कतारी राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै

कतारी राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै

काठमाडौं : नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार द्विपक्षीय वार्ता हुँदैछ।

दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आइपुगेका थानीलाई प्रधानमन्त्री प्रचण्डले स्वागत गर्दै भेटवार्ता गर्न लागेका हुन्।

थानीलाई होटेल सोल्टीमा बसेका छन्। प्रधानमन्त्री दाहालले बुधबार बिहान १० बजे सोल्टीमै पुगेर उनीसँग भेटवार्ता गर्ने र त्यही विभिन्न सम्झौताहरूमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको राजासहितको टोली सहभागी हुनेछ । त्यसपछि कतारी टोली आजै दिउँसो नेपालबाट फर्किने कार्यक्रम छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपाल आएका राजा थानीलाई मंगलबार राष्ट्रपति पौडेल आफैँ विमानस्थल पुगेर विशिष्ट कक्षमा स्वागत गरेका थिए।

लगत्तै थानी र पौडेलबीच भेटवार्ता भएको थियो । बेलुका राष्ट्रपति पौडेलले रात्रीभोज समेत गरेका थिए।

वैशाख १२, २०८१ बुधबार ०८:०७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।