कतारका अमिरको सम्मानमा राष्ट्रपतिद्वारा रात्रिभोज आयोजना

कतारका अमिरको सम्मानमा राष्ट्रपतिद्वारा रात्रिभोज आयोजना

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा  रात्रिभोजको आयोजना गरेका छन्।

सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो। रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो।

त्यस्तै रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरू, उप-प्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवं विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावको सहभागिता थियो।

कतारका अमिर अल थानी राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा आज अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए। राष्ट्रपति पौडेलले विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँको स्वागत गरेका थिए।

कतारका अमिर विमानस्थलबाट राष्ट्रपति भवन शीतल निवास पुगेका थिए। शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरसहितको प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो।

१२ बैशाख, २०८१, ०७:२१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।