गठबन्धन र समीकरणले देश नचल्ने ओलीको दाबी

गठबन्धन र समीकरणले देश नचल्ने ओलीको दाबी

इलाम : केन्द्रमा सरकार गठनदेखि इलाम-२ को उप निर्वाचनसम्म माओवादी केन्द्रसँग गठबन्धन बनाएका एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन र समीकरणले देश सधैँ चल्न नसक्ने बताए।

इलामको उप-निर्वाचनको प्रचारको अन्तिम दिन आयोजित सभामा बोल्दै उनले ‘सधैँ समीकरण र गठबन्धनले नचल्ने भन्दै मिसन ८४ भनेको निर्णायक राजनीतिक राष्ट्रिय शक्तिको रूपमा एमाले बनेर अनेक प्रकारको जोड घटाउ, मिलिजुली बहुमत पुर्याएर देश नचल्ने दाबी गरे।

प्रतिनिधि सभाको दोस्रो ठुलो दल एमालेले केन्द्रमा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेर सरकारमा सहभागी छ। उता इलामको उप निर्वाचनमा एमालेले माओवादी केन्द्रको समर्थन लिएको छ। उप निर्वाचनमा इलाममा माओवादी केन्द्रले उम्मेदवार नउठाई सुवाङ नेम्वाङलाई समर्थन गरेको छ।

तर त्यही सभामा उनले एमालेका उम्मेदवारलाई सघाउने निर्णय गरेकोमा माओवादी केन्द्र र नेकपा विप्लवलाई धन्यवाद समेत दिए।

चुलाचुली २ को स्वामीचोकमा आयोजित चुनावी सभालाई बुधवार सम्बोधन गर्दै ओलीले आफ्ना कार्यकर्तालाई जातीय कुरा नगर्न निर्देशन दिएका थिए। उनले कोही पहिचान विरोधी नभएको दाबी गर्दै दलित, मुस्लिम, जनजातिको मुद्दा उठाउनेमा एमाले सबैभन्दा अगाडि रहेको समेत दाबी गरेका थिए।

उनले अहिले सरकार चलाउन समीकरण बनाउनुको कारण देश ओरालो लागेको लाग्यै गरेकाले रोक्न खोज्दा भत्किएको बताउँदै देशलाई बचाउन खोजेको दाबी गरे।

१२ बैशाख, २०८१, १८:५१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।