भुवनलाई एक स्ट्रोकको अग्रता
काठमाडौं : इभन-पार ६८ को स्कोरमा भुवन नगरकोटी सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन मंगलबार एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन्। उनले रवि खड्का, भुवन कुमार रोक्का र निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन्।
रवि, भुवन र निरजले भने पहिलो दिनको खेल १-ओभर ६९ मा सकाउँदै संयुक्त रूपमा दोस्रो स्थान बाँडे। २-ओभर ७० को नतिजामा पुर्ण प्रसाद शर्मा, धन बहादुर थापा, जयराम श्रेष्ठ, सञ्जय लामा र दिनेश प्रजापतिले संयुक्त रूपमा पाँचौं स्थान बाँडे। पशुपति शर्मा ३-ओभर ७१ को स्कोरमा दशौं स्थानमा रहेका छन्।
सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा मंगलबार उत्कृष्ट नतिजा निस्कन सकेन। कुनै पनि खेलाडीले अन्डरमा खेल सकाउन सकेनन्।
पहिलो दिन शीर्षस्थानमा रहेका भुवनले फ्रन्ट नाइन २-ओभर ३६ मा सकाए। दिनको सुरूवात बर्डीबाट गरे। पहिलो होलमा बोगी प्रहार गरेपनि दोस्रो, तेस्रो र नवौं होलमा बोगीको सामना गरे।
ब्याक नाइनमा भने सम्हालिंदै १०औं, ११ औं र १५औं होलमा एक-एक सट बचाए १७औं होलको बोगीले ब्याक नाइन २-अन्डर ३२ मा पुरा गरे। इभन-पार ६८ नै पहिलो दिनको उत्कृष्ट स्कोर कार्ड बन्यो।
संयुक्तरूपमा दोस्रो स्थानमा रहेका रविले सुरूवात खराब गरे। दोस्रो, तेस्रो, सातौं र नवौं होलमा बोगी प्रहार गरे र फ्रन्ट नाइन ४-ओभर ३८ मा सकाए। यसपछि भने खेलमा सुधार ल्याए। १२औं, १३औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे। ब्याक नाइन ३-अन्डर २१ पुरा गरे।
भुवन कुमारले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए। पहिलो र तेस्रो होलमा बोगी प्रहार गरे भने दोस्रो, चौथो र पाँचौ होलमा एक-एक सट बचाए। सातौं होलमा भने डबल बोगीको सामना गरे। यसपछि उनले नौ होलमा नै पार जोगाउँदै इभन-पार ३४ मा ब्याक नाइनको खेल सकाए।
निरजले दोस्रो होलमा बर्डी प्रहार गरे भने ५-पारको चौथो होलमा ईगलको सफलता प्राप्त गरे। तर तेस्रो र नवौं होलमा एक-एक सट खेर फाल्दै फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। यसपछि ११औं होलमा डबल बोगी खेपे भने १३औं होलमा एक सट खेर फाले। १६औं होलको बर्डीले ब्याक नाइन २-ओभर ३६ मा पूरा गरे।
एमेच्योरतर्फ टासी छिरिङ र सद्भाव आचार्य संयुक्तरूपमा शीर्षस्थानमा रहेका छन्। उनीहरूले ४-ओभर ७२ मा पहिलो दिनको खेल सकाए। यो सिजन दुई प्रतियोगिता जितेका सदभावले खराब प्रदर्शन गरे। ८-ओभर ७६ को स्कोरमा निल कुमार थापा र भरत थापा मगरले संयुक्तरूपमा तेस्रो स्थानमा बाँडे।
सूर्य नेपाल गल्फ टुरमा डेब्यु गरेका सुबाश तामाङले पहिलो दिन ४-ओभर ७२ को खराब प्रदर्शन गरे। उनी समग्रमा एमेच्योरद्वय टासी र सदभावसँग संयुक्तरूपमा ११औं स्थानमा रहेका छन्। उनले भारतमा प्रो कार्ड लिएर पिजिटिआई खेलिसकेका छन। यो प्रतियोगिताको प्रमुख दाबेदारको रूपमा रहेका उनले निराशाजनक सुरूवात गरेका छन्।
प्रतियोगितामा ७ लाख ३ हजार ५ सय रूपैयाँ पुरस्कार रहेको छ। विजेताले १ लाख २० हजार, दोस्रोले ८२ हजार र तेस्रोले ६६ हजार रूपैयाँ प्राप्त गर्नेछन। ४ दिने प्रतियोगितामा ३२ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ४१ गल्फरको सहभागिता छ।
३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन्। टप २१ मा पर्ने खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन्। एमेच्योर खेलाडीको हकमा प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउनेछन्।
वैशाख १२, २०८१ बुधबार ११:२३:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।