रवक्ता डीएसपी रंञ्जन अवाले जानकारी दिए। उनका अनुसार अपहरणमा संलग्न रहेका पाँच जनालाई सप्तरीबाट पक्राउ गरिएको छ। 

पक्राउ पर्नेमा सप्तरीको सप्तकोसी नगरपालिका–१ का जयकुमार तामाङ, मनिष विश्वकर्मा, उमेश विश्वकर्मा र सिरहाको गोलबजार नगरपालिका–६ का शंकर लामा र वडा नम्बर २ अरुण कुमार लामा रहेको डीएसपी अवाले बताए। 

प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा उनीहरूले लालबहादुरकी श्रीमती एजेन्ट रहेकी र उनीमार्फत विदेश जान आफूहरूले पैसा दिएको र विदेश जान नपाएपछि उनको श्रीमानको अपहरण गरेको बयान दिएका थिए।

पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

१२ बैशाख, २०८१, २०:४८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।