कतारी अमिरको सम्मानमा दिवाभोजको आयोजना

कतारी अमिरको सम्मानमा दिवाभोजको आयोजना

काठमाडौं : नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवाभोजको आयोजना गरेका छन्।

प्रधानमन्त्री दाहालले आज बिहान द्वारिका होटलमा उनको सम्मानका दिवाभोजको आयोजना गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री दाहालले कतारी अमिरलाई स्वागत गरेका थिए। दिवाभोजमा दुवै पक्षका विशिष्ट व्यक्तिको उपस्थिति थियो।

उनीहरूबीच आजै होटल सोल्टीमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो। वार्तामा विभिन्न छ विषयमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

कतारका अमिर अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा वैशाख ११ गते अपराह्न यहाँ आएका थिए। कतारी अमिरले मङ्गलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए।

राष्ट्रपति पौडेलले उहाँको सम्मानमा सोही साँझ राजकीय भोजको आयोजना गरेका थिए। मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण भएको हो।

कतारी अमिर थानी आज दिउँसो २ बजे काठमाडौंबाट प्रस्थान गर्नुहुने तालिका छ।

वैशाख १२, २०८१ बुधबार १३:१०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।